देउवालाई विश्वप्रकाशको आग्रह- 'संसदीय दलको नेताको दाबी छाड्नु'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवालाई विश्वप्रकाशको आग्रह- 'संसदीय दलको नेताको दाबी छाड्नु'

अर्जुन राजवंशी

झापा — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गरेका छन् । संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा देउवाप्रतिको सम्मान बढेर जाने शर्माको टिप्पणी छ ।

उनले कांग्रेसमा अबको नेतृत्व उमेरले नभई एजेण्डाले गर्नुपर्ने बताए । एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी सभापति देउवालाई सम्मानजनक रुपमा आफूलाई संसदीय दलको प्रतिस्पर्धाबाट बाहिर राख्न शर्माले सुझाव दिए ।

झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शर्माले बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । ‘पार्टी सभापतिले अब पनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्छ । पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका उहाँले अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने उहाँप्रतिको सम्मान दोब्बर भएर जान्छ । त्यसैले उहाँले पद लिने भन्दा आफूप्रतिको सम्मान दोब्बर बनाउनेतिर लाग्नुपर्छ भन्ने मेरो सुझाव छ । यो सुझाव उहाँलाई काठमाडौंमा भेटेरै पनि म दिन्छु,’ महामन्त्री शर्माले भने ।

शर्माले संसदीय दलको नेता अर्का महामन्त्री गगन थापालाई बनाउनुपर्ने पनि प्रस्ताव गरेका छन् । उनले थापालाई दलको नेता बनाउने गृहकार्यमा आफू लागिसकेको समेत बताए । ‘संसदीय दलको नेता गगनजीलाई बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव छ । यसका लागि सिनियर नेताहरूसँग पनि छलफलहरू भइरहेका छन् । गगनजी संसदीय दलको नेता हुनुभयो भने देशमा एउटा नयाँ तरंग आउँछ,’ उनले भने,‘त्यसपछि मात्र मैले भनेजस्तो राजनीतिक होइन राजनीतिमा परिवर्तन गर्न सकिन्छ ।’

तर अब बन्ने सरकार कांग्रेस नेतृत्वमै हुनुपर्ने उनको धारणा थियो । यस्तै, अब बन्ने गठबन्धन सरकार नै पाँच वर्षसम्म स्थिर रहनुपर्ने उनको भनाइ छ । ‘पार्टी घोषणापत्र लेख्दा जसरी पाँच वर्षसम्म स्थिर सरकार चलाउँछौं भनी उल्लेख गरेका छौं । त्यसका लागि पनि वर्तमान गठबन्धन एकढिक्का हुन जरुरी छ । त्यसैले अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरै छैन । स्पष्ट छ कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्छ,’ शर्माले भने ।

शर्माले तत्काल बन्ने सरकारमा आफू भने सहभागी नहुने बताएका छन् । उनले समय आएपछि सरकारमा जाने बाटो खुला भए पनि तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउने र उक्त सरकारलाई पाँच वर्षसम्म स्थिर हुने वातावरण बनाउनेतर्फ आफू लागिरहेको बताए ।

उनले भने, ‘तत्काल बन्ने सरकारमा म मन्त्री भएर जान्नँ । मेरो अहिलेको प्राथमिकता भनेको मन्त्री बन्ने भन्दा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउने र उक्त सरकारलाई पाँच वर्षसम्म स्थिर बनाउने काममा खटिनु हो ।’

प्रकाशित : मंसिर २१, २०७९ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा दुई वटा स्वास्थ्य केन्द्र बन्ने

सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिकाका वडा नं १३ र १७ मा १६/१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बन्ने भएका छन् । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रतिभवन १ करोड ५७ लाख रुपैयाँ लागतमा केन्द्र बनाउन लागिएको हो ।

६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । स्वास्थ्य केन्द्र भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माण प्रक्रिया अघि बढ्ने चरणमा रहेको उनले बताए ।

'कोभिड-१९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिन्डरसहितका बहुउद्देश्यीय स्वास्थ्य केन्द्र सेवाग्राहीका लागि लाभदायी हुनेछ,' उनले भने, 'स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहनेछन् भने सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछ ।'

प्रतिस्वास्थ्य केन्द्र ३ कठ्ठामा बन्नेछ । बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउन सानास्तरदेखि विशिष्टिकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माण अघि बढाएको पाण्डे बताउँछन् ।

प्रकाशित : मंसिर २१, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×