गठबन्धनको रणनीति कुर्दै एमाले

दलहरुसँग निरन्तर संवाद, निर्वाचनको सबै नतिजा आइसकेपछि मात्र औपचारिक निर्णय गर्ने
गंगा बीसी

काठमाडौँ — प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेले सरकार निर्माणमा सत्ता गठबन्धनको रणनीति कुर्ने भएको छ । निर्वाचनको हालसम्मको परिणाममा सत्ता गठबन्धन बहुमतनजिक रहेकाले एमाले अन्तिम नतिजा आइसकेपछि मात्रै निर्णय गर्ने तयारीमा छ ।

गठबन्धनको रणनीति कुर्दै एमाले

‘हामी निर्वाचनको अन्तिम नतिजाको पर्खाइमा छौं,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘सबै नतिजा आइसकेपछि मात्र औपचारिक निर्णय गर्नेछौं ।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्रीका विषयमा सहमति हुन नसक्ने अवस्था सिर्जना भए एमालेको नेतृत्वमा अर्को समीकरण बन्ने सम्भावना छ । यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने देउवा र दाहालबीच सहमति हुन बाँकी छ । उनीहरूबीच सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अन्य दलको समीकरण बन्न सक्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् । प्रधानमन्त्री देउवा सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउने प्रयासमा छन् । सत्ता गठबन्धनकै सहयोगमा रौतहटबाट जितेका प्रभु साह र किरण साहसँग पनि गठबन्धन नेताहरूले संवाद अघि बढाएका छन् ।

एमालेले पनि दलहरूसँग संवाद भने बढाएको छ । सरकार बनाउन सत्ता गठबन्धनको दौडलाई एमालेले टाढैबाट नजर मात्र लगाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘हालसम्मको निर्वाचन परिणाम हेर्दा सरकार बनाउन सत्ता गठबन्धनलाई एमालेभन्दा सहज देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘गठबन्धनका नेता बहुमत पुर्‍याउन डिल्लीबजार कारागार पुग्नुभएको छ ।’ उनले सत्ता गठबन्धनभित्र भागबन्डाको अन्तरसम्बन्ध कसरी अघि बढ्छ भन्ने अध्ययन गरिरहेको बताए । ‘यतिबेला हामी दलहरूसँग छुट्टाछुट्टै सम्पर्कमा छौं,’ उनले भने, ‘यो प्रारम्भिक संवाद मात्र हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंसिर ८ मा टेलिफोनबाट बधाई साटासाट भएको थियो । त्यसयता दुई नेताबीच थप कुराकानी अघि बढेको छैन । एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच अनौपचारिक कुराकानी भने निरन्तर छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४, समानुपातिकतर्फ सबैभन्दा धेरै (बिहीबार रातिसम्म २७ लाख ६९ हजार ५ सय २३) मत, प्रदेश १ मा २५ सिट र लुम्बिनी प्रदेशमा कांग्रेस बराबर १८ सिट ल्याएको एमाले सत्ता गठबन्धनमा गडबड भए सरकार निर्माणको नेतृत्व लिन तयार रहेको उपमहासचिव ज्ञवालीले बताए । ‘चौतर्फी घेराबन्दी गर्दा पनि एमाले समानुपातिक मतका आधारमा पहिलो पार्टी भयो, यसका आधारमा परिआए एमाले मुलुकको नेतृत्व लिन तयार हुन्छ,’ उनले भने, ‘तर एमाले मुद्दामा सम्झौता गरेर जसरी पनि सरकारमा जाँदैन ।’

कांग्रेस र माओवादीबीच खटपट भए कांग्रेस र एमालेबीच सहकार्यमा सरकार निर्माणको चर्चा पनि छ । तर, नेता ज्ञवालीले त्यो सम्भव नदेखेको बताए । ‘दश थरी पार्टी मिलेर सरकार बनाउनुभन्दा कांग्रेस–एमाले मिलेर सरकार बनाउँदा के होला भन्ने प्रश्न पनि छ,’ उनले भने, ‘तर म व्यावहारिक रूपमा सम्भव देख्दिनँ ।’

कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनलाई कमजोर हुन नदिन देउवा र दाहाल निरन्तर प्रयासमा छन् । यी दुई नेता गठबन्धनलाई बहुमत जुटाउन कसरत गरिरहेका छन् । त्यही कसरतस्वरूप उनीहरू प्रत्यक्षतर्फ ४ (एक स्वतन्त्र) सिट जितेको नागरिक उन्मुक्ति पार्टीलाई फकाउनेदेखि सीके राउतलाई गठबन्धनमा ल्याउनेसम्मका प्रयासमा छन् । नागरिक उन्मुक्तिले भने पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन गठबन्धन तयार नभएसम्म सरकारमा सहभागी नहुने बताइसकेको छ ।

एमालेले राजनीतिक स्थायित्वको मुद्दा अघि सारेको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै स्थीर सरकार बन्ने सम्भावना कमजोर बनेको छ । ‘राजनीतिक स्थायित्वका लागि यो जोखिमपूर्ण जनादेश हो,’ एमाले प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘राजनीतिक स्थायित्वका लागि एमालेले पहल गर्छ ।’ उनले यो निर्वाचनपछि सरकार निर्माणका लागि हुने खिचातानीले अस्थिरतातर्फ लग्ने आशंका गरे । ‘विगतका हाम्रा कमजोरीमाथि विभिन्न शक्तिहरूले खेलेका छन्, धमिलो पानीमा माछा मार्ने प्रयास हुँदै छ,’ उनले भने, ‘प्राप्त उपलब्धिको रक्षाका लागि दलहरू अघि बढ्नुपर्छ ।’ गुरुङले वामपन्थी दलहरूबीच सहकार्य हुनुपर्ने धारणा राख्दै आएका छन् ।

धेरै दल मिलेर सरकार बनाउनुपर्ने अवस्थामा अविश्वास बढ्ने र त्यो दलहरूका लागि जोखिम हुने तर्क अर्का उपमहासचिव ज्ञवालीको छ । ‘पाँच वर्ष संसद् कसरी टिकाउन सकिन्छ, दलहरूले सोच्ने बेला भएको छ,’ उनले भने, ‘राजनीतिक स्थायित्व कसरी कायम हुन्छ, गम्भीर हुन आवश्यक छ ।’

एमाले, माओवादी र अन्य दलबीचको सहकार्यमा सरकार निर्माण गर्ने अन्तिम र कठिन सम्भावना पनि छ । समानुपातिकमा माओवादीको मत ०७४ भन्दा खासै नघटे पनि अपेक्षित रूपमा प्रत्यक्षमा जित्न सकेको छैन । उसले बिहीबारसम्म प्रत्यक्षतर्फ १७ सिट जितेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताहरू वाम गठबन्धन हुनुपर्ने पक्षमा छन् । तर, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालको यसमा खासै रुचि देखिएको छैन । एमाले र माओवादी नेताहरूका अनुसार ओली र दाहालको स्वार्थ नमिल्दासम्म मिल्ने सम्भावना छैन ।

२०७७ फागुन २३ मा सर्वोच्चले एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि अलग भएका यी दुई नेता एकले अर्कालाई कमजोर बनाउने रणनीतिमै छन् । ‘केपीजी र प्रचण्डबीच सत्ता स्वार्थ नमिल्दासम्म गठबन्धन हुने सम्भावना देखिँदैन,’ माओवादीका एक नेताले भने ।

माओवादी महासचिव देव गुरुङले वामपन्थी सहकार्यबारे कुनै कुराकानी नभएको बताए । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावअघि कांग्रेससित गठबन्धन गरेको माओवादीसँग तत्काल सहकार्यको सम्भावना नभएको बताए । ‘चुनावअघि माओवादी र एकीकृत समाजवादी गुन्टा कसेर कांग्रेससँग मिले, अहिले एमालेसँग कसरी सहकार्य हुन्छ र ?’ उनको प्रश्न छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?