कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

औषधि विभागले भन्यो- ‘विषाक्त रसायनको मिसावट हेरेर मात्र झोल औषधि बिक्री गर्नू’

हालसम्म गाम्बिया र इन्डोनेसियामा २०३ बालबालिकाको मृत्यु

काठमाडौँ — औषधि व्यवस्था विभागले झोल औषधिहरूमा ‘इथिलिन ग्लाइकोल’ र ‘डाइथिलिन ग्लाइकोल’ को मिसावट भएका औषधिहरू बिक्री वितरण नगर्न सबै उत्पादक तथा पैठारीकर्ताहरूलाई निर्देशन दिएको छ । 

औषधि विभागले भन्यो- ‘विषाक्त रसायनको मिसावट हेरेर मात्र झोल औषधि बिक्री गर्नू’

बालबालिकाहरूका प्रयोग हुने झोल औषधिहरूमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको अनिवार्य यकिन गरेर मात्रै बिक्री वितरण गर्न सूचना जारी गरेको हो । विभागले ‘प्रोपिलिन ग्लाइकोल’, ‘पोलिथिलिन ग्लाइकोल’,‘सोर्बिटोल’ र ‘ग्लिसरिन/ग्लिसरोल’ जस्ता सहायक कच्चा पदार्थहरू प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने विशेष गरी झोल बनावटका औषधिहरूमा मिसावट नभएको यकिन गरी मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।

गाम्बिया तथा इन्डोनेसियालगायत देशहरूमा बालबालिकाहरूमा प्रयोग हुने झोल बनावटका औषधिहरूमा ती विषाक्त रसायनयुक्त मिसावटका कारणबाट बालबालिकाहरुको मिर्गौलामा गम्भीर असर भई मृत्यु भएको रिपोर्ट आइसकेका छन् ।

इन्डोनेसियामा १३३ र गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ । मृत्यु भएका बालबालिकाहरू अधिकांश ५ वर्षभन्दा कम उमेर समूहका रहेका छन् । यी बालबालिकाहरूमा कफ सिरपकै कारण मिर्गौलामा गम्भीर असर देखिएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि कफ सिरप तथा झोल औषधिकै कारण मिर्गौलामा गम्भीर असर गरी मृत्यु नै हुन सक्ने चेतावनी दिँदै औषधि तथा सिरप सिफारिस नगर्न सूचना जारी गरिसकेको छ । प्रतिबन्धित कफ सिरपहरूमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ रहेका छन् ।

विभागले भने ती ४ वटा कफ सरपहरू ती उत्पादक तथा सोका उत्पादनहरू विभागमा दर्ता नभएको जनाएको छ ।

यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडद्वारा हरयानामा बनेका हुन् । ती सिरपहरूमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलजस्ता पदार्थ ‘अस्वीकार्य मात्रा’ मा भेटिएको पुष्टि भइसकेको छ । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल मानव स्वास्थ्यका लागि विषाक्त हुन्छन् । यसले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन हुने र मिर्गौलामा गम्भीर असर पर्न गई मृत्यु हुन सक्छ ।

प्रकाशित : मंसिर १५, २०७९ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?