क्वाटर फाइनलदेखि ४ वटा ‘ए’ डिभिजन क्लबले सहभागिता जनाउँदै
लमजुङ — लमजुङको बेंसीसहरमा पुस १२ गतेदेखि ३० औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिता हुने भएको छ । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा प्रतियोगिता हुनेछ ।
आयोजक त्रिवेणी युवा क्लबले मंगलबार बेंसीसहरमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष विनोद गुरुङले विजेतालाई ५ लाख रुपैयाँ, त्रिवेणीकप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने बताए ।
उनका अनुसार उपविजेताले ३ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमिफाइनल उपविजेता दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १५/१५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
क्लबका सचिव प्रविन वाग्लेका अनुसार फुटबल प्रतियोगितामा करिब ४७ लाख १० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । ११ ‘ए’ साइडको यो खेलमैदानको यस प्रतियोगितामा यस वर्ष क्वाटर फाइनल चरणदेखि ‘ए’ डिभिजन खेल्ने ४ वटा क्लबहरूलाई आमन्त्रण गरिएको छ । कूल १६ टीम सहभागी गराउने यो प्रतियोगितामा हालसम्म १० वटा टीमले प्रतिबद्धता जनाइसकेको आयोजक उपाध्यक्ष एवं प्रशिक्षक ईन्द्र रानाले बताए ।
यस क्षेत्रकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता कोरोना महामारी अवधिको १ वर्ष बाहेक निरन्तरण संचालन हुँदै आएको छ । अघिल्लो वर्ष प्रतियोगिताको २९ औं संस्करण हुन नसकेपछि गत वर्ष खेलाइएको थियो । प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित ३ हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३० वर्षको अवधिमा प्रथम पुरस्कार ५ लाख पुगेको हो ।
प्रकाशित : मंसिर २१, २०७९ १५:३६