३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समानुपातिकबाट प्रत्यक्षमा फड्को मारेका ५ महिला सांसद

जयसिंह महरा

काठमाडौँ — चुनावी प्रतिस्पर्धामा जित हासिल गर्न सक्दैनन् भन्दै महिला नेताहरूलाई दलका शीर्ष नेताले टिकट दिन कन्जुस्याइँ गरे पनि अवसर पाए विजय हासिल गर्न सक्छन् भन्ने चुनावी परिणामले देखाएको छ । यसअघि समानुपातिक कोटाबाट सांसद बनेका महिला नेता यसपटक जनताबाट अनुमोदित भएर संघीय संसद्‌मा प्रवेश गरेका छन् । 

समानुपातिकबाट प्रत्यक्षमा फड्को मारेका ५ महिला सांसद

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा विगतमा समानुपातिक प्रणालीबाट सांसद भएकालाई फेरि सोही प्रक्रिया दोहोर्‍याएर संसद्‌ प्रवेश नगराउने निर्णय प्रमुख तीन दलले गरेका थिए । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली सुरु भएयता (२०६४ को संविधानसभा निर्वाचन) एकपटक समानुपातिक सांसद भएकालाई सोही प्रक्रियामार्फत संसद्‌मा नलैजाने निर्णय गरे । खासगरी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद भएकालाई निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा दोहोर्‍याइएन । यसको अपवाद भने रह्यो- २०७४ मा अर्कै पार्टीबाट समानुपातिक सांसद बनेका नेताले दल परिवर्तन गरेर सांसद बन्ने गरी समानुपातिकसूचीमा आफ्नो नाम लेखाए । तर‚ विगतमा समानुपातिक प्रणालीमार्फत संसद्‌मा प्रवेश गरेर संसदीय व्यवस्थाको अनुभव लिएका महिला नेताहरूले यसपटक प्रत्यक्षमा टिकट पाउँदा जित हासिल गरेका छन् । विगतमा समानुपातिकबाट सांसद बनेका महिला नेताले यसपटक पार्टी र सत्तामा प्रभावशाली भूमिका खेलिरहेका पुरुष नेताहरूलाई चुनावी मैदानमा पराजित गरेर संसद्को यात्रा तय गरेका छन् ।

दाङबाट माओवादी केन्द्रकी रेखा शर्मा, सुनसरीबाट एमालेकी भगवती चौधरी, तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङलगायतले यो चुनावमा जनताको मत जितेका छन् ।

एमालेका महासचिव, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, २०६६ मै सूचना तथा सञ्चारमन्त्री एवं सरकारको प्रवक्ता भएर काम गरिसकेका शंकर पोखरेललाई दाङ-२ को चुनावी मैदानमा पराजित गरेर माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भइन् । संविधानसभाको दोस्रो निर्वाचन २०७० मा समानुपातिक प्रणालीबाट सांसद बनेकी उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि समानुपातिक प्रणालीबाट नै संसद् प्रवेश गरेकी थिइन् । संसदीय समितिका बैठकमा समानुपातिक प्रणाली महिलाका लागि मात्रै हो जस्तो गरी अभ्यास भएको भन्दै विरोध गर्ने उनी यसपटकको निर्वाचनमा प्रत्यक्षमा पाँचदलीय गठबन्धनको उम्मेदवार बनेकी थिइन् । एमाले महासचिव रहेका पोखरेल उनका सामू 'हेभिवेट' उम्मेदवार थिए । तर‚ पोखरेललाई १ सय ९३ को मतान्तरले पराजित गर्दै शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । शर्माले २६ हजार ८ सय ८० मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८७ मत ल्याएका थिए ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ मा मनोनीतबाट संसदीय अनुभव हासिल गरेकी एमाले नेता भगवती चौधरीले सत्ताको स्वाद लिने नेताको 'उदाहरण' बनेका कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरिन् । २०६६, २०६८, २०७२, २०७३ र २०७४ मा गरी पाँचपटक उपप्रधानमन्त्री, २०५२ देखि २०५९ सम्म पटक-पटक गरी पाँचपटक मन्त्री र २०४८ देखि २०५१ सालसम्म सूचना तथा सञ्चार राज्यमन्त्री एवं कांग्रेस संसदीय दलको उपनेतासमेत बनिसकेका गच्छदारलाई चौधरीले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा पराजित गरेकी हुन् ।

२०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित हुँदा पनि हार नमानेकी चौधरीले यसपटक सोही निर्वाचन क्षेत्रबाट गच्छदारको चुनावी विजययात्रामा ५ हजार १ सय ८८ को मतान्तरले ब्रेक लगाइदिएकी छन् । चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर प्रत्यक्ष निर्वाचनबाट संसदीय यात्रा तय गर्दा गच्छदारले ३५ हजार ६ सय मतमात्र पाए ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बालाई तेह्रथुमको चुनावी मैदानमा पराजित गरेर कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् । प्रतिनिधिसभा निर्वाचन २०४८ र २०५६ मा तेह्रथुमबाट निर्वाचित, प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ समानुपातिक सदस्य रहेर कूल १५ वर्ष सांसद बनेका सुब्बालाई कांग्रेसकी गुरुङले १ हजार ७६ को मतान्तरले पराजित गरेकी हुन् । गुरुङले १९ हजार ७ सय ७ मत प्राप्त गर्दा पटक-पटक सांसद भएका एमालेका सुब्बाले भने १८ हजार ६ सय ३१ मत पाएका थिए । गुरुङ २०६४ र २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य थिइन् ।

धनुषा-३ मा एमालेकी जुलीकुमारी महतोले दुई पटक सांसद र मन्त्री भइसकेका लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता अनिलकुमार झालाई पराजित गरेर पहिलो हुने निर्वाचित हुने प्रणालीबाट संसदीय यात्रा तय गरेकी छन् । २०६४ मा समानुपातिक र २०७४ मा प्रत्यक्षबाट सांसद बनेका, दुई पटक मन्त्री भइसकेका झालाई पराजित गरेर २०६४ र २०७४ मा समानुपातिकतर्फबाट सांसदको अनुभव हासिल गरेकी महतो यसपटक भने प्रत्यक्षतर्फबाटै छानिएर आएकी हुन् । महतोले ९ हजार ७ सय २ को मतान्तरले झालाई पराजित गरेकी हुन् । महतोले ३३ हजार ३ सय ८८ मत प्राप्त गर्दा झाले २३ हजार ६ सय ८६ मत ल्याएका थिए ।

२०६४ सालको संविधानसभामा मनोनीतबाट संसदीय यात्रा थालेकी र मधेस प्रदेशसभाको सदस्यसमेत भइसकेकी एमालेकी ज्वालाकुमारी साहले यसपटक प्रत्यक्ष जनादेश ल्याएर संघीय संसद्‌मा पुगेकी छन् । उनले बारा-३ बाट जनता समाजवादी पार्टीका रामबाबु यादवलाई पराजित गर्दै पुनः संघीय संसद्‌मा पुगेकी हुन् । २०७४ मा प्रत्यक्षमा जितेर सांसद बनेका यादवलाई २ हजार ९ सय ७२ को मतान्तरले उनले पराजित गरेकी हुन् । साहले २० हजार २ सय ५१ मत ल्याएर विजयी हुँदा यादवलाई १७ हजार २ सय ७९ मत प्राप्त भएको थियो ।

प्रकाशित : मंसिर १५, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?