कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

निगमले मलेसिया र कतारबाट भैरहवा उडान गर्ने

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले कतार र मलेसियाबाट फर्किने जहाजलाई भैरहवा टचडाउन गराउँदै काठमाडौं अवतरण गराउने भएको छ । काठमाडौंबाट दिल्ली पुगेको विमानलाई त्यहाँबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किने अनुमति भारतले नदिएपछि नयाँ रुट तय गरेको हो ।

निगमले मलेसिया र कतारबाट भैरहवा उडान गर्ने

भारतीय नागरिक उड्डयन निकाय (डीजीसीए) बाट ‘अनुमति प्राप्त नभएपछि’ निगमले यस्तो निर्णय लिनुपरेको नागरिक उड्ययन प्राधिकरणलाई जानकारी दिएको छ । भारतबाट नपाएपछि अब उसले कतारको दोहा र मलेसियाको क्वालामपुरबाट भैरहवा उडान गर्ने भएको हो ।

उडान अनुमति दिने नागरिक उड्डयन प्राधिकरण बबरमहलमा निगमको वाणिज्य विभागले सोमबार मलेसियाको राजधानी क्वालालमपुर र कतारको राजधानी दोहाबाट फर्किने नेपाल वायुसेवा निगमको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै (टचडाउन) गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्किने तालिका बुझाएको थियो । उक्त तालिकालाई प्राधिकरणले बुधबार स्वीकृति दिएको छ ।

‘निगमले कात्तिक ३० गते प्रस्ताव गरेको काठमाडौंबाट दिल्ली पुगेर भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्किने योजनाबाट पछि हटेको छ,’ प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले कान्तिपुरसँग भने, ‘उसले दोस्रो पटक पेस गरेको संशोधित शीतकालीन उडान तालिकामा कतार र मलेसियाबाट भैरहवा हुँदै काठमाडौं फर्किन गरिएको प्रस्तावलाई प्राधिकरणले स्वीकृति दिएको छ ।’

निगमले अनुमति पाएको नयाँ अन्तर्राष्ट्रिय तर्फको तालिकाअनुसार, पुस ४ गतेदेखि भैरहवामा पनि व्यावसायिक उडान सुरु हुनेछ । जसअन्तर्गत काठमाडौं–दोहा–भैरहवा–काठमाडौं सातामा दुईपटक आइतबार र मंगलबार तथा काठमाडौं–क्वालालमपुर–भैरहवा–काठमाडौं सातामा एक दिन शुक्रबार हुने भनिएको छ ।

भैरहवा हुँदै नेपाल आउने यात्रुलाई टिकट खरिद गर्न समय मिलोस् भनेर प्राधिकरणले निगमलाई १९ दिनको समय दिएको जनाएको छ । ‘निगमको जहाजले भैरहवाका लागि यात्रु नै पाइएन भनेर त्यहाँ अवतरण नगरेर सिधै काठमाडौं नफर्कियोस् भनेर १९ दिनका लागि टिकट बिक्रीका लागि प्रचार गर्न समय दिइएको छ,’ सहायक प्रवक्ता भुलले भने, ‘निगमले भैरहवाका लागि यात्रुको संख्या वृद्धि भए त्यहाँबाटै सिधा प्वान्ट–टू–प्वान्ट उडान पनि गर्न सक्ने छ ।’

प्राधिकरणले दोहा र क्वालालमपुरबाट भैरहवा उडान गर्न निगमका न्यारो र वाइडबडी दुवै विमानलाई अनुमति दिएको छ । यदि न्यून यात्रु संख्यामा निगमले जहाज भैरहवा हुँदै काठमाडौं उडाएमा जहाजको उडान साइकल तथा समय वृद्धि हुन गई जहाजको संचालन खर्च बढ्ने जोखिम देखिन्छ । यसका लागि निगमको वाणिज्य विभागले १९ दिनमा आक्रामक भई टिकट बिक्री गराउनु पर्नेछ ।

बुधबार प्राधिकरणले निगमको संशोधित उडान तालिका स्वीकृत गर्दै कटौती गरिएका दिल्ली, मेलेसिया, दोहालगायतका गन्तव्यका उडान पनि पुस ४ गतेदेखि लागू हुने गरी फुकुवा गरीदिएको छ । उसले यसअघि निगम भैरहवा नगएको जनाउँदै प्रस्ताव गरेका शीतकालीन उडान संख्यामा कटौती गरिदिएको थियो ।

निगमअघि भैरहवामा चिनियाँ लगानीमा यति समूहसँगको सहकार्यमा संचालित हिमालय एयरलायन्सले मलेसिया उडान गरिसकेको छ ।

प्रकाशित : मंसिर १४, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?