प्रदेश १ मा फेरिँदै समीकरण : राप्रपाको बलमा एमालेलाई सरकार बनाउन सहज

देवनारायण साह

मोरङ — संघ सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले कसरत गरिरहँदा देशव्यापी दोस्रो बनेको नेकपा एमालेले प्रदेश १ मा सरकार बनाउन कसरत गरिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रदेश १ मा एमाले गठबन्धनलाई बहुमत आउने देखिएको छ ।

प्रदेश १ मा फेरिँदै समीकरण : राप्रपाको बलमा एमालेलाई सरकार बनाउन सहज

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले थ्रेसहोल्ड कटाउन नसक्ने भएपछि सत्ता गठबन्धनलाई पछि पार्दै एमाले गठबन्धनले सामान्य बहुमत प्राप्त गर्ने देखिएको हो । ९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनले ४७ र सत्ता गठबन्धनलाई ४६ प्रदेश सांसद प्राप्त हुने सम्भावना छ ।

यस प्रदेशको ५६ निर्वाचन क्षेत्रमध्ये विपक्षी गठबन्धन दलमा एमालेले २५ र राप्रपाले २ क्षेत्रमा जितेका छन् । सत्ता गठबन्धन दलमा कांग्रेसले जितेको १५ र सुनसरीको ४(१) र ४(२) मा जित सुनिश्चित भएको सहित १७, माओवादी केन्द्रले ९, नेकपा (एकीकृत समाजवादी)ले ३ क्षेत्रमा जित हात पारेको छ । प्रत्यक्षतर्फ एमाले गठबन्धनलाई २७ र सत्ता गठबन्धनले २९ क्षेत्रमा विजयी प्राप्त गर्ने भएको छ ।

समानुपातिकतर्फ बुधबार साँझ ६ बजेसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको १८ लाख २ हजार ९०७ मतमध्ये १ दशमलव ५ प्रतिशतको थ्रेसहोल्ड कटाउने दलमा एमाले पहिलो, कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पार्टी पाँचौं र एकीकृत समाजवादी पार्टी छैटौं स्थानमा छन् । समानुपातिकतर्फ एमालेले ६ लाख २९ हजार ८८५, कांग्रेसले ५ लाख २९ हजार ८९६, राप्रपाले १ लाख ९० हजार ६०४, माओवादी केन्द्रले १ लाख ७७ हजार २६१, जनता समाजवादीले ५८ हजार ५११ र एकीकृत समाजवादीले ५४ हजार ६८७ मत प्राप्त गरेका छन् ।

अघिल्लो पटक समानुपातिकमा एउटा प्रदेश सांसद पाएर राज्यमन्त्रीसम्मको यात्रा तय गरेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार २०४ मतमा सीमित भएको छ । संयुक्त लोकतान्त्रिकले १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । समानुपातिकतर्फ सुनसरीको क्षेत्र ४(१) र ४(२) मा केही मत मात्रै गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलहरुले प्राप्त गरेको मतको आधारमा सामानुपातिक सांसद प्राप्त गर्न एमालेले १४ दशमलव २०, कांग्रेसले ११ दशमलव ९४, राप्रपाले ४ दशमलव २९, माओवादी केन्द्रले ३ दशमलव ९९, जनता समाजवादीले १ दशमलव ३१ र एकीकृत समाजवादीले १ दशमलव २३ मतभार प्राप्त गरेका छन् । यस आधारमा ३७ समानुपातिक सांसदमध्ये एमाले १४, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जनता समाजवादीले २ र एकीकृत समाजवादीले एउटा प्रदेश सांसद प्राप्त गर्ने अवस्था देखिन्छ ।

पहिलो प्रदेशसभामा समानुपातिकतर्फ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्रले ५, जनता समाजवादीले २, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद प्राप्त गरेका थिए । तर यसपटक संघीय लोकतान्त्रिकले थ्रेस होल्ड नै कटाउन नसकेपछि समानुपातिकमा प्रदेश सांसद पाउने दलमा एउटा दल घटेको छ ।

समानुपातिकमा एमाले गठबन्धनले २० र सत्ता गठबन्धनले १७ प्रदेश सांसद पाउने देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरी एमाले गठबन्धनले ४७ र कांग्रेस गठबन्धनले ४६ प्रदेश सांसद पाउने भएको छ । पहिलो प्रदेशसभामा पूर्ण बहुमत प्राप्त गरेका एमालेले यस पटक विपक्ष गठबन्धनको बलमा सामान्य बहुमतका साथ सरकार बनाउने अवस्था निर्माण भएको छ । तर अघिल्लो प्रदेशसभामा वाम गठबन्धनको दुईतिहाइभन्दा बढीको हैसियतमा प्रदेशको नेतृत्व सम्हालेको एमाले सरकार साढे तीन वर्षमा नै ढलेर ५ दलीय गठबन्धनको सरकार बनेको थियो ।

पहिलो प्रदेशसभामा एमालेले ५१, कांग्रेसले २१, माओवादी केन्द्रले १६, जनता समाजवादीले ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद प्राप्त गरेका थिए ।

एमाले गठबन्धनबाट मुख्यमन्त्रीका लागि पार्टीका स्थायी कमिटी सदस्य, पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की प्रमुख दाबेदार छन् । कार्की एमाले अध्यक्ष केपी ओली निकट नेताको रुपमा पनि चिनिन्छन् । उनले संसदीय दलको नेता र सरकारको नेतृत्वका लागि आफूलाई नै अघि सार्ने पार्टीको लाइन रहेको बताए । उनले सरकारको नेतृत्व गर्ने अवस्थामा थाति रहेको प्रदेशको नामकरण प्रक्रिया छिट्टै टुंग्याउने बताए ।

राप्रपाको प्रभावले फेरियो सत्ता समीकरण

प्रदेश १ मा राप्रपाको बलियो उपस्थितले सत्ता समीकरण फेरिने अवस्था देखिएको छ । पहिलो प्रदेशसभामा समानुपातिकतर्फ एउटा प्रदेश सांसदमा चित बुझाएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ २ र समानुपातिकमा ४ गरी ६ प्रदेश सांसद पाउने भएको छ । यसले सत्ता गठबन्धनलाई सरकारमा जानबाट रोक्न र एमाले गठबन्धनलाई सत्तामा पुर्‍याउने भएको छ ।

पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ पाँचौं स्थान हासिल गरेका राप्रपाले समानुपातिकतर्फ बुधबार साँझ ६ बजेसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको १८ लाख २ हजार ९०७ मतमा तेस्रो स्थानमा उक्लेको छ । पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातिकमा कूल सदर मतको ३ दशमलव ३ प्रतिशत अर्थात् ५७ हजार ३४२ मत ल्याएका राप्रपाले यसपटक १० दशमलव ५७ प्रतिशत अर्थात् १ लाख ९० हजार ६०४ मत प्राप्त गरेको हो । पहिलो प्रदेशसभाभन्दा यसपटक ७ दशमलव २७ प्रतिशत बढी समानुपातिक मत ल्याएको छ ।

अघिल्लो प्रदेशसभामा समानुपातिकमा एउटा प्रदेशस सांसद पाएका राप्रपाले यसपटक समानुपातिकमा ४ र प्रत्यक्षतर्फ २ गरी ६ प्रदेश सांसद पाउने भएको छ । यसरी राप्रपाकै बलमा एमाले गठबन्धन सत्तामा पुग्ने देखिएको हो ।

एमाले गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले अघिल्लो प्रदेशसभामा प्रत्यक्षतर्फ १ र समानुपातिकमा २ गरी ३ प्रदेश सांसद पाएको थियो तर यसपटक प्रत्यक्षतर्फ खाता खोल्न सकेन । अघिल्लो प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ४ दशमलव १ प्रतिशत अर्थात् ७० हजार ४७६ मत ल्याएर चौथो स्थानमा रहेको जनता समाजवादी यसपटक ३ दशमलव २५ प्रतिशत ५८ हजार ५११ मत ल्याएर पाँचौं स्थानमा झरेको छ ।

यसपटकको निर्वाचनमा सत्ता गठबन्धन दलमध्ये सबभन्दा ठूलो धक्का भने माओवादी केन्द्रलाई लागेको छ । पहिलो प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ५ गरी १६ प्रदेश सांसद पाएका माओवादी केन्द्रले यसपटक प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ४ गरी १३ प्रदेश सांसदमा चित बुझाएको छ । माओवादी केन्द्रले प्रत्यक्षतर्फ १९ क्षेत्रमा उम्मेदवार उठाएको थियो ।

पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ११ दशमलव ९१ प्रतिशत अर्थात् २ लाख ६ हजार ७८१ मत पाएको माओवादीले यसपटक ९ दशमलव ८३ प्रतिशत अर्थात् १ लाख ७७ हजार २६१ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनभन्दा यसपटक समानुपातिमा २ दशमलव शून्य ८ प्रतिशत कम मत प्राप्त गरेको हो ।

पहिलो प्रदेशसभामा प्रत्यक्षतर्फ ८ प्रदेश सांसदमा चित बुझाएको कांग्रेसले यसपटक भने १७ क्षेत्रमा जित्ने देखिएको छ । यसपटक समानुपातिकतर्फ कांग्रेसलाई पनि घाटा बेहोर्नु परेको छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३३ दशमलव ७६ प्रतिशत अर्थात् ५ लाख ८६ हजार २४६ मत पाएको कांग्रेसले यसपटक २९ दशमलव ३९ प्रतिशत अर्थात् ५ लाख २९ हजार ८९६ मत प्राप्त गरेको छ । अघिल्लो भन्दा यसपटक ४ दशमलव ३७ प्रतिशत कम मत समानुपातिकमा पाएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ १३ प्रदेश सांसद पाएको कांग्रेसले यसपटक १२ प्रदेश सांसद मात्रै पाउने भएको छ ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनको बलमा प्रत्यक्षतर्फ ३६ क्षेत्र जितेको एमालेले यसपटक २५ क्षेत्रमा सीमित भएको छ । पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सबभन्दा बढी ३८ दशमलव ७९ प्रतिशत अर्थात् ६ लाख ७३ हजार ७०९ मत ल्याएर १५ प्रदेश सांसद प्राप्त गरेको थियो । यसपटक पनि एमालेले सबभन्दा बढी ३४ दशमलव ९४ प्रतिशत अर्थात् ६ लाख २९ हजार ८८५ मत ल्याएर १४ प्रदेश सांसद पाउने देखिएको छ ।

एमालेबाट ५ प्रत्यक्ष र ५ समानुपातिक सांसद लिएर विभाजन भएको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ गरी ४ प्रदेश सांसदमा चित बुझाउनु पर्ने भएको छ ।

प्रकाशित : मंसिर १४, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?