रोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, बालक घाइते- समाचार - कान्तिपुर समाचार

रोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, बालक घाइते

काशीराम डाँगी

रोल्पा — रोल्पाको सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका–५ भैंसीकुटीस्थित भित्री सडक खण्डमा लु १ च ५४६४ नम्बरको जिप सडकभन्दा करिब २ सय मिटरमुनि माडी खोलामा खसेको हो । उक्त जिप रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ स्थानीय उत्पादन सामाग्री लैजान र आवश्यक सामान बजारबाट लिन जाने क्रममा थियो ।

जिप अनियन्त्रित भएर खोलामा खस्दा जिपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो । उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् । उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ । जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने शवको पोस्टमार्टम गर्न अस्पतालमा लैजान परिवारले तयारी थालेको प्रहरीले जनाएको छ । स्थानीयले मृतक कवरलाई युवा धामीका रूपमा चिन्थे । सल्लिबोटस्थित शिक्षक भूपबहादुर केसीले कवर समाजमा सकारात्मक कार्यका लागि अग्रसर हुने मध्येका रेहको बताए ।

घटनास्थलमा जिल्ल प्रहरी र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट प्रहरी टोली खटिएको थियो ।

प्रकाशित : मंसिर १७, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा जिप दुर्घटना, ६ जना घाइते

काशीराम डाँगी

रोल्पा — रोल्पाको त्रिवेणी–६ धारमखोलास्थित बिरुवामा जिप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार फलफूलका बिरुवा पुर्‍याएर फर्कने क्रममा उक्त जिप शनिबार दिउँसो दुर्घटनामा परेको हो ।


धारमखोला माथिका गाउँमा बिरुवा वितरण गरेर लिङदुङतर्फ फर्कँदै गरेको अवस्थामा लु १ च ३३७० नम्बरको पिकअप गाडी धारमखोलामा मोड्ने क्रममा सडकबाट करिब १० मिटरभन्दा तल खसेको थियो । जिप खस्दा चालकसहित दुई पुरुष र चार युवती घाइते भएका थिए । घाइतेलाई उपचारका लागि दाङस्थित अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै उद्धारका लागि जुगारको नेर्पास्थित प्रहरी चौकीबाट प्रहरी र स्थानीय खटिएका थिए । चालक त्रिवेणी–४ पुनगाउँका २८ वर्षीय कमल परियारको ढाडमा भित्री चोट लागेको छ । अन्यलाई टाउको, अनुहार, निधारमा चोट लागेको छ ।

जिपमा सवार भएका अवस्थामा घाइते भएकामा रोल्पा नगरपालिका–१० धवाङकी १८ वर्षीया श्यामकली सुनार, प्युठान नौबहिनी गाउँपालिका–८ की २३ वर्षीया सुशीला भण्डारी, प्युठान नौबहिनी–३ खवाङकी २२ वर्षीया बालिका पुन मगर, प्युठान नौबहिनी–८ की २१ वर्षीया बिमला भण्डारी र कैलाली टीकापुर नगरपालिका–१ का २४ वर्षीय नरेशराज गिरी छन् ।

उक्त जिपमा विभिन्न ठेगाना भएका किशोरीहरु किन सवार थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रोल्पामा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उक्त घटनाबारे गम्भीर रुपमा अध्ययन गर्न प्रहरीलाई निर्देशन दिइएको बताए ।

प्रकाशित : मंसिर ११, २०७९ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×