कांग्रेसमा शक्ति संघर्ष सुरु- समाचार - कान्तिपुर समाचार

कांग्रेसमा शक्ति संघर्ष सुरु

दलको नेता चुनिने सहज वातावरण बनाउन पार्टीभित्र विभिन्न गुट चलाएका नेता र निर्वाचित भएर आएका सांसदलाई फकाउँदै देउवा, आफ्नो पक्षमा समर्थन जुटाउन दौडधुपमा पौडेल, शेखरलाई कुर्दै गगन
कुलचन्द्र न्यौपाने

काठमाडौँ — गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व लिन कसरत गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अभिभावकको भूमिकामा राख्नुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाब बढाउन थालेका छन् । शर्माले थापालाई संसदीय दलको नेता र त्यसपछि प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइसकेका छन् ।

‘म गगनलाई सांसद निर्वाचित भएकामा मात्र होइन, संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि शुभकामना दिन काठमाडौं आएको हुँ,’ मंगलबार थापालाई भेटेर बुधबारै गृहनगर झापा फर्केका शर्माले भने, ‘परिवर्तनको अभियान प्रारम्भ भइसकेको छ । यसलाई निर्णायक बनाउन सबैको शालीन सक्रियता, परिपक्व संवाद र विवेकपूर्ण भूमिका अपेक्षित छ ।’

प्रत्यक्षतर्फको प्रतिस्पर्धामा पराजित हुनेहरू अधिकांश आफ्नो पक्षका रहेका र संसदीय दलको नेताको निर्वाचनमा गोप्य मतदान हुने भएकाले थापाको चुनौतीलाई देउवाले पनि सामान्य ढंगले लिएका छैनन् । निर्वाचनको सबै परिणाम नआउँदै सरकार निर्माणका लागि गठबन्धनका सहयात्री दलसँग गृहकार्य गरिरहेका देउवाले दलको नेता चुनिने सहज वातावरण बनाउन पार्टीभित्र विभिन्न गुट चलाएका नेता र निर्वाचित भएर आएका सांसदलाई फकाउन थालेका छन् ।

पार्टीको १४ औं महाधिवेशनका बेला प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला मात्रै होइन, पार्टी सभापतिमा मुख्य प्रतिस्पर्धी रहेका शेखर कोइरालालाई समेत आफ्नो पक्षमा पार्ने प्रयासमा देउवा रहेको कांग्रेस नेताहरू बताउँछन् । आफ्नै टिमबाट महामन्त्री जितेका थापा संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धाका लागि आक्रामक ढंगले अघि बढिरहँदा शेखरले मौनता राखिरहेका छन् । उनी आफैं दलको नेतामा प्रतिस्पर्धा गर्ने वा गगनलाई अघि सार्ने भन्ने निर्णय शेखरले गरेका छैनन् । ‘अझै सबै परिणाम आएको छैन, काठमाडौं आएपछि सभापति र गगनजीसँग छलफल गर्छु, त्यसपछि कसरी अघि बढ्ने सोचौंला, अहिल्यै बोल्न हतार हुन्छ,’ विराटनगरमा रहेका कोइरालाले भने ।

गठबन्धन चलाउन विशेष दक्षता रहेकाले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने संस्थापनपक्षीय नेता रमेश लेखक बताउँछन् । ‘ठूलो दलको हैसियतले पहिला सरकारको नेतृत्व कांग्रेसले गर्ने कुरा नै प्राकृतिक हो, त्यही हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘कांग्रेसबाट यस पटक शेरबहादुर दाइको विकल्प देखिएको छैन । गठबन्धनलाई मिलाएर लैजान सक्ने क्षमता पनि उहाँसँग छ ।’

निर्वाचित भएर आएका सांसदसँगको छलफलमा जुटेका थापा भने शेखर राजधानी फर्केपछि आफ्नो अभियानले तीव्रता पाउने बताउँछन् । ‘म अहिले शेखर दाइकै प्रतीक्षामा छु, उहाँसँग छलफल गरेपछि आफ्नो अभियानलाई अझ सशक्त बनाउँछु,’ उनी भन्छन्, ‘महाधिवेशनमा एउटै टिमबाट चुनाव लडेका र टिमको नेतृत्व लिनुभएकाले शेखर दाइको समर्थन रहनेमा मलाई पूर्ण विश्वास छ ।’

नेता पौडेलले पनि यस पटक देउवाले लोभ गर्न नहुने तर्क अघि सारेका छन् । त्यसका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै उनले दौडधुप थालिसकेका छन् । चार दिनअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै पौडेलले जनादेशको सन्देश र परिवर्तनको चाहना सम्बोधन गर्न नेतृत्वमा परिवर्तन आवश्यक रहेको भनाइ राखेका थिए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रत्यक्षतर्फ आफ्नो पक्षका अधिकांश नेताले हारेकाले देउवालाई संसदीय दलको नेता चुनिन सोचेजस्तो सहज नभएको बताउँछन् । देउवाको मुख्य टिममा रहेका गृहमन्त्री बालकृष्ण खाँण रूपन्देही–३ र सार्वजनिक लेखा समितिका सभापतिसमेत भरत शाह रूपन्देही–५ बाट पराजित भएका छन् । १४ औं महाधिवेशनमा आफ्नो पक्षमा आएकाले कृष्णप्रसाद सिटौलाको सहयोग पाउने आस देउवाले राखेका छन् तर सिटौला स्वयं झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारिसकेका छन् । उनको समूहमा रहेका प्रदीप पौडेलले मात्रै चुनाव जितेका छन् । संसदीय दलको नेताको चुनावमा पौडेलले गगनतिर बढी झुकाब राखेका छन् । सिटौला पक्षमा रहेका सहमहामन्त्री उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं र भीमसेनदास प्रधानले चुनाव हारेका छन् । उनीहरू तीनै जना चुनाव जित्ने सूचीमा थिए ।

संस्थापन पक्षमै रहेका अन्य तीन सहमहामन्त्री डिना उपाध्याय, महेन्द्र यादव र भीष्मराज आङदेम्बेले पनि निर्वाचन जित्न सकेनन् । संस्थापन पक्षका मुख्य नेताहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, पुष्पा भुसाल, अर्जुन जोशी, उमेश श्रेष्ठ, विश्वनाथ पौडेल, रामजनम चौधरी, सीताराम मेहता, देवेन्द्रराज कँडेल, सुनीलबहादुर थापा र पद्मनारायण चौधरी पनि पराजित भएका छन् । ‘शेखर र गगनको बाटो अलग–अलग भयो भने शेरबहादुरलाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्दैन तर एकै ठाउँमा उभिएर संयुक्त रूपमा प्रयास गरे भने यसै पटक नेतृत्व बदल्न सक्ने दरिलो सम्भावना छ,’ विश्लेषक आचार्य भन्छन्, ‘शेरबहादुरबाट कांग्रेसको भविष्य छैन भन्ने कुरा उनकै टिमका मान्छेहरूले समेत महसुस गर्न थालेका छन् ।’

प्रत्यक्षतर्फ देउवालाई लागेको धक्का, समानुपातिकमा करिब एक तिहाइ सांसद शेखर पक्षका आउने सम्भावना र दलको नेताको चुनावमा हुने गोप्य मतदानले देउवाको विकल्पको सम्भावना रहेको आचार्यको भनाइ छ । संस्थापनपक्षीय नेताहरू भने देउवालाई संसदीय दलमा कठिन चुनौती नहुने बताउँछन् । आफैंले टिकट बाँडेर जितेर आएका सांसदहरू देउवाको विरोधमा जाने कुरा असम्भव हुने उनीहरूको तर्क छ । ‘शेरबहादुर देउवाले टिकट बाँडेका छन्, उनले बाँडेको टिकटमा चुनाव जितेर आउने सांसदले अर्कोलाई दलको नेता बनाउँछ भन्ने लाग्दैन,’ संस्थापन पक्षीय एक नेताले भने, ‘शेरबहादुरको नेतृत्वमा चुनावमा जाने, चुनावबाट पार्टी ठूलो भएर आउने अनि प्रधानमन्त्री अर्को व्यक्ति हुन्छ भन्ने कुरा कल्पना गर्न सकिन्न ।’

सरकार निर्माणको गृहकार्यका लागि देउवाले यसै साता माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग दुई पटक र माधवकुमार नेपालसँग एक पटक छुट्टाछुट्टै संवादसमेत गरिसकेका छन् । ती संवादमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व लिने विषयदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीका पद बाँडफाँटको विषय चर्चामा छन् ।

निर्वाचनको परिणाम नआउँदै र पार्टीले संसदीय दलको नेता नबन्दै सरकारको नेतृत्व लिने र आलोपालो सरकार चलाउने विषयमा सत्ता गठबन्धनका सहयात्री दलका नेतासँग देउवाले गरिरहेको संवादप्रति महामन्त्री थापाले भने असन्तुष्टि व्यक्त गरे । दुई/तीन नेतामात्रै बसेर हुने अपारदर्शी ढंगका कुनै पनि निर्णय आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।

‘०७२ को निर्वाचनपछि कांग्रेस र एमालेबीच सरकारको आलोपालो गर्ने एउटा गठबन्धन भयो, ०७४ मा एमाले र माओवादीलाई हेरियो । यी दुवै गठबन्धन सफल हुन सकेनन् । गठबन्धन दलबीच खुला राजनीतिक संस्कृति, पारदर्शी र विश्वास नहुँदा त्यस्ता समझदारी दुर्घटनामा परे,’ थापाले कान्तिपुरसँग भने, ‘यस पटक पनि नेताहरूले पार्टीलाई आफ्नो निजी कम्पनी जस्तो ठानेर अघि बढ्ने प्रयास भयो भने हिजोको भन्दा फरक हुन्न, पार्टीको संसदीय दलको नेता नचुनिँदासम्म को प्रधानमन्त्री हुने भन्ने विषय आउँदैन ।’

सरकार गठनको गृहकार्यदेखि राज्य शक्तिका मुख्य पदहरूको बाँडफाँटको विषयलाई दुई/तीन नेताको विषय मात्रै बनाउन नहुने माओवादी नेता हरिबोल गजुरेल बताउँछन् । तत्कालीन नेकपामा छँदा दुई नेताबीच अपारदर्शी समझदारी हुँदा एकता नै दुर्घटनामा परेको बताउँदै गजुरेलले हिजोकै बाटोमा नहिँड्न नेताहरूलाई आग्रह गरे । ‘अहिले छलफल स्थायित्व र स्थिरताका लागि हुनुपर्ने हो तर नेताहरूमा कसरी प्रधानमन्त्री हुने भन्ने सोच मात्रै देखियो, यो दुर्भाग्य हो,’ उनले भने, ‘पार्टीमा छलफल नगरी कुनै पनि निर्णय गर्दा पछि समस्या आउँछ, यसलाई हेक्का राख्न सक्नुपर्छ ।’

प्रकाशित : मंसिर १५, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले उपेक्षा गरेको क्षेत्रमा प्रदीपको जित

सभापति देउवाले नै काठमाडौं–५ ‘जितिँदैन होला’ भनेर टिकट दिए पनि विजयको प्रमाणपत्र ल्याएर प्रदीप पौडेलले एउटा परीक्षा पास गरेका छन्, अब पार्टीभित्रको शक्ति संघर्ष उनका लागि अर्को परीक्षा हो । उनी गगन, विश्वप्रकाशसँग सहकार्य गर्छन् कि सिटौलासँगै रहन्छन् ? 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — सत्ता गठबन्धनले टिकट बाँडफाँट गर्दा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसको भागमा ६ क्षेत्र परेका थिए । काठमाडौं– ५ बाट ०७४ मा प्रतिस्पर्धा गरेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले चाहेको भए टिकट लिन सक्थे तर जोखिम लिन चाहेनन् किनकि कांग्रेसकै आकलनमा पनि यो क्षेत्र जित्ने सूचीमा थिएन । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र महत आफैंले रोजेर कांग्रेसको समानुपातिकतर्फ खस आर्यको पहिलो नम्बरमा सुरक्षित बसे । 

महतले मैदान खाली गरेपछि अर्थशास्त्री स्वर्णिम वाग्ले र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर उक्त क्षेत्रमा चुनाव लड्न तम्सेका थिए तर वाग्लेप्रति बालुवाटार सकारात्मक भएन । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले महरलाई टिकट दिन चाहेका थिए । तर, रामचन्द्र पौडेल र सिटौलाको पहलमा युवा नेता प्रदीप पौडेलले टिकट पाए, अन्तिम संघारमा । यसमा प्रदीपको भन्दा पनि रामचन्द्र र कृष्ण सिटौलाको चासो धेरै थियो ।

प्रदीप आफैंले गृह जिल्ला तनहुँको क्षेत्र नं. २ बाट टिकट चाहेका थिए । ०७४ मा उनी त्यही क्षेत्रको प्रदेशसभा–१ मा प्रतिस्पर्धी पनि थिए । यस पटक गृह जिल्लाबाटै प्रतिनिधिसभामा लड्न लामो समयदेखि तयारी गरेका उनी नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त थिए । तर, तनहुँ–१ मा टिकट लिइसकेका रामचन्द्र पौडेलले अर्को क्षेत्रबाट चुनाव लड्दै आएका शंकर भण्डारीलाई टिकट नदिँदा दोष आफूमाथि पर्ने ठाने, भण्डारीले असहयोग गरेमा यसपालि पनि निर्वाचन हार्न सकिनेमा उनी सतर्क थिए ।

त्यस्तै अर्को जोखिम प्रदीपले टिकट नपाए पनि हुने आकलन थियो । भण्डारी र पौडेल दुवैको साथ लिन रामचन्द्र आफैं अघि सरे । उता, आफ्नो समूहमा रहेर साथ दिँदै आएका प्रदीपलाई टिकट दिलाउनै पर्ने अवस्थामा थिए नेता सिटौला । पौडेल र सिटौलाले जोड मिलाएर देउवालाई गलाए र प्रदीपलाई काठमाडौं– ५ बाट उम्मेदवार बनाएका हुन् । मनोनयनको दिन कात्तिक २२ गते मध्याह्न मात्र टिकटको टुंगो लाग्यो । सभापति देउवाले टिकट थमाउँदै प्रदीपलाई भनेका थिए, ‘भाइले टिकट त लिनुभयो तर जितेर आउन धेरै गाह्रो छ ।’

०७४ मा महतको पराजय, ०७९ वैशाखको स्थानीय निर्वाचनमा एमालेले कायम गरेको पकड र एमाले अध्यक्ष केपी ओलीपछि दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल प्रतिस्पर्धी रहेकाले देउवालगायत धेरै नेतालाई काठमाडौं– ५ सहज लागेको थिएन । तर, रामचन्द्रको जित सुनिश्चित गर्न र सिटौलाको अस्तित्व स्विकारिदिन प्रदीपलाई तनहुँको सट्टा काठमाडौंको ‘भुङ्ग्रो’ मा पुर्‍याइएको गुनासो उनकै समर्थक र शुभचिन्तकले गरिरहेका थिए ।

त्यसमाथि उनलाई ‘बाहिरिया’ भन्ने प्रचार एकातिर चर्कियो भने स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको बलियो उपस्थितिले पनि प्रदीपको यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर, पौडेलले करिब ५ हजारको अन्तरमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गरे । पौडेलले १५ हजार २ सय ३७ मत ल्याउँदा पोखरेलले १० हजार १ सय ७५ मात्रै पाए । समानुपातिकतर्फको मतमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रोमा छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदेवार प्रणयशमशेर राणाले पनि ५ हजार ४ सय ७३ मत ल्याएका छन् । यो सबै चुनौतीबीच प्रदीपले परिणाम आफ्नो पक्षमा रूपान्तरित गरे ।

उता, पार्टीको आन्तरिक सर्वेक्षणमा जित्ने सूचीमा रहेका पाँच क्षेत्रमध्ये काठमाडौं–६ मा भीमसेनदास प्रधान तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार २ सय ४ मत ल्याउँदा प्रधानले ८ हजार ८ सय ५ मत मात्रै पाए । दोस्रो स्थानमा आएका एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याए ।

प्रदीपले स्थानीय मुद्दासँगै राष्ट्रिय राजनीति शुद्धीकरणको मुद्दालाई प्रमुख बनाएर घरदैलो गरे । ‘यस क्षेत्रमा आँट गर्न गाह्रो थियो किनकि समग्र राष्ट्रिय राजनीतिमै बेथिति बढ्यो भनेर राजधानीका मतदातामा आक्रोश थियो तर राजनीति सफा गर्ने अभियानको थालनी राजधानीबाटै हुनुपर्छ भनेर मैले मूल नारा बनाएँ, त्यसले आममतदातालाई छोयो,’ पौडेल भन्छन्, ‘धेरै पटक पदमा पुगेका, उपप्रधानमन्त्री र पटक–पटक मन्त्री भइसकेका, निर्वाचनमा आवश्यक पर्ने सबै चीजबाट सम्पन्न उच्च तहको नेतासँग प्रतिस्पर्धा गर्न सहज पक्कै थिएन तर निर्वाचनमा सबैभन्दा ठूलो मुद्दा हो, त्यो यसपालि पुष्टि भएको छ ।’

गृह जिल्ला तनहुँ भए पनि विद्यार्थी राजनीतिदेखि नै उनको कर्मथलो भने राजधानी नै हो । सिद्धार्थ वनस्थलीमा पढ्दैदेखि उनी राजनीतिमा होमिएका थिए । अखिलको गढ भनिने अमृत साइन्स क्याम्पसमा टिमका सबै साथीहरू पराजित हुँदा पनि स्ववियु सभापतिमा पौडेल निर्वाचित भएका थिए । यही बाटो उनी नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत बने ।

सिद्धार्थ वनस्थलीमा प्रदीपलाई पढाएका शिक्षक टेकप्रसाद घिमिरेका विचारमा वैचारिक प्रस्टता, शालीन र सबैसँग घुलमिल गर्न सक्ने चरित्रका कारण पौडेलले मतदाताको मन जित्न सकेका हुन् । ‘गगन, विश्वप्रकाश र प्रदीपप्रति मुलुकले नै ठूलो आशा राखेको छ, नेतृत्वमा हस्तक्षेप गर्छन् भन्ने विश्वासले मतदाताले तीनै जनालाई जिताएका छन्,’ घिमिरे भन्छन्, ‘गगन, विश्व र प्रदीप सँगै हुन्छन् । यी तीन नेताको सामूहिक प्रयत्नले केही परिवर्तन हुन्छ भन्ने विश्वास जागेको छ ।’

एमालेभित्रको विवादले पनि पौडेललाई सहज भएको बुझाइ कांग्रेसको चुनाव प्रचार समितिका संयोजक रामचन्द्र घिमिरेको छ । ‘प्रदीपको उपस्थितिले पार्टीभित्रको अन्तरसंघर्ष पनि मत्थर भयो, पार्टीभित्र परिवर्तनको पक्षमा र बेथितिको विरोधमा उभिने पृष्ठभूमि बनाएकाले पनि उनलाई रोजे,’ घिमिरे भन्छन्, ‘नरहरि दाइ (आचार्य) को प्रयत्न र उहाँसँग जोडिएको मनोविज्ञानले पनि राम्रो माहोल खडा गर्‍यो तर एमालेभित्र भने शक्ति संघर्ष थियो ।’ ०६४ र ०७० को संविधानसभाका दुई निर्वाचनमा यो क्षेत्रबाट आचार्यले जितेका थिए ।

१४ औं महाधिवेशनमा पार्टी सभापति देउवाकै प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल पार्टीभित्रको शक्ति संघर्षमा आफूलाई कहाँ उभ्याउँछन् भन्नेमा सबैको चासो छ । संसदीय दलको नेतामा पुराना नेता देउवालाई आराम गर्न दिएर नेतृत्व लिन महामन्त्री गगन थापा अघि सरेका छन् । त्यसका लागि अर्का महामन्त्री विश्वप्रकाश शर्माले सुरुवाती दिनदेखि नै आडभरोसा दिएका छन् ।

अब धेरैको नजर प्रदीपतिर सोझिएको छ । उनी पुरानै नेता सिटौला कित्तामा रहलान् वा गगन–विश्वप्रकाशसँगै जोडिएलान् ? यो विषयमा उनी धेरै बोल्न चाहँदैनन् । यति मात्र भन्छन्, ‘समयले एक मौका दिन्छ, त्यो मौका मैले पाएको छु,’ पौडेल भन्छन्, ‘यो मौकालाई म परिवर्तनकै पक्षमा लैजान चाहन्छु । राष्ट्रिय राजनीतिमा देखा परेका विकृतिविरुद्धको लडाइँमा उभिन्छु ।’

प्रकाशित : मंसिर १४, २०७९ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×