१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेम्वाङको चौथो संसदीय यात्रा

लक्ष्मी गौतम

पाँचथर — पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले चौथो पटक विजय प्राप्त गरेका छन् । उनले यस पटक प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई मात्र ४६ मतान्तरले हराएका हुन् । नेम्वाङ यसअघि २०४८, २०५६ र २०७४ को संसदीय निर्वाचनमा विजयी भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा भने उनी कांग्रेसका दीपकप्रकाश बाँस्कोटासँग पराजित भएका थिए ।

नेम्वाङको चौथो संसदीय यात्रा

तत्कालीन वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका उनले २०७४ मा आङदेम्बेलाई १० हजारभन्दा धेरै मतान्तरले हराएका थिए । यस पटक उनी कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट साझा उम्मेदवार थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार नेम्वाङले ३२ हजार १ सय ३५ र आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गरे । मंसिर ९ को बिहान प्रत्यक्षतर्फको मत गणना सक्दा नेम्वाङको मत ३२ हजार १ सय १० र आङदेम्बेको ३२ हजार ६३ थियो । नेम्वाङले विजय उत्सव मनाइसकेपछि समानुपातिकका पेटिकामा प्रत्यक्षतर्फकै मतपत्र भेटिन थालेपछि विवाद हुँदा मतगणना प्रभावित भएको थियो । समानुपातिकतर्फको गणना सक्दा ती पेटिकामा भेटिएका भोटसमेत जोडेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम सार्वजनिक गर्दै मंगलबार मध्यरात नेम्वाङलाई प्रमाण पत्र दिएको छ ।

मुलुक संघीय संरचनामा जानुअघि दुइटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा त्यसअघि नेम्वाङ क्षेत्र नं. १ र आङदेम्बे २ बाट चुनावमा उठ्दै आएका थिए । राज्यको पुनःसंरचनामा पाँचथरमा प्रतिनिधिसभाका लागि एक सिट कायम भएपछि २०७४ को चुनावदेखि उनीहरूबीच प्रतिस्पर्धीका रूपमा भेट हुन थालेको हो । कांग्रेस सहमहामन्त्री आङदेम्बेलाई कांग्रेसले २०५६ को आम निर्वाचनपछि निरन्तर टिकट दिँदै आए पनि २०७० को संविधानसभा निर्वाचनबाहेक सबै चुनावमा हार्दै आएका छन् । उनी २०५६ को आम निर्वाचन र २०६४ को संविधानसभामा एमालेका डम्बरसिंह सम्वाहाम्फेसँग हारेका थिए । २०७० मा तेस्रो पटक लड्दा सम्बाहाम्फेलाई हराएर संविधानसभा सदस्य बनेका उनी पुनः नेम्वाङसँग २०७४ र २०७९ का निर्वाचनमा पराजित भएका हुन् ।

निर्वाचित नेम्वाङ एमाले अध्यक्ष केपी ओली निकट र आङदेम्बे कांग्रेस सभापति देउवा पक्षका मानिन्छन् । नेम्वाङ २०७६ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा करिब २ वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । यस पटकको निर्वाचनमा दुवैले विजयी भए शक्तिशाली मन्त्रालयको नेतृत्व पाउने भन्दै मतदातासामु भोट मागेका थिए । आङदेम्बेले यस पटक आफू अन्तिम पटक चुनाव लडेको मतदातालाई भनेका थिए । नेम्वाङको विजयले उसै पनि आङदेम्बेको राजनीतिक भविष्यसमेत संकटमा पारिदिएको टिप्पणी हुन थालेको छ ।

प्रकाशित : मंसिर १५, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?