कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बुस्टर डोज लगाउने न्यून

संक्रमणदर घटेसँगै कोभिडविरूद्ध खोपको अतिरिक्त मात्रा लिन अनिच्छा
अतुल मिश्र

काठमाडौँ — संक्रमणको त्रासका बेला खोप नपाएर खोजी गर्ने धेरै थिए । हाल मुलुकमा कोभिडविरुद्घको पूर्ण मात्रा खोप लिएकाहरूले समयमै लिनुपर्ने अतिरिक्त मात्रा (बुस्टर डोज) लिनेहरूको संख्या भने अत्यन्त न्यून देखिएको छ ।

बुस्टर डोज लगाउने न्यून

यसले गर्दा खोपको माध्यमले कोभिडविरुद्घ तयार हुने एन्टिबडी कम भएर पुनः संक्रमणमा पर्नेहरूमा स्वास्थ्य जटिलता देखिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन् ।

अझ पछिल्लो समय अतिरिक्त मात्राका रूपमा कोभिडविरुद्घको खोप तेस्रोपछि चौथो मात्रासमेत दिन थालिएको छ । तर यस्ता दोस्रो अतिरिक्त मात्रा खोप लिनेहरूमा अधिकांश विदेश जान लागेकाहरू छन् । ‘अहिले कोभिडविरुद्घ खोपको बुस्टर डोज निकै कमले लगाएका छन्,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘अतिरिक्त मात्रा नलिएकाहरूमा कोभिडको संक्रमण देखिए शरीरमा एन्टिबडीको कमीले गर्दा जटिलता देखिन सक्ने सम्भावना बढ्छ ।’

हाल तेस्रो मात्राका रूपमा समयमै बुस्टर डोज लगाउनबाट सर्वसाधारण हच्किरहेका छन् । तर, सम्भावित संक्रमणको जटिलतालगायतको आकलन गर्दै स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप लगाउनका लागि १५ लाख मात्रा ‘वाई भायोलेन्ट’ खोप लिन कोभाक्स सुविधालाई सहमति जनाइसकेको छ । ‘हामीले ल्याउने प्रयास गरिरहेको यो वाई भायोलेन्ट खोप कोभिडको नयाँ स्ट्रेनविरुद्घ पनि प्रभावकारी छ,’ स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहाल भन्छन्, ‘यो खोप तेस्रो मात्रा र कोमर्विड अवस्था भएका, ५५ वर्ष माथिका, रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई चौथो मात्राका रूपमा दिइनेछ ।’

वीर अस्पतालका कोभिड खोप संयोजक महादेव पन्त पछिल्लो समय खोप लिने, त्यसमा पनि अतिरिक्त मात्रा खोप लिनेको संख्यामा अति कमी आएको स्विकार्छन् । ‘हिजोआज दिनहुँ सरदर ४०–५० जना कोभिडविरुद्धको खोप लगाउन आउँछन् । त्यसमा पछि प्रायः लाई विदेश जान अतिरिक्त मात्रा लगाउनुपर्ने बाध्यताले गर्दा आउनुपरेको हो कि जस्तो लाग्छ,’ उनी भन्छन्, ‘हामीले तेस्रो (बुस्टर डोज) र चौथो अतिरिक्त मात्रासमेत लगाउने गरेका छौं ।’

कोभिडविरुद्घको खोप पूर्ण मात्रा लिएको तीन महिनापछि अतिरिक्त मात्रा लिनुपर्ने प्रावधान छ । केही खास अवस्थाका व्यक्तिहरू पहिलो अतिरिक्त मात्रा खोप लिएको ६ महिनापछि पुनः दोस्रो अतिरिक्त मात्रा लिनुपर्ने हुन्छ । चौथो मात्रा पाउनेहरू स्वास्थ्यकर्मी, ६० वर्ष माथिका, रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घरोगीलगायत छन् । हाल अतिरिक्त मात्रा खोप लिने क्रम धेरै कम रहेको औंल्याउँदै दाहालले भने, ‘आमव्यक्तिमा हाल अतिरिक्त मात्राको माग नै छैन । यस्तो स्थिति हामीकहाँ मात्र नभएर विश्वव्यापी नै देखिएको छ ।’

जनसंख्याको ठूलो हिस्साले कोभिडका बारेमा पहिले जुन जोखिम महसुस गरेका थिए त्यो हाल नगर्नाले अतिरिक्त मात्रा खोप लगाउनेहरू नगण्य देखिएको खोपविज्ञ डा. श्यामराज उप्रेती बताउँछन् । उनका अनुसार समय बित्दै जाँदा बिस्तारै एन्टिबडी कम हुँदै गएकाहरूमा पुनः अतिरिक्त मात्रा खोप नलिए संक्रमण कडा हुन सक्छ भने बुढापाका, रोग प्रतिरोधक क्षमता कम भएका दीर्घ रोगी आदिमा मृत्यु हुनेसम्मको जोखिम कायमै छ ।

खोपको माग कम भएकाले खेर जाने दरसमेत बढेको छ । ६ भाइलमा आउने खोपबाट एक जनालाई दिँदासमेत ५ मात्रा खेर जाने सम्भावना रहेको जनाउँदै दाहाल भन्छन्, ‘यसैले पहिले हामी खोप वितरण गर्थ्यौं, अहिले हामी खोप जोगाउन माग गरिएको आधारमा पठाउने गरेका छौं ।’

विज्ञहरूका अनुसार एकपटक कोभिडको पूर्ण मात्रा खोप लगाइसकेकाहरूमा केही निश्चित समयपछि एन्टिबडीको स्तर कम भएर कोभिड संक्रमण कडा रूपमा देखिन सक्छ । हाल कोभिड संक्रमण भएकाहरूले खोप लगाएकाले रोगको कडापन खासै नदेखिएको जनाउँदै धुलिखेल अस्पतालको जिनोमिक ल्याबका प्रमुख डा. राजीव श्रेष्ठ भन्छन्, ‘पूर्ण मात्रा खोप लिएकाहरूको शरीरमा केही खास समयपछि कोभिडविरुद्घको एन्टिबडी घट्दै गएको अध्ययनहरूले देखाएकाले सम्भावित संक्रमणपछि जटिलता नदेखियोस् भनेर अतिरिक्त मात्रा खोप लिन भनिएको हो ।’

ईडीसीडीस्थित इपिडिमियोलोजी तथा महामारी शाखाका प्रमुख डा. अभियान गौतमका संक्रमण फेरि आए जोखिम हुन सक्छ । स्वास्थ्य मन्त्रालयको अनुसार मुलुकमा जनसंख्याको ७९.५ प्रतिशत अर्थात् २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले एक मात्रा कोभिडविरुद्घको खोप लिएका छन् भने ७६.५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै हालसम्म जनसंख्याको २७.३१ प्रतिशत अर्थात् ७९ लाख ७२ हजार ७ सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

प्रकाशित : मंसिर २१, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?