३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आन्तरिक ‘घेराबन्दी’ मा यादव

भूषण यादव

वीरगन्ज — हालै सम्पन्न आम निर्वाचनमा पहिलो पटक पराजय भोगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र आन्तरिक घेराबन्दीमा परेका छन् । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग यादव पराजित भएका हुन् ।

आन्तरिक ‘घेराबन्दी’ मा यादव

निर्वाचन परिणाम सार्वजनिक भएयता एमालेसँगको तालमेल पार्टीलाई नोक्सानदायी सावित भएको जसपाका नेताले बताउने गरेका छन् ।

गत आइतबार विराटनगरमा जसपा अध्यक्ष यादवले एमालेसँगको तालमेल चुनावसँगै सकिएको र अब नयाँ धरातलमा नयाँ ढंगले अगाडि बढ्ने बताएका थिए । ‘एमालेसँग तत्काल केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । हामीले केही सिट र एमालेले केही सिट छाडेको तर त्यो चुनावसँगै सकियो,’ उनले भनेका थिए ।

दुई दिनपछि जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले अध्यक्ष यादवको भनाइ व्यक्तिगत भएको प्रतिक्रिया दिएका छन् । मंगलबार धरानमा मतदातालाई धन्यवाद ज्ञापनमा व्यस्त रहेका राईले सञ्चारकर्मीसँग पार्टीभित्र चुनावी तालमेल र नतिजाबारे छलफल, विश्लेषण नभई अध्यक्ष यादवले बोलेकाले त्यो व्यक्तिगत भएको बताए । ‘अध्यक्षज्यूको भनाइ पार्टीको आधिकारिक धारणा होइन । पार्टीमा चुनावी तालमेल र नतिजाबारे छलफल, विश्लेषण र कुनै निर्णय भएको छैन,’ राईले भनेका छन् ।’ चुनावी तालमेलका बाबजुद अध्यक्ष यादव पराजित भए पनि सुनसरी–१ मा एमालेकै सहयोगमा राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

एमालेसँगको तालमेलमा जसपाले प्रतिनिधिसभाका १७ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएकामा ७ सिटमा मात्रै जित हात पारेको छ । प्रदेश १ को प्रदेशसभाका कुनै पनि सिट जितेन । लुम्बिनीमा बाँके–१ का २ क्षेत्रबाहेक अन्यमा जसपा उम्मेदवार पराजित भए । मधेस प्रदेशसभामा ९ सिट छ । अघिल्लो संसदीय निर्वाचनमा मधेसको बलियो दल बनेको जसपाले यस पटक टुटफुटसँगै निराशाजनक परिणाम हात पारेको छ ।

यादव नेतृत्वको संघीय समाजवादी फोरमले पाँच वर्षअघि प्रत्यक्षमा १० सिट जितेको थियो । फोरमले त्यति बेला ४ लाख ७० हजार २ सय १ मत ल्याएको थियो । यसपटक जसपाको समानुपातिक मत ४ लाख २१ हजार ३ सय १३ छ । २०६४ यता संसदीय राजनीतिमा रहेका यादव यसपालि संसद् प्रवेश पाउँदैनन् । पार्टीका संघीय परिषद् अध्यक्ष राईको फरक भनाइ आएपछि जसपाभित्र यादव कमजोर पर्दै गएको चर्चा हुन थालेको छ ।

राजनीतिक विश्लेषक रोशन जनकपुरीका अनुसार स्थापित नेता पराजित हुँदा पार्टीभित्रका अन्य नेतालाई नयाँ अवसर आउँछ । ‘चुनाव जित्दा यसै पनि धेरै अवसर आउँछन्,’ उनले भने, ‘संसदीय दल नेताका रूपमा आफूलाई सुरक्षित राख्न पनि राईले पार्टी अध्यक्षको भनाइ व्यक्तिगत रहेको टिप्पणी गरेका हुन सक्छन् ।’ उनका अनुसार पार्टीमा दोस्रो हैसियतमा अशोक राई रहे पनि मधेस आन्दोलनको ‘सेन्टिमेन्ट’ उनीसँग छैन । ‘राईले संसदीय दल नेता बन्न बार्गेनिङ गरेको हुन सक्छ,’ उनले भने, ‘अवसरको टकराव पहिले पनि देखिएकै हो ।’

पर्सा–१ बाट विजयी भएका जसपाका अर्का नेता प्रदीप यादवले पार्टीभित्र गुटबन्दी नरहेको दाबी गरे । एमालेसँग चुनावी तालमेल मात्र भएको उनको भनाइ छ । ‘चुनाव सकिएसँगै त्यो कोर्स पनि समाप्त भएको छ । हाम्रो माग र मुद्दा जसले सम्बोधन गर्छ, उसैसँग सहकार्य गर्छौं । संघीय परिषद् अध्यक्ष र केन्द्रीय अध्यक्षको भनाइको तात्पर्य एउटै हो,’ उनले भने, ‘पार्टी अध्यक्ष यादवकै लाइन छ ।’ जसपालाई विपक्षमा बस्ने जनादेश प्राप्त भएको तर आवश्यक परे सरकारमा समेत जान सक्ने उनले बताए ।

जसपा प्रवक्ता मनीष सुमनले संघीय परिषद् अध्यक्ष राई र पार्टी अध्यक्ष यादव दुवैको भनाइ सही रहेको बताउँछन् । उनका अनुसार एमालेसँग निर्वाचन प्रयोजनका लागि मात्र तालमेल भएको थियो, निर्वाचनपछि तालमेल समाप्त भएको छ । ‘सरकार बनाउन कुनै पनि पार्टीसँग स्पष्ट बहुमत छैन । जसपा सरकार बनाउन अग्रसर पनि छैन,’ उनले भने, ‘सरकार बनाउन चाहने जुन पार्टीले हाम्रो माग र मुद्दामा सामीप्य देखाउँछ हामी उसैलाई सहयोग गर्छौँ, एमालेसँग पनि सहकार्य हुन सक्छ ।’ पार्टीभित्र गुटबन्दी नरहेको प्रवक्ता सुमनले दाबी गरे ।

प्रकाशित : मंसिर २१, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?