१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पेरिसमा नेपाली सम्पदा लिलामी गरिँदै

‘लोकेश्वर’ प्रतिमाको लिलामी मूल्य १ करोड रूपैयाँभन्दा बढी, लिलामी रोक्न दूतावासको पत्र
देवेन्द्र भट्टराई

काठमाडौँ — फ्रान्सको पेरिसस्थित अन्तर्राष्ट्रिय कला–सम्पदा लिलामी गृह ‘बोनह्याम्स’ ले नेपालबाट लगिएका चौधौं शताब्दीदेखिका चार सम्पदा लिलाम बिक्रीमा राखेको छ । बेलायतमा मुख्यालय रहेको ‘बोनह्याम्स’ले पेरिस शाखाबाट जारी गरेको सूचनामा नेपाल, मंगोलिया र तिब्बतबाट लगिएका दुई दर्जनभन्दा बढी सम्पदा लिलामीमा राखिएको छ ।

पेरिसमा नेपाली सम्पदा लिलामी गरिँदै

यी सम्पदा आगामी बिहीबार (डिसेम्बर १५) लिलामीमा जाने भएका छन् । नेपाललाई ‘उत्पत्तिको थलो’ मानेरै जारी गरिएको सूचनामा पन्ध्रौं शताब्दीको दिपंकर बुद्धको काठले बनेको टाउकोको मूल्य २० देखि ३० हजार युरो राखिएको छ । ‘बोनह्याम्स’ का तर्फबाट स्थानीय प्रशासक जिङ वेनले जारी गरेको सूचनामा यो सम्पदा मल्लकालीन समयको नेवारी काष्ठशिल्पीको उत्कृष्ट नमुना हो । अमेरिकाको क्यालिफोर्नियास्थित नोर्टन म्युजियमबाट ‘बोनह्याम्स’ ले यो सम्पदा गत जुनमा खरिद गरेको जनाइएको छ । पाटनमा रहेको दिपंकर बुद्धको यो प्रतिमा शिल्पीको कला समीक्षक मेरी स्लसरले पनि प्रशंसा गरेको भन्दै ‘बोनह्याम्स’ ले विज्ञापन गरेको छ ।

यस्तै, उन्नाइसौं शताब्दीको मानिएको विश्वरुपा (विष्णु) को प्रतिमामा हिन्दु र बौद्ध धर्मको शिल्पी संकेत जोडिएको भन्दै लिलामीमा राखिएको छ । यसको मूल्य ४ देखि ६ हजार युरोसम्म तोकिएको छ । यो सम्पदा बारेमा कलाविज्ञ जोन सी हनिङटन र डिना वाङदेलको कृति ‘द सर्किल अफ ब्लिस (२००३)’ मा उल्लेख गरिएको जनाइएको छ ।

यस्तै, लिलामीमा राखिएको चौंधौं शताब्दीको गरुडासन विष्णुको मूल्य ५ हजार युरो तोकिएको छ । यो सम्पदा पनि गत जुनमा मात्रै ‘बोनह्याम्स’ संग्रहमा आइपुगेको जनाइएको छ । ‘बोनह्याम्स’ मा लिलामीमा राखिएका नेपाली सम्पदाका बारेमा ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानले जानकारी दिएको थियो ।

११ औं शताब्दीको मानिने ‘लोकेश्वर’ प्रतिमाको लिलामी मूल्य बढीमा ८० हजार युरो तोकिएको छ । बौद्धधर्ममा अवलोकितेश्वरका विभिन्न स्वरूप रहने र यो विशिष्ट शिल्पीको सिर्जनामा नेवारी–लिच्छवि शैली भेटिने गरेको छ । तर, यी सम्पदाको नेपालको कुन स्थानबाट, कहिले र कसरी बाहिरी मुलुकमा लगिएको हो भन्ने विवरण कतै खुलाइएको छैन । झन्डै २ सय वर्षअघि कला–सम्पदा संग्रह, खरिदबिक्रीमा स्थापित ‘बोनह्याम्स’ का अरू देशका शाखामा पनि नेपालका सम्पदा लिलामीमा राखिएको प्रमाण बाहिर आइसकेका छन् ।

यसैगरी, बेल्जियमको एन्तरेप सहरमा तामामा निर्मित तोरणमा बुद्ध र उनका ५ शिष्यको आकृति झल्कने १८ औं शताब्दीको सम्पदा पनि लिलामीमा रहेको छ । यो सम्पदा भने आगामी शनिबार (१७ डिसेम्बर)मा लिलामीमा जाादैछ । यसमा उत्पत्ति थलो नेपाल भनिएपनि यसबारेको बिस्तृत खुल्न सकेको छैन ।

बिक्रीमा राखिएका नेपाली सम्पदाका बारेमा सूचना सार्वजनिक भएपछि पेरिसस्थित नेपाली दूतावासले ‘बोनह्याम्स’ को स्थानीय प्रशासनलाई पत्र लेख्दै लिलामी तत्काल रोक्न र युनेस्कोको प्रावधानअनुसार यी सम्पदा घरफिर्तीमा मद्दत गर्न आग्रह गरेको छ । पेरिसस्थित दूतावासले परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखा र पुरातत्त्व विभागलाई समेत लिलामीमा राखिएका नेपाली सम्पदालाई तत्काल बिक्री–सूचीबाट हटाउन सुरु भएको पहलबारेमा जनाउ दिएको छ ।

अहिले काठमाडौंमा रहेका फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले अहिले लिलामीमा राखिएका सम्पदाको ‘उत्पत्तिको प्रमाण र आधार’ प्रमाणित गरेर सम्पदा घरफिर्तीमा प्रक्रिया अघि बढाउन पुरातत्त्व विभागलाई समेत अनुरोध गरिएको जानकारी दिए । ‘नेपालका सम्पदा भनेर चिनिएका श्रीधर विष्णु र उमा–महेश्वर प्रस्तर मूर्ति पनि पेरिसको एसियाली कलासम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम) मा रहेको स्थितिमा यी सम्पदा घरफिर्तीका लागि पहल जारी छ,’ राजदूत अधिकारीले भने, ‘फ्रान्स सरकारले देखाएको सदासयता र युनेस्कोले राख्ने सरोकारलाई हेरेर हाम्रा सम्पदा घरफिर्तीको प्रक्रियामा लागेका छौं, अहिले पेरिसमा लिलामीमा राखिएका सम्पदाबारे युनेस्कोको समेत ध्यानाकर्षण गरिएको छ ।’

प्रकाशित : मंसिर २३, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?