भूतपूर्व गोर्खाका मागबारे बेलायतसँग दोस्रो वार्ता, पेन्सनमा गहन छलफल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूतपूर्व गोर्खाका मागबारे बेलायतसँग दोस्रो वार्ता, पेन्सनमा गहन छलफल

नवीन पोखरेल

लन्डन — भूतपूर्व ब्रिटिस गोर्खाका माग सम्बोधनका लागि लन्डनस्थित नेपाली दूतावासमा दोस्रो वार्ता भएको छ । भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच बुधबार प्राविधिक तहमा वार्ता भएको हो । 

यसअघि गत ३ नोभेम्बरमा मन्त्रिस्तरिय वार्ता भए पनि यसपटक दुवै देशका सरकारी कर्मचारी र गोर्खा प्रतिनिधिहरुले विस्तृत रूपमा छलफल गरेका हुन् । भूतपूर्व गोर्खाका लागि ब्रिटिस सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यलगायत एजेन्डामा छलफल भएको हो ।

‘प्राविधिक तहमा लामो छलफल भयो । पेन्सनअन्तर्गत गट्स र जीपीएसमा छलफल केन्द्रित थियो,’ वार्तामा सहभागी दूतावासकी उपनियोग प्रमुख रोशन खनालले कान्तिपुरसँग भनिन्, ‘उहाँहरू सकारात्मक हुनुहुन्छ । हामी सबै समेटेर प्रतिवेदन माथि दिन्छौँ भन्नु भएको छ ।’ अर्को वार्ता फेरि डिसेम्बर दोस्रो सातासम्म गर्ने बताइएको छ ।

दिउँसो साढे २ बजेदेखि झन्डै दुई घण्टा चलेको वार्तामा नेपाल सरकारका तर्फबाट दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल, ब्रिटिस रक्षा मन्त्रालयबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यू लियोन, ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन, इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी, गोर्खा प्रतिनिधित्व गर्दै अवकासप्राप्त मेजरहरु जुदबहादुर गुरुङ, उदयबहादुर गुरुङ र टिकेन्द्र दल देवान सहभागी थिए ।

यसअघि गत ३ नोभेम्बरमा बेलायती रक्षा मन्त्रालयमा रक्षाराज्यमन्त्री डा. एन्ड्रिउ मरिसन तथा संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङसमेतको सहभागितामा पहिलो वार्ता भएको थियो ।

उक्त वार्तामा नेपाल सरकारको तर्फबाट राजदूत आचार्यले भूतपूर्व गोर्खाका लागि ब्रिटिस सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागबारे आफ्नो अवधारणा राखेका थिए । ब्रिटिस सरकारका तर्फबाट रक्षाराज्य मन्त्रीले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को वार्तामा छलफल गर्ने आश्वासन दिएका थिए । गोर्खा समस्यामा ‘जी टु जी’ वार्ता आउँदो मार्च २०२३ सम्म टुंग्याउनुपर्ने माग भूतपूर्व गोर्खाहरुको छ । बेलायतमा सरकार परिवर्तन, ब्रिटिस महारानीको निधन, युक्रेन रुस युद्ध आदि कारण वार्तामा ढिलाइ हुँदै आएको थियो

गोर्खा आन्दोलनको प्रमुख घटक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले यसअघि पेन्सन मुद्दामा बोल्नै नचाहेको बेलायत अहिले सकारात्मक हुनु खुसीको कुरा भएको प्रतिक्रिया दिए । उता, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राईले दोस्रो चरण वार्तामा विस्तृत छलफल हुनु सकारात्मक भएको जनाउँदै भूतपूर्व गोर्खाहरुले अप्रिय निर्णय लिनुअगावै नेपाल सरकारलाई पनि वार्तातर्फ विशेष ध्यान दिन जोड दिए ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सुदूरपश्चिम प्रदेश आफ्नो शतप्रतिशत जित यात्रा कायम राख्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेटको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमको यो लगातार पाँचौं जित हो । सुदूरले बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मधेस प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । यो जितपछि सुदूरपश्चिमको ५ खेलबाट १० अंक भएको छ ।

बुधबार मूलपानी मैदानमा भएको अर्को खेलमा लुम्बिनीले वाग्मती प्रदेशलाई ८५ रनले हराएको थियो । यससँगै वाग्मतीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । हारका बावजुत वाग्मती ५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ । फाइनल प्रवेशका लागि टोली बलियो प्रत्याशी रहेको छ । लुम्बिनी भने ४ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा उक्लेको छ ।

मधेस प्रदेश भने आफूले खेलेका सबै चार खेलमा पराजित रह्यो । टोली अंकविहीन अवस्थामा पुछारमै छ । लिग चरणका खेलको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ । सुदूरपश्चिमले जितका लागि १ सय २३ रनको लक्ष्य पाएकोमा त्यसलाई ३ विकेट गुमाएर पूरा गरेको थियो । त्यसमा दीपक बोहराले सर्वाधिक ५३ रन बनाए । उनको आक्रामक इनिङ्समा ६ चौका र २ छक्का सामेल थियो ।

टस जितेर ब्याटिङ गरेको मधेस भने ३८.१ ओभरमा १ सय २२ रनमात्र बनाएर अलआउट भयो । अली अन्सारीले त्यसमा ३२ रनको योगदान दिए । सुदूरपश्चिमका लागि नरेन साउदले ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । अर्कोतर्फ जितका लागि २ सय ३५ रन पछ्याएको वाग्मती ३५.१ ओभरमा १ सय ४९ रनमात्र बनाउन सफल रह्यो । त्यसका कप्तान अशोक पौडेलको ३१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले ४ विकेट लिए भने अभिषेक गौतम र तुलबहादुर थापाको नाममा समान २ विकेट रह्यो । यसअघि टस जितेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाउनु अगाडि २ सय ३४ रन बनाएको थियो । लुम्बिनीका देव खनालले ४६ रन बनाए । आकाश त्रिपाठीले ४० रनको योगदान दिए । यो जितपछि लुम्बिनीको ४ खेलबाट ६ अंक भएको छ । वाग्मती भने ५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×