माओवादी पदाधिकारी बैठक बस्दै : चुनावको समीक्षा र सरकार गठनबारे छलफल हुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी पदाधिकारी बैठक बस्दै : चुनावको समीक्षा र सरकार गठनबारे छलफल हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक बस्न लागेको पदाधिकारीको बैठकमा दुई एजेन्डा तय गरिएको बताइएको छ । 

उपमहासचिव हरिबोल गजुरेलले निर्वाचन समीक्षा र सरकार गठनका बारेमा छलफल गर्न पदाधिकारीको बैठक बस्न लागेको जानकारी दिए । कांग्रेससहित पाँच दल मिलेर प्रतिनिधिसभा निर्वाचनमा गएको अवस्थामा पार्टी र गठबन्धनलाई प्राप्त परिणाम र आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल हुने उनको भनाइ थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव तथा पार्टी केन्द्रीय सदस्य रमेश मल्लले चुनावको प्रारम्भिक समीक्षा र आगामी रणनीतिबारे छलफल हुने बताए । अध्यक्ष दाहालले आगामी रणनीतिबारे पदाधिकारीबाट सुझाव लिनका लागि बैठक बोलाइएको मल्लले जानकारी दिए ।

माओवादीले शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो ।

माओवादीका २१ जना पदाधिकारी छन् । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव रहेका देवप्रसाद गुरुङ पराजित भएका छन् । त्यस्तै, उपमहासचिवहरू पम्फा भुसाल, गिरिराजमणि पोखरेल र मातृका यादव पनि पराजित भएका छन् । सचिव चक्रपाणि खनाल पनि पराजित भएका छन् । यो निर्वाचनमा माओवादीका १७ सांसद मात्रै प्रत्यक्षबाट निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १७, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

‘मंगल चाचा’ सांसद

मनोज पौडेल

कपिलवस्तु — प्रत्येक निर्वाचनमा मतगणना सुरु हुँदाको दुई–तीन दिनसम्म उनी जहिल्यै अगाडि हुन्थे । सुरुमा कसैले उछिन्न नसक्ने उनी चौथो दिन सुरु भएपछि पछाडि पर्दै जान्थे । सुरुमा जित मिल्ने आसमा हौसिने उनी पछाडि परेपछि निराश बन्थे । उनले यस्तो एक पटक होइन, सात पटकसम्म भोगे । तर उम्मेदवारी दिन छाडेनन् ।

एक दिन त सफल भइन्छ भनेर मनोनयन दाखिलामा अगाडि रहने कृष्णनगर–२ का ७७ वर्षीय मंगलप्रसाद गुप्ता (मंगल चाचा) मंसिर ४ को निर्वाचनमा कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बने ।

मतदानको भोलिपल्ट गणनाको सुरुवातमै उनले अग्रता लिएका थिए । तीन दिनसम्म अग्रता कायम रहे पनि विगत सम्झेर ढुक्क भने थिएनन् । ‘फेरि पुरानै नियति दोहोरिने चिन्तामै थिएँ,’ उनले भने, ‘यस पटक चौथो दिनसम्म पनि प्रतिस्पर्धी अगाडि आएनन्, निरन्तर अग्रता बनाइरहें ।’ पाँचौं दिन मतान्तर झन् बढाए । त्यसपछि ढुक्क भए । २०३९ देखि निर्वाचन लड्दै आएर उपविजेतामा सीमित रहने गरेका उनी आठौं प्रयासमा फराकिलो मतान्तरले विजयी भए । लामो समय चुनाव लडेर यस पटक जितको इतिहास रच्ने मंगल चाचाको अहिले कपिलवस्तुमा चर्चा छ ।


प्रकाशित : मंसिर १७, २०७९ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×