सीटीईभीटीमा तीन विद्यार्थी संगठनले लगाए ताला- समाचार - कान्तिपुर समाचार

सीटीईभीटीमा तीन विद्यार्थी संगठनले लगाए ताला

कान्तिपुर संवाददाता

काठमाडौँ — परीक्षा सकिएको ३ महिनाभित्रै नतिजा सार्वजनिक लगायतका माग राखी तीन विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको भक्तपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।


सीटीईभीटीले समयमा नै नजिता सार्वजनिक नगर्दा विद्यार्थी रोजगारी र उच्चशिक्षा अध्ययन गर्नबाट समेत वञ्चित भएको विद्यार्थी नेताहरूको गुनासो छ ।

सत्तारुढ नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ । सीटीईभीटीलाई पटकपटक ध्यानार्कषण गराउँदा पनि कुनै सुनुवाई नभएकाले तालाबन्दी गरिएको विद्यार्थी संगठनले जनाएका छन् ।

विद्यार्थीले गुणस्तर प्राविधिक शिक्षाका लागि अनुगमनलाई प्राथमिकता दिनुपर्ने माग समेत गरेका छन् । सरकारी कलेजलाई प्राथमिकता दिएर सम्बन्धन वितरण गर्नुपर्ने, सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई विशेष व्यवस्था गरेर रोजगारीको अवसर दिने वातारण बनाउनुपर्ने माग अघि सारिएको छ ।

सीटीईभीटीले हचुवाका भरमा शैक्षिक संस्थाहरूको स्तरवृद्धि गरेको आरोप समेत विद्यार्थीले लगाएका छन् । ‘हचुवाको भरमा अपग्रेडिङ भएको हुँदा अनुगमनको मापदण्डको आधार लागू गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सम्बन्धन वितरण आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा नभई मापदण्डको आधारमा हुनुपर्छ ।’

सीटीईभीटीले निवेदन दिएर बसेका कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको छ । नेविसंघका केन्द्रीय प्रतिनिधि पुरनबहादुर रोकाया, अनेरास्ववियु क्रान्तिकारीका वीरेन्द्र विष्ट र अनेरास्ववियुका हर्क वमले माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी जारी रहने बताएका छन् ।

प्रकाशित : मंसिर २१, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

सरकारद्वारा पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।

बुधबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विद्यालय शिक्षा क्षेत्र अयोजनाका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १९ मिलियन यूरो र विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५७ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै, कर्मचारी संचय कोषको प्रशासक पदमा गोरखाका जितेन्द्र धिताललाई नियुक्त गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×