१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘मंगल चाचा’ सांसद

२०४३ मा सूर्य चिह्न लिएर राष्ट्रिय पञ्चायतमा उठेर पराजित भएका गुप्ता ३६ वर्षसम्म विभिन्न दल चहारेर आठौं पटकमा भने सूर्य चिह्नबाटै निर्वाचित 
मनोज पौडेल

कपिलवस्तु — प्रत्येक निर्वाचनमा मतगणना सुरु हुँदाको दुई–तीन दिनसम्म उनी जहिल्यै अगाडि हुन्थे । सुरुमा कसैले उछिन्न नसक्ने उनी चौथो दिन सुरु भएपछि पछाडि पर्दै जान्थे । सुरुमा जित मिल्ने आसमा हौसिने उनी पछाडि परेपछि निराश बन्थे । उनले यस्तो एक पटक होइन, सात पटकसम्म भोगे । तर उम्मेदवारी दिन छाडेनन् ।

‘मंगल चाचा’ सांसद

एक दिन त सफल भइन्छ भनेर मनोनयन दाखिलामा अगाडि रहने कृष्णनगर–२ का ७७ वर्षीय मंगलप्रसाद गुप्ता (मंगल चाचा) मंसिर ४ को निर्वाचनमा कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बने ।

मतदानको भोलिपल्ट गणनाको सुरुवातमै उनले अग्रता लिएका थिए । तीन दिनसम्म अग्रता कायम रहे पनि विगत सम्झेर ढुक्क भने थिएनन् । ‘फेरि पुरानै नियति दोहोरिने चिन्तामै थिएँ,’ उनले भने, ‘यस पटक चौथो दिनसम्म पनि प्रतिस्पर्धी अगाडि आएनन्, निरन्तर अग्रता बनाइरहें ।’ पाँचौं दिन मतान्तर झन् बढाए । त्यसपछि ढुक्क भए । २०३९ देखि निर्वाचन लड्दै आएर उपविजेतामा सीमित रहने गरेका उनी आठौं प्रयासमा फराकिलो मतान्तरले विजयी भए । लामो समय चुनाव लडेर यस पटक जितको इतिहास रच्ने मंगल चाचाको अहिले कपिलवस्तुमा चर्चा छ ।

यस पटक उनी एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनले कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहलाई ३ हजार ६ सय ३७ मतको फराकिलो अन्तरले हराए । उनले २० हजार ८ सय ५२ मत प्राप्त गरे भने शाहले १७ हजार ७ सय ८८ मत ल्याए । २०२४ मा पहिलो पटक उम्मेदवार बन्दा गुप्ता २२ वर्षका थिए । त्यसबेला ७५ जिल्लाका प्रतिनिधिले मत दिएर उनी नेपाल युवक संगठनको केन्द्रीय सदस्य भएका थिए । पञ्चायतको युवक संगठन राम्ररी सम्हालेका उनी त्यतिबेला प्रभावशाली नेता मानिन्थे । पञ्चायतका तार्किक, बुद्धिजीवी र प्रभावशाली नेता उनलाई जीवनमा दोस्रो जित निकाल्न ५५ वर्ष कुर्नॅ पर्‍यो ।

लामो समयदेखि पराजयको पीडा भोग्दै आएका उनमा अहिले जित हात पार्दा खुसीको सीमा छैन । ‘लोकतन्त्रको सुन्दर पक्ष हार–जित हो,’ उनले भने, ‘म पराजित भए पनि जनताको सेवामा लागिरहें ।’ प्राविधिक कारणले हारे पनि कुनै न कुनै बेला जनताले मलाई न्याय दिन्छन् भन्ने आशा मनमा रहेको उनले सुनाए । ‘अहिले जनताको मनमा बस्न पाउँदा जीवनको उत्तरार्द्धमा आनन्दित बनेको छु,’ उनले भने ।

थोरै भए पनि गरिब विपन्न जनताको अनुहारमा उज्यालो ल्याउन सके आफ्नो जितको सार्थकता हुने उनले सुनाए । चार दशकदेखिको संघर्ष सफल हुँदा हतास र निराश हुनुहुँदैन भन्ने शिक्षा पाएको उनले बताए । गुप्ता सुरुमा २०३९ मा तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनाव लडेका थिए । दमाहा चुनाव चिह्न पाएका उनी पराजित भए । त्यसपछि २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिए । बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक व्यवस्थाका ६ वटा निर्वाचनमा पराजय भोग्नु पर्‍यो । तीन पार्टी परिवर्तन गरे र चौथो पार्टी एमालेबाट चुनाव जिते ।

२०४३ मा सूर्य चुनाव चिह्न लिएर राष्ट्रिय पञ्चायत सदस्य लडेका उनी २४ हजार मत ल्याउँदै चौथो भएका थिए । संयोग ३६ वर्षपछि त्यही सूर्य चिह्न लिएर लडेका उनले अहिले विजयको माला पहिरिएका छन् । उनी एमालेका पुराना कार्यकर्ता भने होइनन्, गत पुस ६ मा पार्टी प्रवेश गरेका हुन् ।

२०२४ देखि राजनीति थालेका गुप्ता २०४८, २०५१ र २०५६ मा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए । २०७० र २०७४ को संविधानसभा सदस्य र संसदीय चुनाव तमलोपा र मधेसी जनअधिकार फोरमबाट लडे । सबै निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी बनेर चित्त बुझाउनु पर्‍यो । एक पटक कांग्रेसले समानुपातिकमा नाम राखे पनि उनी सांसद हुन पाएनन् ।

उनका साथी भगवानदास गुप्ता, राघवेन्द्रप्रताप शाह, हरिनारायण रजौरिया र दीपकुमार उपाध्यायले पटक–पटक जितको स्वाद चाखे पनि उनले भने सधैं पराजय भोग्दै आएका थिए । शाह, रजौरिया र उपाध्याय मन्त्रीसम्म भए । ‘मंगल चाचा विचलित भएनन् । धैर्य र संयम भएर राजनीतिमा लागिरहे । जनताको सेवा गरिरहे,’ स्थानीय मौलाना मकसुद नेपालीले भने, ‘लामो त्याग र संघर्षलाई जनताले अनुमोदन गरे । जनताले न्याय गरे । अहिले हामी निकै खुसी छौं ।’ पञ्चायत र संघीय गणतन्त्रमा निर्वाचन धेरै फरक भएको उनले बताए ।

‘पञ्चायतमा चुनाव चिह्न मात्र हुन्थ्यो । आफूले गर्न सक्ने काम, व्यक्तित्व र प्रभावका आधारमा चुनाव लडिन्थ्यो,’ मंगलप्रसाद अनुभव सुनाउँछन्, ‘चुनाव चिह्न देखाउने र बुझाउने काम हुन्थ्यो । सभा, भेला र मञ्चका कार्यक्रम गरेर मतदातालाई रिझाउने गरिन्थ्यो । दुई–चार जना सहयोगीको भरमा प्रचारमा निस्किन्थ्यौं ।’ पञ्चायतकालमा गाना बजाना र गीतसंगीतको माध्यमबाट पनि मतदातालाई आकर्षित गरिन्थ्यो उनले सुनाए । ‘पढेलेखेका कम थिए । बुझाउनै गाह्रो थियो,’ उनले भने, ‘तर, अहिले चुनावमा व्यक्तिभन्दा पार्टी संगठन बढी परिचालित हुन्छ । पार्टी नै लाग्छ । पार्टीको एउटा घोषणापत्र र नीति कार्यक्रम हुन्छ । त्यही सुनाउँदै, देखाउँदै जनताबीच पुगिन्छ ।’

प्रचार शैली पञ्चायतकालको भन्दा अहिले धेरै सजिलो भएको उनले सुनाए । पढेलेखेका र आईटी बुझेका युवा पंक्तिका कारण पनि अहिले चुनाव फरक भएको उनको अनुभव छ ।

२०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा ४ हजार भारुमा राजदूत मोटरसाइकल किनेर निर्वाचन क्षेत्रभरि प्रचारमा डुलेको उनले सम्झना गरे । ‘पूरै जिल्ला कोठीदेखि अर्रा नदीसम्म एउटा क्षेत्र थियो,’ उनले भने, ‘झन्डै ८ हजार किमि मोटरसाइकल चलाएर प्रचार गरें ।’ २०४३ सालमा १ लाख १५ हजार रुपैयाँ चुनावमा खर्च भ्याएको र अहिले प्रतिनिधिसभाको निर्वाचनमा खटिइरहँदा झन्डै २९ लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।

चार दशकदेखि चुनाव लड्दै आएका कारण उनको जनतामा राम्रो पकड थियो । ‘१५/१६ हजार मेरा व्यक्तिगत मत थिए,’ उनले भने, ‘त्यसमा मजबुत संगठन भएको एमाले पार्टीसँग जोडिएँ । त्यसैले चुनाव जित्न सहज भयो ।’ पढेलेखेका र त्यतिबेलाका प्रतिभावान युवा गुप्ता पञ्चायती शासकको नजरमा राम्ररी परेका थिए । मधेस क्षेत्रमा युवालाई अगाडि ल्याउन सके राम्रो प्रभाव पार्न सक्ने आकलन गरेरै तत्कालीन शासकले उनलाई राम्रो ‘एक्सपोजर’ दिए ।

तालिम, गोष्ठी र अनुभव आदानप्रदान गर्न २८/३० मुलुक गए । उनी राष्ट्रिय पञ्चायत सदस्यमा पराजित भए पनि पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य बनाइएका थिए । समिति सदस्यलाई पनि राष्ट्रिय पञ्चायत सदस्य बराबरकै हैसियत र सुविधा हुन्थ्यो । समिति सदस्य हुँदा उनले मुलुकका ५५ जिल्ला पुगेर जिल्ला पञ्चायत सभापति, सदस्य, प्रधानपञ्च र सरकारी अधिकारीलाई तालिम दिएका थिए । पञ्चायती शासकले उनलाई भाषण गर्न बढी प्रयोग गर्थ्यो । राजनीतिमा लाग्ने प्रेरणा बुबा लौटनरामबाट पाएको मंगल चाचाले बताए । ‘दमन, अत्याचार र सामन्तवादी विचारको थिचोमिचोविरुद्ध बुबा सधैं लाग्नुभयो,’ उनले भने, ‘त्यही मेरा लागि प्रेरणा बन्यो ।’

मजदुर किसानको हक अधिकार स्थापित गर्न उनी आन्दोलनमा पनि हिँडेका थिए । २०२५ सालमा परासीमा धनही (धान बाली लगाएबापत दिनुपर्ने कर) घटाउनुपर्ने भन्दै आन्दोलन गरे । प्रहरीबाट धरपकड र गोलीसमेत चल्यो । त्यही आन्दोलनले धनही कर घटाएको उनले सुनाए । २०५१ सालमा कांग्रेस आबद्ध नेपाल किसान संघको केन्द्रीय सचिव भए । त्यस्तै कपिलवस्तुमा मोहीको हक अधिकारको स्वामित्व रहेको २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत दिलाउन २०५६ मा उनैले नेतृत्व गरेका थिए । कृष्णनगरमा बिडी उद्योगका मजदुरको आन्दोलन चलाएर पारिश्रमिक बढाएका थिए । २०५६ मा कपिलवस्तुको तौलिहवास्थित प्रशासन कार्यालयअघि कृषकको ३८ सूत्रीय माग राखेर ६७ दिन रिले अनशन बसे । गिरिजाप्रसाद कोइराला आएर उनको अनशन तोडाएका थिए ।

मंगल चाचाको सामाजिक काममा पनि उस्तै रुचि छ । पश्चिमी क्षेत्रको गणेशपुरमा ४० कट्ठा जग्गा दिएर बाबुआमा लौटनराम द्रोपदीदेवीको नाममा विद्यालय सञ्चालन गरेका छन् । त्यस्तै बदौंरमा ९ कट्ठा जग्गा दिएर मंगलप्रसाद स्वतन्त्रतादेवी गुप्ता विद्यालय सञ्चालन गरेका छन् । ‘परिवारको पनि पूरै सहयोग छ,’ छोरा विवेक गुप्ताले भने, ‘त्यही भएर अमेरिका बस्ने चारै जना छोरा चुनावमा यहाँ आएका छौं । बुबा परिवारभन्दा क्षेत्रका जनताको चिन्ता गर्नुहुन्छ ।’

प्रकाशित : मंसिर १७, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?