सरकार र चन्द नेतृत्वको नेकपाबीच भेटवार्ता

चन्दको माग सुनुवाइमा सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ । 

सरकार र चन्द नेतृत्वको नेकपाबीच भेटवार्ता

गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानुन‚ न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए भने नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउने विषयमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । नेकपासम्बन्धी मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अप्ठ्यारो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।

त्यही निर्णय कति कार्यान्वयन भयो ? र आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्थाबारे छलफल भएको बताइएको छ ।

सरकारका तर्फबाट गृहमन्त्री खाँणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : मंसिर १५, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?