माओवादी उपमहासचिव पुन उपचारका लागि चीन प्रस्थान

काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार बेलुकी चीन प्रस्थान गरेका छन् । पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गर्न इमिरेट्सको उडानबाट त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ ।

पुनलाई बिदाई गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत माओवादी नेताहरु विमानस्थल पुगेका थिए । पुन यसअघि २०७८ मंसिरमा पनि सोही अस्पतालमा एक महिना उपचार गरी फर्किएका थिए ।
गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला चीनको सेनजेन गएका छन् ।
काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएको सचिवालयले प्रस्ट पारेको छ ।
चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौंमा आएर आराम गरिरहेका थिए ।
वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए । बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।
प्रकाशित : मंसिर १६, २०७९ १९:४१