कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

उद्योगी राठी ‘अपहृत’

विनोद भण्डारी

विराटनगर — नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक तथा उद्योगी अरुणकुमार राठीले मिडियाका अन्य सञ्चालकबाट अपहरणमा परेको र फिरौती रकम बुझाएर फुत्किन सफल भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । 

अर्का सञ्चालक शहेन शाह भन्ने अब्दुल खताबले आफ्नै मिडिया हाउसमा भिडियो सुटिङ गर्ने भन्दै गत बुधबार आफूलाई घरबाटै लिएर गएको र विराटनगर–६, सरौचियास्थित मिडिया हाउसको पुरानो कार्यालयमा लगेर अन्य अपरिचितको सहयोगमा हातखुट्टा बाँध्दै ३० लाख रुपैयाँ माग गरेको राठीले बताएका छन् । उक्त रकम नदिए भारत पुर्‍याउने धक्की दिँदै उनीहरूले विराटनगर–५ स्थित एभरेस्ट बोर्डिङ स्कुलअगाडिको नयाँ कार्यालय पुर्‍याएर कुटपिट गरेको उनको दाबी छ । राठीको छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । यो मिडिया हाउसमा राठीसहित चार जना सञ्चालक छन् ।

उनीहरूले भारतमा लगेर मार्ने धम्की दिएपछि राठीले तत्काल १५ लाखको चेक दिएको र १५ लाख एक साताभित्र दिने सर्तमा अपहरणमुक्त हुन सफल भएको बताएका छन् । ‘मैले उनीहरूलाई मेरो परिवारलाई पनि तिमीहरूले मलाई आफ्नै मिडिया हाउसमा भिडियो सुटिङका लागि लगेको भन्ने थाहा छ, मलाई यस्तो व्यवहार नगर भनेर सम्झाउन खोजें,’ उनले भने, ‘१५ लाख दिएर यो कुरा परिवारसहित कसैलाई पनि भन्दिन भनेपछि फुत्किन दिए ।’

नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका खताबसहितका सञ्चालकले आफूलाई अपहरण शैलीमा घरबाट उठाएर फिरौती रकम मागेको भन्दै राठीले आइतबार उजुरी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । राठीले सिरहा नगरपालिका–४ स्थायी घर भई हाल विराटनगर–६ बस्ने मिडिया हाउसका सञ्चालकसमेत रहेका खताबको टोलीले भिडियो सुटिङका नाममा आफूलाई घरबाट अपहरण गरेर फिरौती मागेको र नदिए भारत पुर्‍याउने धम्की दिँदै हातपात गरेको उजुरीमा उल्लेख भएको डीएसपी श्रेष्ठले बताए ।

‘राठीले तत्काल १५ लाखको चेक दिएको र बाँकी १५ लाख एक साताभित्र दिन्छु भनेर फुत्किन सफल भएछन्,’ श्रेष्ठले भने । उनका अनुसार प्रहरीले अनुसन्धान सुरु गरेको र घटनामा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि वास्तविकता बाहिर आउनेछ । प्रहरीले घटनामा संलग्न कसैलाई पनि आइतबार साँझसम्म पक्राउ गरेको छैन ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?