१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मुन्धुमले सदियौँदेखि मानव सभ्यता चिनाएको छ : उपराष्ट्रपति पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले मुन्धुम र किरात धर्म–संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताएका छन् । 

मुन्धुमले सदियौँदेखि मानव सभ्यता चिनाएको छ : उपराष्ट्रपति पुन

इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उनले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभइ सिंगो नेपालीको उत्कृष्ट सम्पदा भएकाले यसमा गौरव गर्न नेपालीमा आग्रह गरे ।

'विविधताबीचको एकता नै नेपालीको मुख्य पहिचान हो', उनले भने, 'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा जातीय विविधता, भाषिक, सांस्कृतिक विविधिता छ, सहिष्णुता छ ।' उनले इलाम प्रकृति र संस्कृतिको धनी जिल्ला भएको बताए । उपराष्ट्रपति पुनले भने, 'यो ठाउँ प्राकृतिक रूपमा मनोरम र सांस्कृतिक रूपमा समृद्ध छ । आदिमकालदेखि किरातीको बसोबास भएको यो ठाउँ धर्म, भाषा, लिपि, संस्कृति र सभ्यतामा समृद्ध छ ।'

किरात धर्मगुरुका प्रगतिशील धारणाबारे खुलेर प्रशंसा गरेका उनले शान्ति अहिंसा, शिक्षाजस्ता उपदेश आज पनि व्यावहारिक रहेको बताए ।

फरक प्रसङ्गमा उनले निर्वाचनमा सहभागी भएर मताधिकार प्रयोग गरेको भन्दै मतदातालाई बधाई र नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिएका छन् । उनले भने, 'निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय, कर्मचारी र पर्यवेक्षकलाई पनि धन्यवाद दिन चाहन्छु ।'

प्रकाशित : मंसिर १८, २०७९ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?