कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या अभियुक्त महतो : राष्ट्रपतिबाट विभूषण, एमालेबाट सांसद

मातृका दाहाल

काठमाडौँ — सुरक्षाकर्मीको हत्या अभियोगमा फरार तर महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो कोइरीलाई संविधान दिवसमा विभूषण घोषणा गरिएको पाइएको छ ।

हत्या अभियुक्त महतो : राष्ट्रपतिबाट विभूषण, एमालेबाट सांसद

महतो २०७२ भदौ २५ मा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विक हत्या अभियोगका फरार व्यक्ति हुन् । उनलाई संविधान दिवस (गत असोज ३) मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाजसेवी’ का रूपमा प्रबल जनसेवाश्री घोषणा गरिएको हो ।

विभूषणका लागि जिल्ला प्रशासनबाट सिफारिस भएर आएका नाममा गृह मन्त्रालयले विवादित पृष्ठभूमि भए/नभएकामा दोहोरो प्रमाणीकरण गर्ने अभ्यास छ । महोत्तरी प्रशासनले भने महतोको पृष्ठभूमि विवादित भएको जानकारी गृहलाई गराएन । त्यसपछि मन्त्रिपरिषद्ले उनको नामसहित विभूषित हुनेको सूची अनुमोदन गरेर राष्ट्रपति कार्यालय पठाएको थियो । त्यही सूची सदर गर्दै राष्ट्रपति कार्यालयले उनको नाम अनुमोदन गरेको हो । ‘प्रबल जनसेवाश्री’ बाट विभूषित हुने ३ सय १२ जनामध्ये महतोको नाम १० औं नम्बरमा छ ।

सात वर्षअघि मधेसमा चर्केको सरकारविरोधी प्रदर्शनमा असई विक आन्दोलनकारीबाट मारिएका थिए । महतोलाई योजनाकारका रूपमा प्रहरीले किटान गरेको छ । घटनापछि फरार उनी वारेसबाट मनोनयन दर्ता गराएर मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट विजयी भएका छन् । आफैं उपस्थित हुँदा पक्राउ पर्ने डरले वारेसमार्फत उम्मेदवारी दिएका उनले निकटतम प्रतिद्वन्द्वी माओवादीका गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन् ।

महतोलाई विभूषण दिलाउन जनता समाजवादी पार्टीको पनि जोडबल रहेको स्रोत बताउँछ । असोज २७ सम्म उनको दल जसपा सरकारमै थियो । चुनावमा कांग्रेस–माओवादी गठबन्धनसँग सहमति नजुटेपछि जसपाका मन्त्री असोज २७ मा बर्खास्तीमा परेका थिए । त्यसपछि एमालेसँग सम्पर्कमा पुगेका महतो टिकट पाउने सुनिश्चित गरेर मनोनयनको अघिल्लो दिन जसपाबाट अलग भए ।

सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्का हानेर घाइते बनाएका थिए । विकलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल जलेश्वर पुर्‍याएको थियो । त्यहाँ उपचार नभएपछि एम्बुलेन्समा राखेर जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा प्रदर्शनकारीले एम्बुलेन्सबाट थुतेर महोत्तरीकै धान खेतमा हत्या गरेका थिए । महतोकै योजनामा हत्या गरिएको प्रहरी अनुसन्धानमा उल्लेख छ ।

गृह मन्त्रालयका एक अधिकारीले आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि महतोलाई घोषणा गरिएको विभूषण रद्द हुने बताए । ‘हत्या अभियोगमा मुछिएका व्यक्तिलाई विभूषण घोषणा हुनुमा कमजोरी भएकै हो, जिल्लाबाट पनि उनको पृष्ठभूमिबारे दोहोरो प्रमाणीकरण हुनुपर्नेमा त्यसो भएको देखिएन,’ उनले भने, ‘आगामी वैशाख १ मा वितरण गर्नुअघि सूचीमा हेरफेर गरेर गल्ती सच्याउँछौं ।’

महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले महतो हाल प्रहरीको फरार सूचीमा रहेको र अदालतको आदेश कार्यान्वयन गर्न पहल भइसकेको बताए । ‘व्यक्ति हत्या आरोपमा महतो फरार सूचीमा छन् । अदालतले पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएकाले उनलाई कारबाहीको दायरामा ल्याउन प्रहरी गम्भीर रूपमा लागेको छ,’ उनले कान्तिपुरसँग भने ।

विक हत्यासम्बन्धी मुद्दामा महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिलले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्‍यो । धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउँदै उच्चले पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो । तर, उच्चको आदेश तीन वर्षसम्म पनि कार्यान्वयन भएको छैन । महतो खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । सांसद निर्वाचित प्रमाणपत्र वारेसमार्फत बुझेपछि आयोजित विजयी र्‍याली/जुलुसमा महतो सहभागी भए पनि प्रहरीले पक्राउ गरेन ।

जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । ड्युटीमा रहेका सुरक्षाकर्मीलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरेको जस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई धरौटीमा छाड्ने न्यायाधीश अधिकारीको आदेश त्यतिबेलै विवादित बनेको

थियो । त्यसपछि सप्तरी र बाँके सरुवा भएका न्यायाधीश अधिकारीलाई गत भदौमा न्यायपरिषद्ले आर्थिक लेनदेनमा संलग्न र कार्यक्षमताको अभाव देखाउँदै बर्खास्त गरेको छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?