१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्नु हुँदैन : नेता खड्का 

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । 

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्नु हुँदैन : नेता खड्का 

कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले बिहीबार कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका हुन् । उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा गरिराख्नु नपर्ने बताए ।

‘कांग्रेसको संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ । त्यही दिशामा अगाडि बढाउने वातावरण निर्माण गर्नका लागि मेरो आफ्नो क्रियाशीलता पनि रहनेछ । सिधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँबायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन,' उनले भने ।

उपसभापति खड्काले यो बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको भन्दै दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि धारणा राखे । कांग्रेसलाई एकताबद्ध बनाउँदै सत्ता गठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे ।

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसम्मतिको वातावरण बनाउने उनको भनाइ छ ।

उनले कानुन निर्माणलाई तीव्र बनाउन र संसद्‌लाई प्रभावकारी बनाउन कांग्रेस र सत्तारुढ गठबन्धन प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : मंसिर १५, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?