वामपन्थीसँग प्रीत, राप्रपाबाट जित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वामपन्थीसँग प्रीत, राप्रपाबाट जित

२०५४ मा एमाले र २०७४ मा राप्रपाबाट मेयर बनेका धवलको केपी शर्मा ओली, पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग उस्तै सद्भावपूर्ण सम्बन्ध
जे पाण्डे

नेपालगन्ज, बाँके — बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदी तटीय बस्ती होलियाका हजारीलाल तेलीले धवलशमशेर जबराको नाम सुने पनि अहिलेसम्म भेटेका थिएनन् । तर, मंसिर ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका धेरैमध्ये उनको रोजाइमा जबरा परे । हजारीले सबैका अगाडि गोप्य मतदानको रहस्य खोल्दै भने, ‘योपल्ट त भोट हलोलाई दियौं ।’ 

राणा शासनकालमा श्री ३ महाराज देवशमशेर जंगबहादुर राणा १२ औं प्रधानमन्त्री थिए । उनकै खलकका धवलले संघीय गणतन्त्र स्थापनापछि हजारीजस्ता धेरै निम्नवर्गीय किसानको मत पाएका छन् । राजतन्त्रको मुद्दा बोकेका जबराले राजनीतिमा एकपछि अर्को फड्को मारिरहेका छन् । उनले पटक–पटक संघीय सरकारको मन्त्री भइसकेका जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई फराकिलो मतान्तरले पराजित गरे । जबरा राप्रपाको युवक संगठनको जिल्ला सचिव हुँदा राई सदस्य थिए । चारपटक संसदीय अनुभव सँगाल्दै बाँके–२ मा लगातार जित्दै आएका राईलाई जबराले यस पटक २३ हजार ५ सय २० मतमा सीमित तुल्याइदिए । जबराले २९ हजार ५ सय ७७ मत प्राप्त गरे ।

राई २०६४ र २०७४ मा प्रनिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७० र २०७९ को निर्वाचनमा पराजित भएका भए । जबरा पनि २०५१ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । त्यतिबेला उनी मरीचमानसिंह श्रेष्ठनिकट मानिन्थे । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पनि उम्मेदवार भए तर तीनवटै निर्वाचनमा पराजित भए ।

राजनीतिक महत्त्वाकांक्षा बोकेका उनले हार मानेनन् । २०५४ मा एमाले प्रवेश गरे र नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भए ।

राजनीतिक व्यवस्था र राजतन्त्रविरुद्ध जनआन्दोलन सुरु भयो । संकटकाल लाग्यो । उनी शाही कदमको समर्थन गर्दै एमालेबाट बाहिरिएर पुनः राप्रपा प्रवेश गरे । त्यतिबेला राजतन्त्र र हिन्दु राज्यको मुद्दा उठाउँदा राजनीतिमा सफलता प्राप्त गर्न सकिने सुझाव दिनेमा भारतीय जनता पार्टीनिकट नेताहरू पनि थिए । ‘राजतन्त्र र हिन्दुत्वको एजेन्डा र नाराबाटै उठ्न सकिने ठानेर जबरा अघि बढेका हुन्,’ लेखक तथा विश्लेषक खगेन्द्र गिरी कोपिलाले भने ।

राप्रपामा फर्केपछि २०७४ को निर्वाचनमा जंगबहादुर राणाले बसालेको ऐतिहासिक सहर नेपालगन्ज उपमहानगरको प्रमुखमा निर्वाचित भए । संयोगवश मंसिर ४ को निर्वाचन पनि नेपालगन्ज सहर समेटिएको क्षेत्र–२ जबराका लागि फलदायी हुन पुग्यो । २०५४ मा एमाले प्रवेश गरेर नगर प्रमुख भएका जबराले प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्ने रणनीतिअनुरूप यसपटक पुनः एमालेसँग तालमेल गरेका हुन् । एमालेसँगकै तालमेलले उनी स्थानीय सरकारबाट संघीय सांसदमा फड्को मार्न सक्षम पनि भए । तर, यो चुनावमा कांग्रेसका अधिकांश नेता–कार्यकर्ताले पनि राणालाई सघाए । ‘एमाले र कांग्रेसका नेता–कार्यकर्ताको साथ र समर्थन हुँदैनथ्यो भने जित्ने सम्भावना थिएन,’ जबराले भने, ‘सबैको साथ र सहयोग रह्यो ।’

धवलशमशेरमा राजनीतिक संस्कार र गुण भएकाले धेरैको मन जित्न सफल भएको राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले सुनाए । २०६० साउन २९ मा माओवादी नेता बाबुराम भट्टराई र कृष्णबहादुर महरा सरकारी पक्षसँग वार्ता गर्ने उद्देश्यले नेपालगन्ज आएका थिए । तर, कहाँ बस्ने भनेर छलफल हुँदा कांग्रेस नेता मोती पहाडीको घरमा बिहान ४ बजे अँध्यारैमा पुग्ने निधो भयो तर पहाडी ३ बजे नै घरमा ताला ठोकेर हिँडे । जटिल समस्या खडा भयो । पिटरले धवलशमशेरलाई फोन गरे । केही नेतासहित गोप्य रूपमा घरमा बस्न चाहेको बताए । राजा ज्ञानेन्द्रसँगको सम्पर्कमै रहेका जबराले माओवादी नेतालाई सेल्टर दिन मञ्जुर गरे ।

भट्टराई र महरा घर आएको देख्दा जबरा चकित भए । ‘बजारको घरबाट गृहमन्त्री कमल थापासँग कुरा भयो, सेनाका पृतनापतिबाहेक कसैले थाहा नपाउने गरी मन्त्री थापा वार्ताका लागि आए,’ विश्लेषक पिटरले भने, ‘जबरामा उच्चस्तरको राजनीतिक संस्कार देखिन्छ । जसका कारण अहिले पनि सफलता चुम्दै छन् ।’

एमालेसँगको तालमेलबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै जबराले पुनः सैद्धान्तिक र नीतिगत कुरामा अडान लिन थालेका छन् । अबको सत्ता साझेदारी आफ्ना एजेन्डालाई स्वीकार गर्नेहरूसँग मात्रै हुने उनले बताए । ‘यो त चुनावी तालमेल थियो,’ उनले भने, ‘अब हुने सरकार गठन र सहकार्य त राजतन्त्र र हिन्दु राज्यजस्ता प्रमुख एजेन्डा मान्नेसँग मात्रै हुन सक्छ ।’ तर पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्र नै छन्, जबरा । २०७६ कात्तिक १९ मा नेपालगन्जमा नेकपाको पार्टी कार्यालयमा आयोजना गरिएको एउटा भेलामा त्यतिबेलै दाहालले फकाउने प्रयास गरेका थिए । दाहालले शान्ति वार्तामा व्यवस्थापकीय सहयोग गर्ने व्यक्ति भन्दै नेकपामा आउन आग्रह गरेका थिए, ‘एकपटक सोच्नुहोस् । नेकपाका कार्यकर्ता तपाईंलाई स्वागत गर्न तयार छन् ।’ त्यतिबेला राणाले हाँसेर टारे ।

पार्टीभित्र पनि जबरा चतुर देखिएका छन् । कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका उनी थापाको तुलनामा राजेन्द्र लिङ्देन बलियो देखिएपछि खेमा परिवर्तन गर्दै महामन्त्री हुन सफल भए । निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकार गठनमा सहयोगको अपेक्षासहित जबरासँग फोनवार्ता गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोनमा कुरा भएको उनले बताए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि सत्तामा जाने वा नजाने भन्नेबारेमा कुरा भएको छ । ‘पूर्वराजाले प्रतिपक्षमा बस्न सुझाव दिनुभएको छ,’ उनले भने, ‘तर हिन्दु राज्य वा धर्मनिरपेक्ष के चाहन्छन् जनता भन्ने रोज्न दिने गरी जनमतसंग्रह हुनुपर्ने हाम्रो प्रस्तावमा जो सहमत हुन्छ, उसैलाई समर्थन रहनेछ ।’

प्रकाशित : मंसिर १९, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

नदीको घेराबन्दीमा दैनिकी !

‘डुबानमा जनता कसरी बाँचे होलान् ? के खाए होलान् ? कुनै नेता, मन्त्री र सांसद हेर्न आएनन् । अहिले भोट माग्न आएका छन्, हात जोड्छन्, गिड्गिडाउँछन् । कसैले त खुट्टा समातेर एकपटक मौका दिनोस् भन्दै भिखारीले झैं माग्छन् ।’
जे पाण्डे

चौफेरी, बाँके — राप्ती नदी उर्लंदै गाउँतर्फ सोझिएपछि ज्यान जोगाउन काखमै निदाएकी सानी छोरीलाई च्यापेर अनिता केवट हतारहतार फुसको घरको छानामा चढिन् । बाढीले घर भत्काउन थाल्यो । दुवैको ज्यान संकटमा पर्‍यो । ‘घाँटीघाँटी पानीमा हाम्फालें । अनि नजिकै अर्को घरको छतमा गएर बस्यौं,’ अनिताले भनिन्, ‘त्यही घरमा भोकभोकै ४ दिन बित्यो ।’

खाने अनाज र ओभानो ठाउँ बचेन । चारैतिर बाढीले घेरेको थियो । जीउ निथ्रुक्क भिजेको थियो । उनको सामुन्ने बस्ती डुब्यो । त्यसबेला चौफेरीका बासिन्दाले ज्यानको माया मारिसकेका थिए । स्थानीयलाई घरबास छाडेर जाने ठाउँ थिएन । त्यतिबेलै आसन्न निर्वाचनका लागि जिल्लाका उम्मेदवारहरू आफ्नो मनोनयन दर्ता गर्दै थिए ।

यो वर्षको मनसुन सकिनै लाग्दा भएको लगातारको वर्षा र बाढीले गत असोज २१–२३ सम्म चौफेरी डुब्यो । ‘ज्यान बचाउन रुखमा चढेर बसें । तिर्खा लाग्दा खाने पानी पाइनँ । नल्की बाढीले डुबाएको थियो । हिलो पानी खाएर पनि प्राण धान्यौं,’ नक्के चाइले भने, ‘त्यो डुबानमा जनता कसरी बाँचे होलान् ? के खाए होलान् ? कुनै नेता, मन्त्री र सांसद हेर्न आएनन् । अहिले भोट माग्न आएका छन्, हात जोड्छन्, गिड्गिडाउँछन् । कसैले त खुट्टा समातेर एकपटक मौका दिनोस् भन्दै भिखारीले झैं माग्छन् ।’

डुडुवा गाउँपालिकाको कृषि चौफेरी र रामनगर पाझामा करिब ५ सय परिवारको बसोबास छ । निम्नवर्गीय परिवारसँग अहिले भोट माग्नेहरूको लस्कर बिहानदेखि साँझसम्मै लाग्दै आएको छ । २०५५ देखि हरेक वर्षायाममा बस्ती जलमग्न हुँदै आएको छ । बर्सेनि खेत बालुवाले पुरिन्छ । बिजुली, खानेपानी र बाटोघाटो छैन । स्कुल नहुँदा अधिकांश बालबालिका शिक्षाबाटै वञ्चित छन् । बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्था छैन । हिउँदमा जसोतसो खेतखेतै र बगरैबगर हिँड्छन् । बर्खा लागेपछि उनीहरू सबैतिरबाट सम्पर्कविहीन हुन्छन् ।

‘मरे बाँचेको खबरसमेत पठाउने उपाय हुँदैन,’ आज्ञाराम गोडियाले भने, ‘नदीले बस्ती डुब्दा मोबाइल फोनमा चार्ज गर्ने ठाउँ हुँदैन । कसरी खबर पठाउनू ?’ पछिल्ला २५ वर्षमा चौफेरी र रामनगर बाढीले ५५ पटकभन्दा बढी डुबिसक्यो । धेरै मानिसले बग्दाबग्दै ज्यान जोगाए पनि ।

‘कतिपटक बगायो, बगायो । पुस्तौंदेखिको समस्या यही छ,’ आज्ञारामले भने, ‘जतिपटक बगाए पनि अहिलेसम्म कुनै नेता, मन्त्री र सांसदले हाम्रा समस्या देखेका छैनन् । बाढी सुकेपछि आएर पानीमा गोहीले आँसु झारेजस्तो गर्छन्, फर्किन्छन् ।’ २०७१ सालमा आएको बाढीमा आज्ञारामले रुखमा बसेर ज्यान जोगाएका थिए । रुखबाट झर्दा छाप्रो र भएको अनाज बगिसकेको थियो । ‘त्यतिबेला ३ दिनपछि मात्रै मुखमा अन्न परेको थियो,’ उनले सम्झिए ।

यहाँका बासिन्दा राज्यबाट उपेक्षित छन् । ‘म सानै थिएँ । त्यतिबेलैदेखि डुब्न थालेको हो । २०७१ सालको बाढीमा त हेलिकप्टरले आकाशबाट चाउचाउ र चिउरा झारेको थियो । त्यो पनि पानीमा डुब्यो,’ दीपराज लोनियाले विपद्का दिनहरू सम्झिँदै भने, ‘कतिले त बगाउँदै गरेका चाउचाउका पोका छोपेर खाए । अहिले त त्यो पनि पाइएन ।’

नेताहरूले धेरै वर्षदेखि यसैगरी ‘उल्लु’ बनाएर भोट माग्न आउने गरेको डुडुवा–२ रामनगर पाझाका सुन्दरलाल लोनियाले सुनाए । ‘पीडा खेप्नै जन्म लिएजस्तो लाग्छ,’ उनले भने । यस्तै गुनासो सुनाउँछन्, कृषि चौफेरीका भिखाइ पासी । ‘चुनावमा भोट माग्न आउँछन् । बाढी आउँदा कोही आउँदैनन्,’ उनले भने, ‘त्यति बेला मानिससँगै गाईवस्तु चिच्याउने कराउने गर्छन् । सुनिदिने कोही हुँदैन ।’

बाँकेको होलियानजिक भारतले निर्माण गरेको तटबन्धका कारण डुबान समस्या निम्तिएको स्थानीय बताउँछन् । विश्व बाँध आयोगको प्रतिवेदनअनुसार लक्ष्मणपुर तटबन्ध अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो । तर, राजनीतिक दल र नेतृत्व प्रतिबद्ध नहुँदा डुबान प्रभावित क्षेत्रमा सबैले आ–आफ्नो स्वार्थको खेती गर्न पाएका छन् । कलकलवा तटबन्धका कारण बेतहनी, होलिया, मटेहिया, फत्तेपुर र गंगापुरका बासिन्दाले २९ वर्षदेखि डुबानको समस्या झेल्दै आएका छन् ।

भारतको जल संशाधन नदी विकास एवं गंगा संरक्षण विभाग र नेपालको जलस्रोत तथा सिँचाइ विभागबीच गत असारमा राप्तीमा तटबन्ध निर्माणसम्बन्धी सम्झौता भएको थियो । जसमा भारतले प्राविधिक अनुगमनसहित लाग्ने खर्च १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोग दिने र १ अर्ब रुपैयाँ नेपालले व्यहोर्ने सहमति भएको थियो । तर, सम्झौता गरेको ४ महिना भइसक्दा डुबान अवस्थाको अन्तिम सर्वेक्षण नहुँदा तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ । यसलाई उम्मेदवारहरूले चुनावी मुद्दा बनाएका छन् । खासगरी डुबान प्रभावित क्षेत्रका उम्मेदवारले तटबन्ध निर्माणलाई प्रमुख मुद्दा बनाएका छन् ।

नदीको दुवैतिर ३५ किलोमिटर पक्की र ६ किलोमिटर माटोको तटबन्ध निर्माण गर्ने सहमति भएको थियो । त्यसअघि भारतले कलकलवा तटबन्ध र लक्ष्मणपुर बाँधबाट सिर्जित डुबान समस्याको अध्ययन गरेको थियो । तर, अन्तिम सर्भेक्षण अहिलेसम्म भएको छैन । कात्तिक दोस्रो सातासम्ममा टेन्डर आह्वान गर्ने सहमति भएको थियो । तर, राजनीतिक स्तरबाट पहल नहुँदा ढिलाइ भएको छ ।

प्रकाशित : मंसिर ३, २०७९ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×