उषा राई मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना महिला पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उषा राई मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना महिला पक्राउ

पोस्टमार्टम रिपोर्ट आउन अझै एक साता लाग्ने
प्रदीप मेन्याङ्बो

धरान —  एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ४ महिलालाई मंगलबार सार्वजनिक गरेको छ । धरान–१३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले ४ जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कुटपिटपछि २८ र ८ वर्षीया छोरीका आमा उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा मुख्य आरोपी धरान–१३, सूर्य मार्ग बस्ने ५५ वर्षीया उर्मिला राई रहेकी छिन् । उर्मिलाले आफ्नो श्रीमान गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ । उनलाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए ।

कुटपिटपछि घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरेर उपचार गर्दा गर्दै मृत्यु भएपछि कुटपिटमा संलग्न अन्य तीन महिलालाई पनि पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मंसिर १६ गते सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई र धरान–१७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बूलाई मंसिर १८ गते पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । मृतक उषाको पछि दुई वर्षअघि मात्र मृत्यु भएको थियो । पतिको मृत्युपछि एउटा सिलाइ बुनाइको मेसिन किनेर दुई छोरीका साथ बाख्रापालन गर्दै सूर्यमार्गमा टेलर पसल सञ्चालन गरेर जीविका चलाउँदै आएकी थिइन् ।

प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीन दिनअघि मात्र पोस्टमार्टम गरिए पनि रिपोर्ट भने आइसकेको छैन । पोस्टमार्टम रिपोर्ट आउन अझै एक साता लाग्ने बताइएको छ ।

सम्बन्धित समाचार


प्रकाशित : मंसिर २०, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

अध्यक्ष यादवको भनाइ पार्टीको आधिकारिक होइन : राई

प्रदीप मेन्याङ्बो

सुनसरी — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले 'एमालेसँगको तालमेलको औचित्य सकिएको अध्यक्ष उपेन्द्र यादवको भनाइ' व्यक्तिगत भएको बताएका छन् ।

धरानमै मतदाताहरुलाई धन्यवाद ज्ञापनमा व्यस्त राईले सञ्चारकर्मी कुरा गर्दै पार्टीभित्र चुनावी तालमेल र नतिजाबारे छलफल, विश्लेषण नभई अध्यक्ष यादवले बोलेकाले त्यो व्यक्तिगत भएको बताए । ‘अध्यक्ष ज्यू (उपेन्द्र यादव) को भनाइ पार्टीको आधारिक धारणा नभएर व्यक्तिगत हो । पार्टीमा हामीबीच चुनावी तालमेल र नतिजाबारे छलफल, विश्लेषण र कुनै पनि आधिकारिक निर्णय भएको छैन । त्यसैले उहाँले बोल्नुभएको कुरा व्यक्तिगत हो ।’

एमाले र जसपा गठबन्धन गर्दा पनि सप्तरी-२ बाट चुनाव हारेपछि अध्यक्ष उपेन्द्र यादवले आइतबार एक कार्यक्रममा एमालेसँगको चुनावी तालमेल सकिएको धारणा राखेका थिए । तर, सुनसरी क्षेत्र नम्बर १ मा एमालेकै सहयोगमा जितेका अशोक राईले अध्यक्ष यादवको धारणाको खण्डन गरेका हुन् ।

राईले केही दिनभित्र काठमाडौंमा छलफल गरेर कुन गठबन्धनमा लाग्ने भन्ने निष्कर्ष निकाले प्रस्ट्याए । राईले भने, ‘राजनीतिमा व्यक्तिगत कुरा गर्दा मजा आउँदैन । अब म तीन दिनपछि काठमाडौं पुगेपछिमात्र हामी सल्लाह गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने छौं । प्रदेशमा कसरी जाने र संघमा कसरी जाने भन्ने निर्णय गर्ने छौं ।’

जसपा, राप्रपा र एमालेबीच चुनावी तालमेल गरेर मंसिर ४ गतेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित : मंसिर २०, २०७९ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×