कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
इन्फोग्राफिक्स

सात प्रदेशसभामा दलहरूको अवस्था कहाँ कस्तो ?

काठमाडौँ — सातवटै प्रदेशसभातर्फको प्रत्यक्षको सम्पूर्ण मतथणना सकिएको छ । मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचन अन्तर्गत सातवटै प्रदेश सभाको ३३० सिटको परिणाम आएको हो ।

सात प्रदेशसभामा दलहरूको अवस्था कहाँ कस्तो ?

सातवटै प्रदेशसभाको मतपरिणाम हेर्दा पाँचदलीय गठबन्धनले प्रदेशसभामा धेरै सिट हासिल गरेको छ । कांग्रेसले सातवटा प्रदेशमा ११२ स्थानमा जित हासिल गरेको छ । एमालेले ९१, माओवादी केन्द्रले ५३, नेकपा एसले १५, जसपा र राप्रपाले ११/११, लोसपाले ९, जनमत र नागरिक उन्मुक्तिले ७/७, हाम्रो नेपाली पार्टी र नेमकिपाले १/१ र स्वतन्त्रले १२ जनाले जितेका छन् ।

प्रदेश १ प्रदेशसभा

प्रदेश १ मा ५६ सिट प्रत्यक्षबाट निर्वाचित हुने गर्छ । यहाँ एमाले पहिलो दल बनेको छ । एमालेले प्रदेशसभाका २५ सिटमा जित हासिल गरेको छ । कांग्रेस १७ सिटका साथ प्रत्यक्षतर्फ दोस्रो दल बनेको छ भने माओवादीले ९ प्रदेशसभा सदस्य जितेको छ । नेकपा (एकीकृत समाजवादी) बाट ३ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित भएका छन् ।

प्रदेश १ को प्रदेशसभाको समानुपातिकमा पनि एमाले पहिलो दल बनेको छ । एमालेले यो प्रदेशसभाका लागि ६ लाख ६५ हजार ४ सय ६० मत पाएको छ । समानुपातिकतर्फ कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६ मत प्राप्त गरेको छ । यो प्रदेशसभामा समानुपातिकतर्फ राप्रपा तेस्रो भएको छ । राप्रपाले १ लाख ९८ हजार ५ सय ११ मत पाएको छ भने समानुपातिकमा चौथो बनेको माओवादीले १ लाख ८१ हजार २ सय ४५ मत पाएको छ । जसपाले प्रदेशसभा १ को समानुपातिकमा ६१ हजार ७ सय २३ मत पाउँदा एकीकृत समाजवादीले ५५ हजार ९ सय ५७ मत पाएको छ ।

प्रदेश १ मा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ गरी ९३ सदस्य निर्वाचित हुनेछन् ।

मधेस प्रदेशसभा

१ सय ७ सदस्यीय मधेस प्रदेशसभामा ६४ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् । मधेस प्रदेशसभामा एमाले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जित्ने दल बनेको छ । एमालेका १५ उम्मेदवारले जित हासिल गरेका छन् । कांग्रेसका १३, जसपाका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ७ उम्मेदवार जितेर प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । पहिलोपटक निर्वाचनमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका ४-४ जना निर्वाचित भएका छन् । मधेस प्रदेशसभामा ६ जना स्वतन्त्रबाट विजयी भएर पुगेका छन् ।

समानुपातिकतर्फ मधेस प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले ४ लाख १ सय ४४ मत पाएर सबैभन्दा अगाडि छ । समानुपातिकतर्फ मधेस प्रदेशसभामा दोस्रो बनेको एमालेले ३ लाख ५१ हजार ७ सय ६८, तेस्रो बनेको जमतले ३ लाख २९ हजार १ सय ७७ मत पाएको छ । पाँच वर्ष सरकार चलाएको जसपा भने प्रदेशसभा समानुपातिकमा चौथो दल बनेको छ । जसपाले समानुपातिकतर्फ २ लाख ९८ हजार ७ सय ७४ मत पाएको छ । माओवादीले १ लाख ८० हजार ८ सय ६० मत पाउँदा एकीकृत समाजवादीले १ लाख १३ हजार ९ सय १५ मत पाएको छ । समानुपातिकमा मधेस प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १३ हजार ३ सय ६४ मत पाएको छ । मधेस प्रदेशसभा सदस्यमा ४३ जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।

वाग्मती प्रदेशसभा

वागमती प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फबाट कांग्रेसका २५ सांसद निर्वाचित भएका छन् । यो प्रदेशसभामा माओवादी केन्द्र दोस्रो भएको छ भने नेकपा (एमाले) तेस्रो बनेको छ । माओवादी केन्द्रले प्रदेशसभाका १४ सिट जितेको छ भने एमालेले १३ ।

राप्रपाले ७, नेकपा (एकीकृत समाजवादी)ले ५ प्रदेशसभा सांसद जितेको छ । यो प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले पनि १ सिट जितेको छ । वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फबाट ६६ सांसद निर्वाचित भएका छन् ।

सात प्रदेशमध्ये सबैभन्दा बढी सदस्य भएको वाग्मती प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १ सय १० सदस्य निर्वाचित हुन्छ । यो प्रदेशसभामा समानुपातिबाट ४४ जना निर्वाचित हुन्छन् । समानुपातिकमा वाग्मती प्रदेशसभाका लागि पाएको मत हेर्दा एमाले पहिलो दल बनेको छ । एमालेले ५ लाख ६२ हजार ६ सय ७५ मत पाएको छ । कांग्रेसले ४ लाख ७१ हजार ९ सय ६१ मत पाउँदा प्रदेशसभामा समानुपातिकतर्फ तेस्रो बनेको राप्रपाको भागमा २ लाख ७२ हजार ७९ मत परेको छ । माओवादी केन्द्रले २ लाख ७० हजार ३ सय ७२ मत पाएको छ । नेमकिपाले ६८ हजार ६ सय ५४ मत पाउँदा एकीकृत समाजवादीले ६४ हजार १ सय ८ मत पाएको छ ।

गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभाका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ । गण्डकी प्रदेशसभाको प्रत्यक्षतर्फ १२ सिट जितेर एमाले दोस्रो दल बनेको हो । माओवादी केन्द्र भने तेस्रो दल बनेको छ । माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर प्रदेशसभा उम्मेदवार बनेका ५ जना गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यो प्रदेशबाट १ जना प्रत्यक्षमा निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशसभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सदस्य गरी ६० निर्वाचित भएर आउँछन् ।

यो प्रदेशसभामा समानुपातिकतर्फ एमालेले धेरै मत पाएको छ । एमालेले समानुपातिकमा ३ लाख ६७ हजार ९ सय ८९ मत पाएको छ भने दोस्रो धेरै मत पाएको कांग्रेसले ३ लाख ४९ हजार ६ सय २८ मत पाएको छ । समानुपातिकमा तेस्रो स्थानमा रहेको माओवादीले १ लाख १६ हजार ९ सय ४५ मत ल्याएको छ । चौथो नम्बरमा रहेको राप्रपाले ५९ हजार ४ सय ८३ मत पाएको छ ।

लुम्बिनी प्रदेशसभा

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमा प्रत्यक्षबाट ५२ र समानुपातिकतर्फबाट ३५ सांसद निर्वाचित भएर आउँछन् ।

मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनबाट ५२ मध्ये १८ सिटमा जितेर एमाले पहिलो दल बनेको छ । कांग्रेसका १७ सांसद प्रत्यक्षबाट जितेर आएका छन् । यो प्रदेशसभामा माओवादी केन्द्रका ५ सांसद निर्वाचित भएर आएका छन् । जसपा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राप्रपाका समान २-२ प्रदेशसभा सदस्य निर्वाचित भएर आएका छन् । जनमत पार्टीका १ जना निर्वाचित भएर आउँदा ३ सांसद स्वतन्त्रबाट जितेर आएका छन् ।

लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फ पनि एमालेले नै धेरै मत पाएको छ । एमालेले ५ लाख ७० हजार ९ सय २१ मत पाएको छ । कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६ मत समानुपातिकतर्फ पाउँदा माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत पाएको छ । राप्रपाले यो प्रदेशसमाभा समानुपातिकमा १ लाख २७ हजार ४ सय ५२ मत पाएको छ । पहिलोपटकको निर्वाचनमा नै प्रदेशसभामा प्रवेश पाएको नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत पाएको छ भने जनमत पार्टीले ८१ हजार ६ सय ५ मत पाएको छ । जनता समाजवादी पार्टीले समानुपातिकमा ६० हजार ८ सय ८६ मत पाएको छ ।

कर्णाली प्रदेशसभा

कर्णाली प्रदेशसभाको प्रत्यक्षबाट चुनिने २४ सदस्यमध्ये कांग्रेस र माओवादी केन्द्रले समान ९-९ सिटमा जित हालिल गरेका छन् । एमालेले यो प्रदेशसभामा ५ सिटमा जित हासिल गर्दा १ जना स्वतन्त्रबाट १ जना निर्वाचित भएर आएका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६ जना समानुपातिक प्रणालीबाट ।

कर्णाली प्रदेशसभाको प्रत्यक्षमा तेस्रोमा सीमित बनेको एमाले समानुपातिकमा भने सबैभन्दा बढी मत पाएर पहिलो दल बनेको छ । यहाँ एमालेले १ लाख ८३ हजार ९ सय ५० मत पाएको छ भने दोस्रो बनेको कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत पाएको छ ।

समानुपातिकतर्फ माओवादीले १ लाख ३७ हजार ६ सय २९ मत पाउँदा एकीकृत समाजावादीले ३४ हजार ८ सय २६ मत पाएको छ । राप्रपाले भने कर्णाली प्रदेशसभाको समानुपातिकमा २५ हजार १ सय ८६ मत पाएको छ ।

सुदूरपश्चिम प्रदेशसभा

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ सांसद निर्वाचित भएर आउँछन् । यो प्रदेशसभामा १२ सिट प्रत्यक्षबाट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । यहाँ माओवादी केन्द्रका ८ सांसदले जितेर आएका छन् । ५ वर्ष सुदूरपश्चिम प्रदेश सरकार चलाएको माओवादी प्रदेशसभामा प्रत्यक्षतर्फ दोस्रो भएको हो ।

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेको छ । एमाले र एकीकृत समाजवादीले समान ३-३ सिट जितेका छन् भने स्वतन्त्रबाट १ जना जितेर आएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा २१ जना समानुपातिक तर्फबाट निर्वाचित भएर आउँछन् । सुदूरपश्चिम प्रदेशसभाका लागि खसेको समानुपातिक मतमा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिकमा २ लाख ४९ हजार ३ सय २ मत पाएको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिकमा २ लाख ४४ हजार २ सय ५ मत पाउँदा माओवादीले समानुपातिकमा १ लाख १९ हजार ३ सय ४६ मत पाएको छ ।

नयाँ पार्टीका रूपमा सुदूरपश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकमा ९८ हजार ५ सय ५४ मत पाएको छ । राप्रपाले ४३ हजार ८ सय ९ मत पाउँदा एकीकृत समाजवादीले ४१ हजार ८ सय ९६ मत पाएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?