आईएलओको १७ औं एसिया तथा प्रशान्त बैठक

प्रभावकारी श्रम नीति आवाश्यक : जेटियुसीसी

सिंगापुर — नेपालका १० ट्रेड युनियनहरुको साझा संयन्त्र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले श्रमिकको जीवनस्तर उकास्नको एसिया तथा प्रशान्त क्षेत्रमा प्रभावकारी श्रम नीति आवाश्यक रहेको जनाएको छ ।

प्रभावकारी श्रम नीति आवाश्यक : जेटियुसीसी

सिंगापुरमा जारीमा आईएलओको १७ औं एसिया तथा प्रशान्त बैठकमा नेपालको ट्रेड युनियनहरुको तर्फबाट बोल्दै जेटियुसीसीका अध्यक्ष प्रेमल खनालले प्रभावकारी श्रम, रोजगार नीति तथा कार्यक्रमहरु अवलम्बन गरी पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

‘कोभिड–१९ संकट, जलवायु परिवर्तनको प्रभाव, द्रुत गतिमा बढ्दो प्रविधि र कामको बदलिँदो परिवेशले श्रम बजार र ट्रेड युनियन आन्दोलनमा धेरै चुनौती थपेको छ । विश्वभरि नै अस्थायी, करार र आउटसोर्सिङ गर्ने प्रचलनका कारण लाखौं कामदार बेरोजगार हुनुका साथै श्रमिकको रोजगारी असुरक्षित भएको छ,’ उनले भने, ‘न्यून पारिश्रमिक, सामाजिक सुरक्षाको अभाव र उपभोग्य वस्तुको बढ्दो मूल्यका कारण श्रमिकको जीवन चुनौतीपूर्ण अवस्थामा छ । उत्पादनशील क्षेत्रमा लगानी बढाउने आर्थिक नीतिको अभावमा गरिबी र बेरोजगारी विकराल अवस्थामा बढ्दै गएको छ ।’

उनले श्रम र रोजगारी सम्बन्धलाई पारदर्शी र दिगो बनाउनु विश्व श्रम बजारमा आवश्यकता रहेको बताए । ‘श्रमिकहरूको दिगो भविष्यका लागि असल श्रम र रोजगारी सम्बन्ध, उचित पारिश्रमिक, औद्योगिक लोकतन्त्र र श्रमिकहरूको समृद्ध र सम्मानजनक जीवन, मर्यादित कामसहित न्यायपूर्ण र समावेशी समाजको निर्माण अत्यन्त महत्त्वपूर्ण छ,’ उनले भने,‘यसका लागि एसिया प्रशान्त क्षेत्रीय स्तर र राष्ट्रिय स्तरमा प्रभावकारी त्रिपक्षीय संयन्त्र आवश्यक छ । उत्पादनशील क्षेत्रमा व्यापक लगानी र सामाजिक सुरक्षासहित रोजगारी विस्तारका लागि रणनीति तथा कार्यक्रमहरू प्रवर्द्धन गरिनुपर्छ ।’

प्रकाशित : मंसिर २३, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?