१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जो ३० हजारभन्दा बढी मत पाएर पनि पराजित भए

प्रत्यक्षतर्फ सबैभन्दा धेरै मत पाउने उम्मेदवार निर्वाचित हुन्छन् । लोकप्रिय मत पाए पनि निकटतम प्रतिद्वन्द्वीहरू पराजित भएका हुन् ।

काठमाडौँ — काठमाडौं क्षेत्र नं. १ बाट चुनाव जितेका कांग्रेस नेता प्रकाशमान सिंहले जम्मा ७ हजार १४३ मत पाए । काठमाडौं-७ मा विजयी गणेश पराजुलीले पाएको मत पनि ८ हजार ७४३ मात्रै हो । यी मात्रै होइन, काठमाडौंका क्षेत्र नं. ६, ८, ९ र १० मा विजयी उम्मेदवारले पाएको मतसमेत १५ हजार नाघेको छैन । सबैभन्दा कम मत पाएर विजयमी हुनेमा मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ हुन् ।

जो ३० हजारभन्दा बढी मत पाएर पनि पराजित भए

उनले २ हजार ५७५ मत पाउँदा नै चुनाव जिते भने मुस्ताङका योगेश गौचन थकालीले पनि ३ हजार ९९२ मत ल्याएर चुनाव जिते । बारा-२, रुकुमपूर्व, डोल्पा, हुम्ला र मुगुमा समेत विजयी उम्मेदवारको मत १५ हजार नाघेको छैन ।

त्यसबाहेक २० हजारसम्म मत पाएरै विजयी हुने १३ उम्मेदवार छन् भने २५ हजारसम्म मत पाएर विजयी हुने अरु ३१ उम्मेदवार छन् । तर‚ यही निर्वाचनमा ३० हजारभन्दा धेरै भोट पाएर पनि २१ जना नेताले चुनाव हारेका छन् ।

पाँचथरबाट उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाएर हारे । त्यस्तै, अर्का सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार ११२ र उमाकान्त चौधरीले ३० हजार ५६ मत पाएर पनि चुनाव हारे ।

नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ र सुजाता कोइरालाले ३१ हजार ९४० मत पाएर पनि चुनाव हारे । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत पाए पनि पराजित भए । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७९१ मत पाएर पनि पराजित भए ।

गृहमन्त्री बालकृष्ण खाँणले ३४ हजार ३६, पूर्वउपसभामुख पुष्पा भुसालले ४० हजार ९४५, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार ८१४ र नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले ३० हजार ४३२ मत पाएर पनि चुनाव हारे । प्रत्यक्षतर्फ सबैभन्दा धेरै मत पाउने उम्मेदवार निर्वाचित हुन्छन् । लोकप्रिय मत पाए पनि निकटतम प्रतिद्वन्द्वीहरु पराजित भएका हुन् ।

यसरी ३० हजारभन्दा धेरै मत ल्याएर पराजित हुनेमा कांग्रेसका शिवप्रसाद हुमागाईं, नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवार र नरेन्द्रबहादुर कुँवर, एमालेका कैलाश ढुंगेल, रेशमबहादुर लामा, तिलबहादुर महत क्षेत्री, बृजेशकुमार गुप्ता र ध्रुवकुमार शाही पनि छन् ।

प्रकाशित : मंसिर १८, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?