१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मधेसका मतदाताले नेतृत्व बदले

केही मतदाता एमाले, कांग्रेसजस्ता परम्परागत पार्टीतर्फ फर्किएका छन् भने केही जनमतजस्तो नयाँ दलतिर आकर्षित भएका छन्
तुफान न्यौपाने

काठमाडौँ — मधेस प्रदेशसभाका प्रत्यक्षतर्फका ६४ सिटमध्ये यस पटक जनमत पार्टीका ६ उम्मेदवारले जितेका छन् । प्रत्यक्षतर्फ करिब १० प्रतिशत सिट जितेको जनमतले प्रदेशसभामा समानुपातिक प्रणालीबाट त्यसभन्दा उल्लेखनीय उपस्थिति जनाउँदै छ । निर्वाचन आयोगले बुधबार रातिसम्म सकेको गणनामा मधेसको २० लाख २० हजार मतमा जनमत पार्टीले तीन लाख सात हजार ल्याएको छ ।

मधेसका मतदाताले नेतृत्व बदले

प्रदेशसभामा जनमतले समानुपातिकतर्फ ल्याएको करिब १५ प्रतिशत प्रदेशसभामा कांग्रेस र एमालेपछिको तेस्रो धेरै हो । पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मका ८ जिल्ला समेटिएको मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टीले ल्याएको मत विश्लेषण गर्दा रोचक तस्बिर देखिन्छ । जस्तो, जनमतको प्रभाव मधेसका पश्चिमका जिल्लाभन्दा पूर्वी जिल्लाहरूमा ज्यादा छ । अध्यक्ष राउतले सप्तरी–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई हराए ।

सप्तरी–२ का प्रदेशसभातर्फका दुवै क्षेत्रमा पनि जनमतका उम्मेदवार विजयी भए । प्रतिनिधिसभामा सप्तरी–१ मा जनमत पार्टीका उम्मेदवार दोस्रो भए भने सप्तरी–३ र ४ मा तेस्रो भए । जनमतले प्रदेशसभामा जितेका ६ सिटमध्ये ४ वटा सप्तरीकै हुन् । प्रदेशसभातर्फ सप्तरीका बाँकी ३ क्षेत्रमा जनमतका उम्मेदवार दोस्रो र एउटा क्षेत्रमा तेस्रो भएका छन् । जारी मतगणनाअनुसार यो पार्टी समानुपातिकतर्फ सप्तरीमा पहिलो छ । प्रतिनिधिसभाका लागि ७७ हजार र प्रदेशसभाका लागि ६५ हजार मतसहित जनमतले सप्तरीमा अरू दललाई पछाडि छाडेको छ ।

जनमतको सघन प्रभाव सप्तरीपछि सिरहामा देखिन्छ । सिरहामा प्रतिनिधिसभातर्फका उम्मेदवार तेस्रो नम्बरमा रहेका देखिन्छन्, प्रदेशसभातर्फ २ जना निर्वाचित छन् । प्रदेशसभामा समानुपातिकतर्फ सिरहामा पहिलो रहेको जनमत प्रतिनिधिसभाको समानुपातिकमा एमालेपछिको दोस्रो नम्बरमा छ । सिरहाबाट क्रमशः पश्चिम लाग्दा जनमत पार्टीको प्रभाव घट्दै गएको देखिन्छ । धनुषा र महोत्तरीमा समानुपातिकतर्फ तेस्रो स्थानमा छ । प्रदेशसभामा जनमतका उम्मेदवार ६ सिटमा निर्वाचित, चार सिटमा दोस्रो र १९ सिटमा तेस्रो भएका छन् । तेस्रो भएका उम्मेदवारहरू धनुषा र त्यस पश्चिमका हुन् । जनमत पार्टीले प्रदेशसभामा जितेका सप्तरी र सिरहाका ६ सिटमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तीन, तत्कालीन संघीय समाजवादी फोरमका दुई र माओवादी केन्द्रका एक सिट हुन् ।

मधेसमा जनमत पार्टी उदाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सबैभन्दा धेरै नोक्सान भएको छ । जनमतले प्रदेशसभामा जितेका सिटमध्ये अधिकांश यसअघि राजपा (हालको लोसपा) ले जितेका सिट हुन् । निर्वाचनले मधेसमा लोसपालाई अघिल्लो निर्वाचनको तुलनामा आधाभन्दा सानो बनाइदिएको छ । यसअघि प्रदेशसभामा १५ सिट जितेको लोसपा यसपालि ७ मा सीमित हुन पुगेको छ । अघिल्लो निर्वाचनका ८ क्षेत्र गुमाएको लोसपा नयाँ क्षेत्रमा आफूलाई विस्तार गर्न असफल रह्यो ।

राजपाले गुमाएका ८ क्षेत्रमध्ये जनमत पार्टीले सबैभन्दा बढी तीन वटा (सप्तरी १–२, सप्तरी २–२ र सप्तरी ३–२) क्षेत्र लिएको छ । त्यसपछि कांग्रेसले दुई क्षेत्र (सर्लाही २–१ र रौतहट १–१) तथा जसपा (बारा १–२, एमाले (धनुषा ३–२) र स्वतन्त्र उम्मेदवार (महोत्तरी २–२) ले एक–एक सिट जितेका छन् । लोसपाले २०७४ मा मधेसबाट प्रतिनिधिसभामा १० सिट जितेकामा अहिले तीन वटा (महोत्तरी–२ र ३ तथा सर्लाही–१) मा मात्र सीमित भयो । प्रतिनिधिसभामा लोसपाले गुमाएका सात क्षेत्रमध्ये कांग्रेसले दुइटा (सिरहा–४ र पर्सा–४), एकीकृत समाजवादीले दुइटा (रौतहट–१, बारा–४) तथा एमाले (महोत्तरी–२), माओवादी (सिर्लाही–२) र जसपा (धनुषा–३) ले एक/एक वटा सिट जितेका छन् ।

लोसपापछि मधेसमा गुमाउने अर्को प्रमुख पार्टी जसपा हो । प्रदेशसभामा ०७४ मा २० सिट जितेको जसपाले अहिले पुराना सिटमध्ये ६ वटा मात्रै जित्यो । तीन वटा नयाँ क्षेत्रमा जितेकाले जसपा ९ सिटमा पुगेको छ । जसपाले गुमाएका १४ सिटलाई कांग्रेस (४ सिट), एमाले (३ सिट), जनमत (२ सिट), स्वतन्त्र उम्मेदवार (तीन सिट), माओवादी (एक सिट) र एकीकृत समाजवादी (१ सिट) ले बाँडेका छन् । जसपाले यसपालि जितेकामध्ये तीन वटा नयाँ क्षेत्र एमाले (सिरहा १–१), राजपा (बारा १–२) र स्वतन्त्र उम्मेदवार (रौतहट ४–२) बाट खोसेको हो । तर, अघिल्लो पटक जितेकामध्ये प्रदेशसभाका १४ क्षेत्र भने जसपाले गुमाएको छ ।

माओवादीले पनि मधेसमा यस पटक ठूलो क्षति बेहोरेको छ । प्रतिनिधिसभामा अघिल्लो पटक जितेका ५ वटै क्षेत्र (सिरहा–२, धनुषा–१, महोत्तरी–१, सर्लाही–३ र रौतहट–३) यस पटक माओवादीले गुमाउन पुग्यो । प्रतिनिधिसभामा माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महेन्द्र यादवले मात्र (सर्लाही–२) मा जिते ।

गत निर्वाचनमा प्रदेशसभामा जितेका ६ क्षेत्रमध्ये माओवादीले एक मात्र (महोत्तरीका १–२) जोगायो । कांग्रेस र लोसपासँगको गठबन्धनबाट प्रदेशसभामा माओवादीले तीन नयाँ क्षेत्र (सर्लाही ४–२, रौतहट ४–१ र पर्सा १–१) प्राप्त गर्‍यो । माओवादीले अघिल्लो पटक जितेकामध्ये तीन क्षेत्र एमालेलाई (सिरहा ३–१, धनुषा १–२ र बारा ३–१), कांग्रेसलाई एक (रौतहट ३–२) र जनमत पार्टीलाई एक क्षेत्र (सिरहा ३–१) सुम्पियो ।

एमाले फुटेर बनेको नयाँ दल एकीकृत समाजवादीले मधेसमा प्रतिनिधिसभातर्फ दुई (रौतहट–१ र बारा–४) सिट प्राप्त गरेको छ भने प्रदेशसभामा चार सिट (सप्तरी ४–१, सिरहा ३–२, सर्लाही १–२ र रौतहट २–२) जितेको छ । यीमध्ये रौतहटको क्षेत्र तत्कालीन संघीय समाजवादी फोरम र बाँकी तीन क्षेत्र एमालेले यसअघि जितेका क्षेत्र हुन् ।

यो निर्वाचनबाट मधेसमा सबैभन्दा बढी लाभ एमालेलाई मिलेको देखिन्छ । वाम गठबन्धन र पार्टी एकीकृत रहेको अवस्थामा भएको निर्वाचनमा २०७४ मा एमालेले प्रतिनिधिसभामा केवल दुई क्षेत्र (सिरहा–३ र धनुषा–४) जितेकोमा अहिले थप सात क्षेत्रमा आफूलाई पुर्‍याएको छ ।

नयाँ जितेका सात क्षेत्रमध्ये एमालेले माओवादी (सर्लाही–३ र महोत्तरी–१), कांग्रेस (सिरहा–१ र बारा–१) र तत्कालीन संघीय समाजवादी फोरम (बारा–३ र पर्सा–३) बाट दुई–दुई तथा तत्कालीन राजपाबाट एक (धनुषा–३) फुत्काएको हो । मधेसका ३२ मध्ये एमालेले ९ वटा जित्दा करिब २८ प्रतिशत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको छ । एमालेको यस्तो सफलता प्रदेशसभामा पनि देखिन्छ । प्रदेशसभामा एमालेले अघिल्लो निर्वाचनमा १४ वटा जितेकोमा अहिले एक्लै १५ सिट जितेको छ । पुराना सात सिट जोगाएको एमालेले ८ नयाँ क्षेत्रमा एमालेले पाइला टेकेको हो ।

मधेसमा यो चुनावको लाभ कांग्रेसलाई पनि मिलेको छ । प्रतिनिधिसभामा अघिल्लो चुनावमा ६ सिट जितेको कांग्रेसले यस पटक एक सिट बढायो । यसअघिका ६ मध्ये दुई सिट मात्र (सप्तरी–४ र रौतहट–४) जोगाएको कांग्रेसले प्रतिनिधिसभाका ५ नयाँ क्षेत्र (सप्तरी–३, धनुषा–२, महोत्तरी–४, पर्सा–२ र पर्सा–४) मा आफूलाई पुर्‍याएको हो । अघिल्लो पटक ८ प्रदेशसभा मात्र जितेको कांग्रेस अहिले प्रदेशसभामा पनि १३ स्थानमा पुगेको छ । पुराना ८ मध्ये ५ सिट जोगाएको कांग्रेसले ८ नयाँ क्षेत्रमा आफूलाई फैलाएको हो ।

मधेस प्रदेशमा सक्रिय ६ दलको उपस्थितिलाई क्षेत्रगत रूपमा केलाउँदा रोचको तस्बिर देखिन्छ । राउतले नयाँ स्थापना गरेको जनमत पार्टीले मधेसका पूर्वी जिल्लाहरू खासगरी सप्तरी र सिरहामा प्रभावशाली उपस्थिति जनाएको छ । जनकपुर र महोत्तरीमा समेत राम्रै मत लिएको भए पनि त्यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा उसका उम्मेदवारहरू निर्वाचित हुन सकेका छैनन् । त्यसभन्दा पश्चिम आउँदा उक्त पार्टीले प्राप्त गरेको भोट क्रमशः घट्दो देखिन्छ ।

जनकपुरमा केन्द्रीय कार्यालय स्थापना गरेर आफ्नो सक्रियताअघि बढाएका राउतका गतिविधि मधेसका पश्चिम जिल्लाका तुलनामा पूर्वमा केन्द्रित थिए । सप्तरी र सिरहा जिल्ला पहिलेदेखि नै आन्दोलन र विद्रोहको केन्द्रका रूपमा रहेका छन् । सिरहाको लहान मधेस आन्दोलनको उद्गमका रूपमा रहेको छ । यी जिल्ला मधेसमा दलित आन्दोलनको पनि केन्द्रबिन्दु हुन् । त्यसकारण राउत नेतृत्वको प्रभाव पनि यी दुई जिल्लामा बढी परेको हुन सक्छ ।

लोसपाको प्रभाव महोत्तरीमा धेरै देखिन्छ । प्रतिनिधिसभामा लोसपाले जितेका तीनमध्ये दुई सिट र प्रदेशसभामा जितेका ७ मध्ये तीन सिट महोत्तरीबाटै हो । मधेसका उच्च जातको सहानुभूति र प्रतिनिधित्व रहेको लोसपालाई ती जातिको प्रभुत्व भएको क्षेत्रबाट बढी मत आएको बताइन्छ । मधेसका यादव, मुस्लिम तथा दलित समुदायको भोट पाउँदै आएको जसपालाई अहिले जनमत पार्टीले प्रमुख चुनौती दिइरहेको देखिन्छ । जनकपुर निवासी लेखक रोशन जनकपुरी मधेसको निर्वाचनमा ‘जात फ्याक्टर’ सधैं प्रभावशाली रहँदै आएको बताउँछन् । ‘जात फ्याक्टर सामाजिक अन्तरविरोधका रूपमा निर्वाचनमा प्रकट हुन्छ,’ उनले भने, ‘तर, अहिलेको निर्वाचन त्यसमा मात्र सीमित छन् । मधेसी जनताले आफ्नो फ्रस्टेसन दुई तरिकाले व्यक्त गरेका छन् । एक थरी मतदाता नयाँ जनमत पार्टीप्रति आकर्षित भएको देखियो भने अर्कोतर्फ केही मतदाता परम्परागत दलतिर पनि फर्किए ।’

मधेसमा कांग्रेस र एमालेको परम्परागत प्रभाव मधेस आन्दोलनका कारणले कमजोर भएको थियो । अहिले न मधेस आन्दोलनको रापताप बचेको छ, न उक्त आन्दोलनबाट उदाएका पार्टीहरूले नै मधेसका समस्याको उचित प्रतिनिधित्व गर्न सकेका छन् । ‘त्यसैले आन्दोलनबाट अन्यत्र लागेका मतदाता पुरानैमा फर्कन थालेका छन्,’ जनकपुरीले भने ।

वीरगन्जका पत्रकार चन्द्रकिशोर मधेसमा मतदाताले कांग्रेस–एमालेजस्ता पुराना दललाई मैदानमा फर्कने मौका दिएको र मधेसमा स्थापित दलहरूको यथास्थितिमा अर्धविराम लगाइदिएको बताउँछन् । ‘मधेसी दलका लागि यथास्थितिको राजनीति अब चन्दैन भन्ने स्पष्ट सन्देश निर्वाचनले दिएको छ,’ उनले भने, ‘कांग्रेस–एमालेजस्ता पुराना दलले आफूलाई सुधार गर्ने र मधेससँग जोडिने मौका पाएका छन् ।’

साथै मधेसले यसअघि परीक्षित भइनसकेका सीके राउतलाई एक मौका दिएको पनि चन्द्रकिशोरको विश्लेषण छ । ‘रवि लामिछाने वा बालेन शाहभन्दा फरक रूपमा राउतले आफूलाई संघीयताको पक्षमा देखाएका छन्, त्यो सकारात्मक छ । तर, उनको परीक्षण बाँकी छ,’ भन्छन्, ‘उनका बारेमा जानकारीभन्दा ज्यादा मिथ छ । त्यसैले उनले अहिले पाएको अवसरलाई कसरी उपयोग गर्छन् भन्ने प्रमुख कुरा हो ।’

प्रकाशित : मंसिर १५, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?