१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जितपछि जोगीको खोजी

विनोद भण्डारी

विराटनगर — निर्वाचित भएलगत्तै योगेन्द्र मण्डल (जोगी) लाई अन्तिममा ७७ रहेको मोबाइल नम्बरबाट फोन आयो । उनले उठाएनन् । लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले फोन गरे । उठाए र बधाई ग्रहण गरे । ‘पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले कुरा गर्न चाहनुभए पनि फोन उठाउनुभएन छ,’ अधिकारीले सन्देश छाडे, ‘अन्तिममा ७७ भएको नम्बरबाट फोन आउँछ उठाउनुहोला ।’ 

जितपछि जोगीको खोजी

जवाफमा जोगीले भने, ‘मलाई अहिले उहाँसँग कुरा गर्ने जरुरत छैन, साथीहरूसँग गेट टुगेदरमा छु, आवश्यक परे पछि कुरा गरौंला ।’ अधिकारीको अनुरोधपछि उनले थपे, ‘ठिकै छ, फोन गर्न लगाउनुस्, अनुकुल भएमा उठाऊँला ।’ ओलीको फोन भनेपछि जोगी केही क्षण बिच्किए । विगतमा एमालेलाई सहयोग गरे पनि अन्तिममा जसपासँग गठबन्धन गरेर जसपाका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलाई टिकट दिएपछि उनी एमालेसँग रुष्ट छन् । यही असन्तुष्टिपछि उनले मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिए र विजयी पनि भए । उनी निर्वाचित भए लगत्तैदेखि पूर्व संलग्न पार्टी एमालेसहित कांग्रेस र माओवादीका शीर्ष नेताले आ–आफ्नो दललाई सहयोग गर्न भन्दै उनीसँग सम्पर्क गर्न खोजिरहेका छन्, तर उनले कसैलाई वास्ता गरेका छैनन् ।

यसअघि नै उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको फोन आएको थियो, तर उनले कुरा गर्न इन्कार गरे । दाहालका सहयोगीले फोन गराउन चाहे पनि उनले ‘अहिले कुरा गर्ने पक्षमा नरहेको’ भन्दै टारे । पछिल्लो पटक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि जोगीलाई फोन गरे । बधाई दिँदै उम्मेदवारीको सवालमा पार्टीबाट गल्ती भएको स्वीकार गरेको जोगी बताउँछन् । त्यसलगत्तै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाम लिएर उनका सहयोगीको फोन आयो । उनले पनि बधाई दिंदै कांग्रेसलाई सहयोग गर्न आग्रह गरे । एमाले केन्द्रीय सदस्य विनोद ढकालले जोगीको घरमै पुगेर बधाई दिँदै पुरानो घरमा फर्कन आग्रह गरे ।

‘प्रायः सबै शीर्ष नेताको फोन आएको छ तर मैले कसैलाई पनि वचन दिएको छैन,’ जोगी भन्छन्, ‘आफ्नो क्षेत्रका सहयोगी र मतदाताको सुझावअनुसार अघि बढ्नेछु । अहिले कुनै पनि दल नजिक हुने कल्पना गरेको छैन, म स्वतन्त्र नै रहन्छु ।’

विज्ञान संकायमा स्नातक ५१ वर्षीय उनी जीवन विकास समाज लघुवित्तका सञ्चालक हुन् । मोरङ–५ बाट एमालेले उनलाई टिकट दिने पक्कापक्की थियो तर उम्मेदवारी मनोनयनको अघिल्लो दिन एमाले–जसपा गठबन्धनमा यो क्षेत्र जसपालाई परेपछि जोगीले स्वतन्त्रबाट उम्मेदवारी दिए । २१ हजार ८ सय २० मतसहित उनी विजयी हुँदा सत्ता गठबन्धन माओवादीका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ र एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाए ।

प्रकाशित : मंसिर १६, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?