समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार मतगणना, कुन दलले कति पाए ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार मतगणना, कुन दलले कति पाए ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ५९ हजार ५ सय ५० मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले बिहीबार अपराह्न साढे ५ बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६६ हजार ९ सय ७६ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३५ हजार ८ सय ५२ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।

यसैगरी ११ लाख ६० हजार ८ सय ९८ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार ६ सय ३९ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८५ हजार २ सय ५७, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९ सय २४ र जनमत पार्टी ३ लाख ९४ हजार २ सय ७६ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९३ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ४६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ लाख ६७ हजार २ सय ७७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४० मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियामा ठूलो परिमाणको हातहतियारसहित एक पक्राउ

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त टोलीले अवैध हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा बाँसगढी नगरपालिका-८ बनगौडीका ५१ वर्षीय गुलराम थारुलाई बुधबार हातहतियार र सुकटीसहित बरामद गरेको निकुञ्जले जनाएको छ । थारुबाट संयुक्त सुरक्षा गस्ती टोलीले खानतलासी गर्दा भरुवा बन्दुक एक थान, नाल एक थान, गज एक थान, डेटोनेटर ८ थान, फलामको छर्रा सानो-ठूलो गरी ५ सय १५ वटा र भरुवा बन्दुकमा प्रयोग हुने गोली १ सय ४० थान बरामद गरिएको सहायक संरक्षण अधिकृत मुकुन्द सञ्जेलले बताए । उनका अनुसार थारुबाट भरुवा बन्दुकमा प्रयोग हुने छडको गोली ३५ थान, भरुवा बन्दुकमा प्रयोग हुने केप २१ थान, वन्यजन्तु चित्तलको जस्तो देखिने १ किलो सुकुटी र बँदेलको मासुजस्तो देखिने ४ थान दाह्रा बरामद गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवदुर्गा सामूदायिक वनमा हातहतियारसहित चोरी सिकार गर्न हिँडेको अवस्थामा थारुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । उनीविरुद्ध हातहतियार र चोरी सिकारी मुद्दामा कारबाही चलाइएको छ । उक्त घटनामा संलग्न केही फरार रहेका छन् ।

प्रकाशित : मंसिर १५, २०७९ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×