धरानकी उषा राई मृत्यु प्रकरणले उब्जिएका प्रश्न- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानकी उषा राई मृत्यु प्रकरणले उब्जिएका प्रश्न

प्रदीप मेन्याङ्बो, सुम्निमा चाम्लिङ

सुनसरी — ४२ वर्षीया उषा राई धरानमा कोठा भाडामा लिएर २ छोरीसँग बस्दै आएकी थिइन् । जीविकाका लागि धरान–१३ मा उनले कपडा सिलाउने पसल राखेकी थिइन् । गत कात्तिक ३ गते पनि सधैंझै पसलमा लुगा सिलाउँदै थिइन् उनी ।

तर एक्कासि उनीमाथि महिलाको समूह जाइलाग्यो । उनलाई लछारपछार गरियो । उनलाई कुटपिट गर्नेमध्येकी एकजना त पहिलेदेखि नै चिनजान भएकी थिइन् । धरान–१३, धार्मिक पथकी ४५ वर्षीया उर्मिला राईले अरु महिलालाई पनि ल्याएर उषामाथि कुटपिट गरेकी हुन् ।

महिलाहरूको समूहबाट भएको कुटपिटपछि उनको मृत्यु भएको छ । उनीमाथि कुटपिट भएको भिडियो क्लिपसमेत सामाजिक सञ्जालमा पोस्ट भएका छन् । उर्मिलाले एकल महिला उषा आफ्ना श्रीमान्सँग नजिकिएको आरोप लगाउँदै कुटपिट गरेको छिमेकी बताउँछन् । उनले कुटपिटमात्र होइन, प्लास्टिकको बोतलमा ल्याएको रासायनिक पदार्थसमेत पिलाइदिइन् । त्यसपछि सिकिस्त उषालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । ३ दिनपछि अस्पतालले उनलाई डिस्चार्ज गर्‍यो ।

१० दिनअघि उनको स्वास्थ्य बल्झियो । त्यसपछि उनलाई फेरि अस्पताल भर्ना गरियो । गत मंगलबार उपचारका क्रममा उनको निधन भएपछि घटनाले नयाँ मोड लिएको हो । कुटपिटपछि पीडक पक्षले उपचार खर्च ३० हजार रुपैयाँ दिएर मिलापत्र गरिएको थियो । घटनाको प्रत्यक्षदर्शी रहेकी एक महिला भन्छिन्, ‘महिला–महिलाबीच झगडा परेको सुनेपछि म गएकी थिएँ । पसलमै उनलाई महिलाको समूहले लछारपछार पारिरहका थिए । उनीहरूले जबर्जस्ती उषालाई केमिकल खुवाउन थाले, मैले रोक्न खोजे पनि मलाई नै कुटियो ।’

मृतक उषा राईका बुवा दलबहादुर राई र आमा ठकुरमाया राई । तस्बिर : सुम्निमा चाम्लिङ/कान्तिपुर

प्रहरीले घटनामा संलग्नमध्ये उर्मिला राईलाई गत बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले बताए । शुक्रबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए । उर्मिलालाई पक्राउ गरेपछि उनलाई साथ दिनेमध्ये धरान १३ कै २८ वर्षीया सुमित्रा राई र २९ वर्षीया सुशेली राईलाई पनि शुक्रबार नियन्त्रणमा लिएर हिरासतमा राखिएको डीएसपी श्रेष्ठले बताए । धार्मिक पथमा बस्नुअघि उषा तिनै उर्मिलाको घरमा कोठा भाडामा बस्दै आएकी थिइन् । मृतक राई पाँच महिनाअघि मात्र हालको डेरामा सरेकी थिइन् ।

महिला हिंसाविरुद्ध १६ दिने अभियान चालिरहँदा धरानमा भएको घटनाले दु:ख लागेको महिला अधिकारकर्मी सविता राईको भनाइ छ । उषाका श्रीमान्को दुई वर्ष अघिमात्र मृत्यु भएको थियो । एकल महिलालाई हेप्ने र नकारात्मक दृष्टिले हेर्न परिपाटी अझै पनि अन्त्य नहुनु दु:खद पक्ष भएको राई बताउँछिन् ।

उषाको मृत्युपछि धरान–१३ को जनजागृति आमा समूह पनि विवादमा तानिएको छ । कुटपिट भएको बेला आमा समूहबाट आएको भन्दै लछारपछार पारिएकाले जनजागृति आमा समूह विवादमा तानिएको हो । तर आमा समूहले उषा कुटपिट प्रकरणमा आफूहरुको कुनै संलग्नता नरहेको भन्दै पत्रकार सम्मेलन गरेर पन्छियो । आमा समूहकी अध्यक्ष निर्मला तिम्सिनाले व्यक्तिगत रूपमा घटनामा संलग्न भएमा उनीहरूलाई पनि कारबाही हुनुपर्ने बताइन् ।

उषा राई मृत्युको घटनामा महिला सञ्जाल धरानले बिहीबार इलाका प्रहरी कार्यालय, धरान उपमहानगरपालिका न्यायिक समिति, इलाका प्रशासन कार्यालयलाई ध्यानाकषर्ण पत्र बुझाएको अध्यक्ष सपना राईले बताइन् । अध्यक्ष सपना राईले मृतक उषाको अझै पोस्टमार्टम हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘पहिले कुटपिट, रासायनिक पदार्थ खुवाएपछि बीपी प्रतिष्ठानमा भर्ना, डिस्चार्ज, फेरि आईसीयूमा भर्ना र उपचारपछि मृत्यु भएको पाँच दिन बितिसक्दा पनि पोस्टमार्टममा ढिलाइ हुँदा प्रमाण नष्ट हुने आशंका बढेको छ ।’

डीएसपी श्रेष्ठले मृतक उषाका परिवारले घटनामा संलग्न सबै दोषीलाई पक्राउ गरेपछि मात्र पोस्टमार्टम गर्ने बताएपछि पोस्टमार्टम हुन नसकेको बताए । मृतक राईको बुवा ७३ वर्षीय दलबहादुर राईले छोरीको मृत्युको घटनाको विषयमा न्याय हुुनुपर्ने बताए । उनले भने, ‘आमा समूहले कुटपिट गरेर छोरीलाई मारे । पुरुषसँग बोल्दैमा ल्याउने र जाने कुरा आउँदैन होला ∕ यहाँ त्यही कुरामा भन्छन् । हामी त पहाडमा बस्ने मान्छे के थाहा ? जसरी हुन्छ न्याय पाउन पर्‍यो ।’

प्रकाशित : मंसिर १७, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा नेपालीभाषीको जनसंख्या ७२ प्रतिशतले बढ्यो

नवीन पोखरेल

लन्डन — बेलायतमा नेपालीहरूको जनसंख्या ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्यासनल स्टाटिटिक्स (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सीएनएस) यूकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।

सीएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता 'नेपाली' बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र थियो । एक दशकमा त्यो संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

बेलायतमा रसमोर नेपालीहरूको सबैभन्दा धेरै नेपाली बस्ने क्षेत्र कायमै छ । त्यहाँ नेपालीहरूको संख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा सो संख्या ६ हजार १३१ थियो ।

त्यसैगरी दक्षिण पूर्वी लण्डनको ग्रीनविचमा नेपालीहरूको दोस्रो घना बस्ती रहेको क्षेत्रका रुपमा कायमै छ । त्यहाँ नेपालीहरूको संख्या ७ हजार ६४९ पुगेको छ । सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्याङ्क थियो । त्यसपछि रेडिङ नेपालीहरूको तेस्रो ठूलो बसोबास रहेको स्थान बनेको छ जहाँ नेपालीहरूको जनसंख्या ५ हजार ३४४ देखिएको छ । सन् २०११ को जनगणनामा रेडिङमा २ हजार ७३५ नेपाली थिए ।

सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित नेपालीहरू बस्ने तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने यो जनगणनामा नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको छ । तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी छ ।

सीएनएस यूकेका पूर्व कार्यकारीनिर्देशक कृष्ण अधिकारी जनगणनामा नेपालीहरूको संख्या उल्लेख्य वृद्धि हुनुमा पाँचवटा कारण प्रमुख ठान्छन् । पहिलो, बेलायतमा जन्मिएका पहिलो पुस्ताका बेलायती नेपाली । दोस्रो, सन् २००९ मा गोरखा भूतपूर्व सैनिकहरूलाई बेलायतको आवासीय अधिकार दिइएपछि गोरखा परिवारमा आश्रित वयस्कहरूको बेलायत प्रवेश । तेस्रो, हङकङमा रहेका ब्रिटिस न्यासनल ओभरसिज (बीएनओ) राहदानीवाहकहरूलाई बेलायतको उदार आवासीय नीति । चौथो, युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरू ब्रेक्जिटपछि युरोपियन युनियनभित्रका बासिन्दालाई बसोबास रोज्न दिइएको ग्रेस अवधिअन्तर्गत बेलायतमा बसोबास गर्नु । पाँचौँ, बेलायतमा उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनपाइएको खुकुलो नीति ।

यसका साथै सन् २०११ को जनगणनाको बेलायतका नेपालीको अनुभव र बेलायतको नेपाली समुदायमा जनगणनाप्रति आएको चेतना तथा प्रमुख संघसंस्थाहरू नै जनगणनाको अभियानमा सामेल हुनुले पनि नेपालीको संख्या बढेको हुनसक्ने अधिकारीको भनाइ छ ।्

बेलायतमा जातीय अल्पसंख्यकहरू जनगणनामा छुट्न सक्ने ठूलो सम्भावनालाई हेरेर विभिन्न उपायहरू अपनाइए पनि अझै १० देखि १५ प्रतिशत नेपालीहरू जनगणनामा छुटेको हुनसक्ने सीएनएस यूकेको विश्लेषण छ । त्यसको आधारमा बेलायतमा नेपालीहरूको जनसंख्या १ लाख २५ हजारदेखि १ लाख ५० हजारसम्म रहेको सीएनएस युकेको आकलन छ ।

बेलायतका चार राज्यमध्ये स्कटल्यान्डमा कोभिड महामारीका कारण गत वर्ष जनगणना स्थगित गरियो र यस वर्ष मात्र सम्पन्न भएको छ । उता उत्तरी आयरल्यान्डमा गत वर्ष नै जनगणना भए पनि जनगणनाको जातिगत तथ्याङ्क विस्तृत रूपमा सार्वजनिक भइसकेको छैन । तथापि त्यहाँ पनि नेपालीहरूको संख्या इङ्ल्यान्ड र वेल्सकै अनुपातमा वृद्धि भएको हुनसक्ने सम्भावना छ । सन् २०११ को जनगणनामा स्कटल्यान्डमा नेपालीको जनसंख्या १ हजार २६८ मात्र थियो भने उत्तरी आयरल्यान्डमा अति थोरै संख्या भएकाले उपलब्ध थिएन ।

सीएनएस यूकेले बेलायतमा नेपालीहरूको संख्या आगामी दिनमा अझै थपिने अनुमान गरेको छ । नेपालीहरूमा आफ्ना आफन्त र साथीहरू पहिले नै बसोबास गरिरहेको ठाउँमा बसाइ सर्ने प्रवृत्ति हुनु र अहिले पनि अन्तर्राष्ट्रिय विद्यार्थी, वर्क पर्मिटलगायतको बाटोबाट नेपालीहरू बेलायतमा प्रवेश गरिरहेकाले यो संख्या बढ्ने आधार सीएनएस यूकेले दिएको छ ।

नेपाली भाषा बोल्नेको संख्या ७४ हजार

यसैगरी, इंग्ल्यान्डमा वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको संख्या करिब ४१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ को जनगणनाअनुसार नेपाली भाषा बक्ताको संख्या ७४ हजार ३६८ पुगेको छ । सन् २०११ मा सो संख्या ५२ हजार ७८५ मात्र थियो । नेपाली भाषा इङल्यान्ड र वेल्समा २१औँ स्थानमा परेको छ । गत जनगणनामा पनि नेपाली भाषा सोही स्थानमा रहेको थियो । सीएनएस यूकेका अनुसार ओएनएसले नेपाली समुदायलाई साना अल्पसंख्यक जातीय समुदायभित्र राखेर यस वर्ष पनि अनुसन्धान गरिरहेको छ ।

सन् २०११ मा सिएनएस यूकेको निरन्तरको पहलपछि ओएनएसले नेपालीलाई साना अल्पसंख्यक जातीय समुदायको अध्ययनमा समावेश गरेको थियो । सो अध्ययनको तथ्याङ्कहरू बाहिर आएपछि नेपाली समुदायलाई जानकारी गराउने सीएनएस यूकेले बताएको छ । सीएनएस यूकेले जनगणना राज्यको आधिकारिक तथ्याङ्क हुने भएकाले त्यसमा नेपालीहरूको वास्तविक संख्या दर्ज हुन सके सरकारी तथा गैरसरकारी निकायबाट नेपालीहरूमाथि विभिन्न नीतिगत योजना ल्याउन सजिलो हुने भन्दै लामो समयदेखि अभियान गर्दै आएको छ ।

गत वर्षको जनगणनामा बेलायतमा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको निस्कर्ष निकाल्दै सिएनएस यूकेले यसमा सहयोग पुर्‍याउने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके लगायत सबै नेपाली सामुदायिक संघसंस्था व्यक्ति तथा सन् २०२१ को जनगणनामा सीएनएस यूकेका तर्फबाट गरिएको सामुदायिक अभियानको संयोजनका लागि सीएनएस यूकेका अनुसन्धाता नरेश खपांगी मगरप्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित : मंसिर १७, २०७९ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×