अनुसन्धानका लागि हेडक्वार्टर तानिए सशस्त्र प्रहरीका तीन एसपी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुसन्धानका लागि हेडक्वार्टर तानिए सशस्त्र प्रहरीका तीन एसपी

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागि हेडक्वार्टर तानिएका छन् । सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची हुन् ।

बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।

सशस्त्रका बाहिनी र गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट केही दिन अघिबाट एसपी नेतृत्वका दुई मार्सल टोली खटिएका थिए । सोही रिपोर्टका आधारमा मुख्यालयले शुक्रबार शंका लागेका अधिकृतहरुलाई फिर्ता हुन २४ घण्टे निर्देशन दिएको थियो । फिर्ता बोलाइएका अधिकृतमाथि विस्तृतरुपमा अनुसन्धान हुने र कसुर देखिए कानुनअनुसार कारबाही गरिने सशस्त्र प्रहरी स्रोतले बतायो ।


प्रकाशित : मंसिर १७, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्

सुनकोसी–मरिण डाइभर्सनको कामले गति लियो

४५ दिनमा एक किलोमिटर सुरुङ खनियो
राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण कार्यले गति लिएको छ । डेढ महिनाको अवधिमा एक किलोमिटर सुरुङ खनिएको आयाोजनाले जनाएको छ ।

गत असोज २८ गतेबाट सुरुङ खन्न सुरु गरिएको थियो । टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजना डेढ महिनाको अवधिमा शनिबारसम्म एक हजार मिटर (एक किलोमिटर) सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।

आयोजना प्रमुख बरालका अनुसार १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेकोमा प्रगति बढेको उनको भनाइ छ ।

‘एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो, आयोजना प्रमुख बरालले भने,' ‘अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौं । ढिलो वा चाँडो भन्ने भौगर्भिक समस्यामा निर्भर हुन्छ । चुरे पहाड र महाभारतको संगमस्थलमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ ।’ यही रफ्तारमा काम भए महिनामा ७ सय मिटरसम्म खन्न सक्ने भएकाले लक्ष्य राखिएको २२ महिनाको अवधिअघि नै निर्माण सम्पन्न हुने उनको आकलन छ ।

अहिले दैनिक सरदर १८ मिटर र कुनै दिन ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । मेसिनले १३ दशमलब तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणी भन्दा सात सय मिटर तल पर्छ । पानी बग्ने ५ दशमलब ५ डायमिटर रहने गरी अहिले ६ दशमबल ६ डायमिटरको सुरुङ मेसिनले खनि रहेको छ ।

सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपयाँमा ठेक्का पाएको छ । टीबीएमले आठ/आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खनिरहेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ ।

त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिनेछ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराइका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । बाह्रै महिना सिँचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७९ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×