दोलखाका १० मतदान केन्द्रमा मतदान जारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

रासस

काठमाडौँ — दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । ती मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेको उनले जानकारी दिए ।

निर्वाचन आयोगको यही मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित : मंसिर १५, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

मत परिणामलाई कसरी हेर्ने ?

जनमनमा बढ्दो उमेर र विचारमा नवीनतम सोच ल्याउने राजनीतिप्रतिको चाहना बुझेर काम गर्न दलहरूले अबचाहिँ ढिलो गर्न हुन्न ।
इन्द्र अधिकारी

आम चुनावका मत परिणामहरू आउने क्रम जारी नै छ । अरूले भन्दा धेरै मत ल्याउनेले जित्ने अर्थात् प्रत्यक्ष भनिने प्रणाली अन्तर्गतका १६५ सिटका रुझानहरूलाई लिएर कुन दल कति लोकप्रिय, कुन दलका मतदाताले कता मत दिए होलान् भन्नेजस्ता अडकलहरू काट्न थालिएका छन् ।

एमालेलाई अहिलेको नतिजाले झस्काएको छ, तर विषम परिस्थितिमा पनि बाह्य जगत् र मतदातालाई सकारात्मक सन्देश दिन खप्पिस उक्त दल अहिलेको नतिजालाई आफ्नो पक्षमा रहेको देखाउने प्रयोजनका लागि नयाँ भाष्य गढ्न उद्यत छ । कांग्रेस र माओवादी आफ्ना मतदाता र समर्थकहरूलाई दलको भविष्यबारे कसरी सकारात्मक बनाइराख्ने भन्नेतिर खासै काम गर्ने मुडमा देखिन्नन् । चुनाव नतिजालाई कतिपय दल र नेताकै आँखाबाट नभई नेपाल स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीजस्ता नयाँ दलहरूले कसरी त्यत्रो जनादेश पाए; यसको असर कुनकुन दललाई पर्‍यो; समग्रमा एमाले, कांग्रेस र माओवादीलाई उनीहरूका मतदाता र आम नागरिकले के सन्देश दिएका छन् एवं यी सन्देशलाई ती दलले सहजै बुझ्न सक्लान् या सक्दैनन् भन्ने दृष्टिकोणबाट हेर्न सकिन्छ ।

पहिलो, अघिल्लो चुनावमा भन्दा यस पटक २५ लाख ६० हजार ६३२ नयाँ मतदाता थपिएका थिए । नयाँ दलहरूले त्यो संख्याभन्दा थप २ लाख मत लिइसकेको देखिन्छ । नयाँले सबै नयाँ नै छाने होलान् भन्ने अनुमान गर्न त नसकिएला, किनभने तिनले कम–से–कम राम्रै संख्यामा ती नयाँ मतदातालाई निर्वाचन आयोगको कार्यालयसम्म पुर्‍याउन राम्रै कसरत गरेका हुन्छन् । तर त्यसको ठूलो हिस्साले कि प्रत्यक्षमा कि समानुपातिकमा गरेर कम–से–कम एक भोट त्यहाँको ‘युवा’ उम्मेदवार वा नयाँ दललाई दिएको छ । त्यस्तै, यस पटक राम्रै संख्यामा पाका मतदाताले पनि नयाँ दल र नयाँ उम्मेदवारलाई छानेको देखिएको छ । एउटा अनुमान के गर्न सकिन्छ भने, नयाँ नाम दर्ता गरेकामध्ये मतदानमा सहभागी हुनेको संख्या पुराना मतदाताभन्दा तुलनात्मक रूपमा बढी अवश्य भयो । यसको मतलब अघिल्लो आम निर्वाचनमा मत हालेका करिब ७ देखि ८ प्रतिशत नागरिकले यसपालिको मतदानमा भाग लिएनन् । त्यस्ता नागरिक मतदानमा किन गएनन्, गएका भए कुन दललाई मत हाल्थे होलान् त भन्नेजस्ता विषय पनि चोकचोकमा छलफलमा छन् । केही महिनाअघिको स्थानीय तह निर्वाचनको परिणाम, अघिल्लो निर्वाचनको तुलना र यस निर्वाचनको सुरुआती चरणदेखि मौन अवधिसम्म देखिएका दलीय परिचालनले केचाहिँ अवश्य भनेको छ भने, यस पटक मतदानमा सहभागी नहुनेमध्ये धेरै सत्ता गठबन्धनका, मुख्य रूपमा कांग्रेसका र त्यसपश्चात् माओवादीका मतदाता रहेछन् ।

गठबन्धन दलका मतदाताबाटै समानुपातिकको अवमूल्यन

मौन अवधि सुरु हुने दिन राजधानीको नजिक तर नुवाकोट सदरमुकामबाट अलिक टाढा रहेको एउटा गाउँमा पुग्दा त्यहाँ स्थानीय तह चुनावमा पालिका उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी रहेकी कांग्रेस नेत्री भन्दै थिइन्, ‘हाम्रामा त समानुपातिकमा समेत मत कसलाई दिने भन्नेमा मतदातामा अन्योल छ । मतदाताका घरदैलो गरेर समानुपातिकमा उम्मेदवार मै हुँ भन्नसमेत कोही आएकै छैनन् ।’ परिणाम पनि त्यस्तै आयो । यसअघिको वाम गठबन्धन हुँदा कांग्रेस पहिलो सशक्त दल भएको, गत स्थानीय तह चुनावमा कांग्रेस पहिलो र माओवादी दोस्रोमा रहेको अनि उनी आफैं मतदाता भएको त्यस क्षेत्रमा जब संघीय संसद् र प्रदेशसभा दुइटैमा सत्ता गठबन्धनका माओवादी नेताहरूलाई उम्मेदवारी मिल्यो, आमसभा र घरदैलोमा प्रत्यक्षकै उम्मेदवारसँग हँसिया हथौडा चिह्न साथ लिएर जानुपर्ने उनको बाध्यता रह्यो । परिणामतः, समानुपातिक मतमा यसपालि एमालेभन्दा झन्डै ७ सय मत कमसहित कांग्रेस दोस्रोमा रह्यो । सोही जिल्लाको अर्को निर्वाचन क्षेत्र — जुन कांग्रेसका लागि त्योभन्दा कमजोर देखिँदै आएको थियो — मा कांग्रेसका उम्मेदवार संघीय संसद्मा उठ्नाले समानुपातिकमा पनि एमालेभन्दा झन्डै २ हजार मत धेरै ल्याएर पहिलो बन्यो । यी तथ्यहरूले दुईवटा अवस्था बताइरहेका छन् । पहिलो, गठबन्धनका नाममा संघमा प्रत्यक्षमा अर्को चुनाव चिह्नका लागि मत मागेर समानुपातिकमा चाहिँ आफूलाई देऊ भन्न त्यति सहज नहुने । अर्को, प्रत्यक्षमा दुवै मत अन्य दललाई दिनुपर्दा, राजनीतिमा रुचि राख्नेहरू नै पनि समानुपातिकमा मात्र मत हाल्न कम परिचालित भइदिने अर्थात् सबै मतदातालाई मतदान केन्द्रसम्म लैजान नसकिने ।

उदाहरणका लागि, काठमाडौं उपत्यकामा जहाँजहाँ काग्रेसका उम्मेदवारहरूले संघीय संसद्मा टिकट पाए, क्षेत्र नम्बर ५ र ६ मा बाहेक अन्यत्र समानुपातिक मत सबैभन्दा बढी कांग्रेसले पाएको छ । उम्मेदवार नभएका क्षेत्र नम्बर २ मा चौथो, ७ मा तेस्रो, ८ मा चौथो र ९ मा तेस्रो स्थानमा रहने गरी कांग्रेसले मत ल्याएको छ । कांग्रेसले संघीय संसद्मा उम्मेदवारी पाएको ललितपुर १ मा समानुपातिकमा पहिलो स्थानको मत पाइरहँदा समाजवादी र माओवादीका उम्मेदवार भएका अरू दुई क्षेत्रमा समानुपातिकमा कांग्रेस क्रमशः तेस्रो र चौथो भएको छ । कतै समानुपातिक उम्मेदवारहरू मनले नखाने खालका देखिएर त होइन भन्ने प्रश्न उठेको भए पनि प्रत्यक्ष उम्मेदवारसँग समानुपातिकको मत जोडिएर आएको यो शृंखलाबाट मतदाताहरूमा अहिले पनि समानुपातिकमा हालेको मतले संसद् र भविष्यको सरकार गठन या विघटनमा प्रत्यक्ष निर्वाचनबाट चुनिएकाको जस्तै भूमिका राख्ने सदस्य चयन हुने हो भन्नेमा विश्वास नभएको देखियो । अर्थात्, समानुपातिक निर्वाचन प्रणाली र त्यसका सबल पक्षबारे दलहरू जनतामा जान सकेनछन् । संसद्लाई समावेशी बनाउन कुनै क्लस्टरको बढी र कुनैको घटी प्रतिनिधित्वबाहेक समानुपातिकमा पनि जनताले दलहरूले निर्वाचन आयोगमा पठाएको उम्मेदवार सूचीलाई नै अनुमोदन गरेर सांसद बनाउने हो, त्यसैले प्रत्यक्षमा आफूले मन पराएको दलको उम्मेदवार नहुँदैमा समानुपातिकमा पनि मत नहाल्दा त्यसको फाइदा विपक्षीलाई नै हुन्छ भन्ने कुरा सत्ता गठबन्धनका शुभेच्छुकहरूलाई बुझाउन ती दलले सकेनछन् ।

जित्ने दम्भबीच मतदातामा अन्योल र निराशा

यस पटक सत्ता गठबन्धनविरुद्ध सुरुमा बनाइएको ‘यो शक्ति सैद्धान्तिक विचलनको उभार हो’ भन्ने भाष्यलाई राष्ट्रिय रूपमा नचिर्दा एकातिर आम मतदातासम्मले त्यही प्रश्न गरिरहेका थिए भने अर्कातिर केही समयअघिको स्थानीय तह चुनावको मतलाई हेरेर उत्साहित उम्मेदवार र तिनका कार्यकर्ताहरू केही मतदाता नआउँदैमा निर्वाचन नहारिने भन्दै ढुक्क भए । ‘गठबन्धनका कारण जितिहालिन्छ, किन अरू बेलाजस्तो मिहिनेत गर्नु र’ भन्ने खालका भनाइ उम्मेदवार र तिनका निकटस्थहरूबाट आइदिँदा उम्मेदवारलाई घुर्काएर अलिक महत्त्व पाउने आशामा रहेकाहरूले यस पटक सोचेजति भाउ पाएनन् । परिणामतः, मानिसहरू अलि अघिल्ला चुनावहरूमा झैं उत्साहका साथ कार्यक्षेत्रबाट थाकथलो फर्किएनन्; गाउँघरमै भएका सबै पनि बुथसम्म गएनन् । कतिपयले लोकाचार निभाएर मतदान गरी फर्के पनि कतिपय त चुनावको मुखमा गाउँसमेत छाडेर चुपचाप अन्यत्र गएको देखियो । कार्यकर्ता मात्र होइन, गठबन्धनमा झुकाव राख्ने मतदाताहरूमा समेत देखिएको यस्तो रबैयाका कारण समानुपातिक मतमा राम्रै असर देखियो ।

निर्वाचन परिचालन र गठबन्धन

चुनाव परिचालनको समग्रता हेर्दा, राप्रपा, नेपाल स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र केपी ओलीले यस पटक यसमा कुनै कसर बाँकी नराखेको देखियो । कांग्रेस र माओवादीका नेताहरू त आआफ्नै निर्वाचन क्षेत्रमा सीमित रहे । भाष्य बनाउन सक्नेहरू जब क्षेत्रकेन्द्रित रहे, चुनाव नै कसले हाँक्यो भनेर सोध्नुपर्ने अवस्था आयो । संसदीय दलमा चुनाव लड्ने चाहना व्यक्त गरेका कारण गगन थापालाई मुख्य क्याम्पेनर बनाउन नसके पनि कम–से–कम विश्वप्रकाश शर्मालाई त्यसका लागि तयार गरिएको भए नयाँ मतदातालाई आकर्षण गर्न मात्र होइन, सत्ता गठबन्धनविरुद्ध सशक्त रूपमा ल्याइएको भाष्य चिर्न पनि सफलता मिल्न सक्थ्यो । डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल लगायतलाई पनि टिकट नदिइएको भन्ने हल्ला मच्चाउनुभन्दा, यस पटक चुनावका सारथि चाहिएकाले बाहिर बस्न अनुरोध गरिएको हो भन्न सकेको भए उनीहरूले देश दौडाहा गरेर गरेको प्रयासले केही परिणाम दिन सक्थ्यो होला, तर त्यस्तो भएन । पुराना दलहरू काम नलाग्ने भए भन्दै भाष्य बनाउनेहरू उद्यत भइरहँदा दलले टिकट नदिएकाहरू स्वस्फूर्त रूपमा परिचालित हुनुले उनीहरूका कुरा जनताले पत्याउने आधारै रहेन ।

चुनाव परिणामलाई कसरी हेर्ने ?

२०५१ र २०७० सालमा समेत राम्रै मत पाइसकेको राप्रपाको यस पालिको मत नयाँ नेतृत्वमार्फत भएको ‘रिभाइवल’ को हो भन्न सकिन्छ । नेपाल स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका सन्दर्भमा चाहिँ मुख्य दलहरूविरुद्ध बनाइएको बलियो भाष्यको परिणाम हो त्यो । मतगणना अन्तिम चरणमा पुगिसक्दा यसअघिका सबै राष्ट्रिय दलको मतमा ५ देखि ७ प्रतिशतले गिरावट आएको देखिन्छ । जहाँसम्म मुख्य तीन दल एमाले, कांग्रेस र माओवादीको जनमतको कुरा छ, माथि उल्लेख गरिएझैं मतदाता प्रत्यक्षका उम्मेदवारकेन्द्रित मनोभावमा रहेकाले अहिले प्राविधिक रूपमा अरूभन्दा धेरै अर्थात् झन्डै २७ प्रतिशत मत ल्याएर एक नम्बर नै देखिइरहँदा पनि एमालेको मत यस पटक कांग्रेस र माओवादीका तुलनामा राम्रै संख्यामा घटेको छ । जनमत प्रत्यक्षका उम्मेदवारकेन्द्रित देखिइरहँदा एमालेले संघीय संसद्का १४१ स्थानमा उम्मेदवारी दिएको थियो भने कांग्रेसले जम्मा ९१ अनि माओवादीले ४७ स्थानमा मात्र । मतलब, दलविशेषको शुभेच्छुक भए पनि प्रत्यक्षमा उम्मेदवार नपाएपश्चात् समानुपातिकमा मात्र मतदान गर्न नजानेहरू एमालेका सन्दर्भमा २२–२४ क्षेत्रमा थिए भने, कांग्रेसका मतदाताहरू ७२–७४ क्षेत्र र माओवादीका ११७–११८ निर्वाचन क्षेत्रमा मतदानमै नगएको परिस्थिति देखियो । त्यस्तै, यस पटक एमाले नै एक मात्र दल थियो, जसका अध्यक्षले हेलिकप्टरमा देश दौडाह गरे र आफ्ना बचेका कार्यकर्तालाई बहुमतको सपना देखाउँदै र सकेजति उत्साहित गरेर मतदान केन्द्रसम्म लैजान सफल भए । गर्न सक्ने र मिल्ने सबै पहलबीच एमालेले जुन मत समानुपातिकमा पायो, त्यसले ओलीका तुक्काहरू सुनेर आकर्षित हुने मत बिस्तारै घट्दो क्रममा छ ।

अन्त्यमा, यसपालि काम नलागेका अर्थात् मतदान केन्द्रमा पुगेर मत पनि नहाल्नेलाई समर्थक भनिरहने कि नभन्ने भन्ने प्रश्नलाई थाती राखेर हेर्ने हो भने कांग्रेस र माओवादीका हकमा यो परिणाम एमालेको भन्दा अलिक उत्साहित देखिन्छ । मतदान गर्न नगएका र हैसियत अनुसार स्वयं आफूलाई परिचालन नगरेकाहरू नै अहिले मतगणनामा कांग्रेस नेतृत्वको गठबन्धनको राम्रो परिणामको अपेक्षा गरिरहेका छन् । यसबाट के भन्न सकिन्छ भने, कांग्रेस र माओवादीले मतदातामा आफ्नो आधार अझै गुमाइसकेका छैनन्, र भोलि एक्लै चुनावमा जाँदा यसपालि मतदान केन्द्र जान नचाहेका समर्थकको साथ पाउने सम्भावना अझै छ । त्यसका लागि केही समयदेखि जनमनमा बढ्दो उमेर र विचारमा नवीनतम सोच ल्याउने राजनीतिप्रतिको चाहना बुझेर काम गर्न दलहरूले अबचाहिँ ढिलो गर्न हुन्न ।

प्रकाशित : मंसिर १५, २०७९ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×