१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ — प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन-२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्रमाथि अनुसन्धान अघि बढाएको छ । लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान सुरु गरेको हो ।

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले थाल्यो अनुसन्धान

लामिछानेको नागरिकता विवादसम्बन्धी विषयलाई केही साताअघि गृह मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि गृहले उजुरीमा भएका विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएको थियो । त्यही उजुरीमाथि अनुसन्धान गर्न काठमाडौं प्रशासनले बिहीबार काठमाडौं परिसरलाई निर्देशन दिएको हो । लामिछानेले आफूले सन् २०१४ मा अमेरिकी नागरिकता लिएको र सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको बताएका छन् ।

तर, विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउन कानुनी प्रक्रिया नअपनाई पुरानै नागरिकता प्रयोग गरेको तर उनी नेपाली नागरिक भइनसकेको भन्दै निर्वाचन आयोगमा पनि उजुरी परेको थियो । पुरानै नागरिकताका आधारमा लामिछानेले आफू अध्यक्ष रहेर निर्वाचन आयोगमा रास्वपा दल दर्ता गर्नेदेखि प्रतिनिधि सभामा चितवन–२ बाट मा विजयी भइसकेका छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले लामिछानेको नागरिकतासम्बन्धी विषयमा अनुसन्धान सुरु भएको बताए ।

‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले पठाएको पत्रमा उल्लेखित विषयउपर अनुसन्धान सुरु भएको छ,’ एसपी मैनालीले भने, ‘बाँकी विषयबारे अनुसन्धानले पूर्णता पाएपछि मात्रै भन्न सकिन्छ ।’ काठमाडौं प्रहरीले लामिछानेले काठमाडौं प्रशासनबाट लिएको नागरिकता, विदेशी नागरिकता प्राप्त गर्नुअघि परित्यागका लागि दिएको निवेदन, त्यसपछि पुन: विदेशी नागरिकता त्याग गर्न अपनाएको प्रक्रिया र त्यसपछिको समग्र अवस्थाबारे अनुसन्धान हुने जनाएको छ ।

नागरिकता विवाद सतहमा आएपछि लामिछानेले निर्वाचनअघि कान्तिपुरसँगको कुराकानीमा आफूले २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको र अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुन:प्राप्त गर्ने कानुनी प्रक्रियामा नगएको बताएका थिए ।

‘अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमनसँगको समस्या समाधान भएपछि अरू प्रक्रियामा गइएन,’ उनले भनेका थिए, ‘त्यसपछि कतै पनि प्रश्न उठेन ।’

तर, विदेशी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता प्राप्तका लागि पहिले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्छ । तर, उनले अमेरिकी नागरिकता त्यागेपछि त्यस्तो निवेदन प्रशासनमा नदिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

सम्बन्धित समाचार

  • के हो रवि लामिछानेको नागरिकता विवाद ?

प्रकाशित : मंसिर १६, २०७९ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?