कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नयाँ संसद्‌ भवन निर्माण पूरा भएन, भाडाकै भवनमा बैठक तयारी

काठमाडौँ — प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले भाडाकै भवनमा शपथ लिने भएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सरकारले भाडामा लिएर २०६५ सालदेखि संसद् भवनका रूपमा प्रयोग गरिरहेको छ । सम्मेलन केन्द्रलाई यसअघिकै प्रतिनिधिसभाको कार्यकालमा सिंहदरबार सार्ने गरी संसद् भवन निर्माण सुरु गरिए पनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने भएको हो ।

नयाँ संसद्‌ भवन निर्माण पूरा भएन, भाडाकै भवनमा बैठक तयारी

संघीय संसद् सचिवालयले मंसिर ४ बाट निर्वाचित सांसदहरूलाई शपथ ग्रहणदेखि प्रतिनिधिसभा बैठक आह्वानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई व्यवस्थित गर्न लागेको छ । कुर्सी व्यवस्थापन, माइक र लाइट लगायतका व्यवस्थापनका कामलाई संसद् सचिवालयले व्यवस्थापन गर्न लागेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम चरणमा छ । अब समानुपातिकको मतगणना सकेर राष्ट्रपतिलाई निर्वाचन आयोगले प्रतिवेदन बुझाएपछि संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

सिंहदरबारको पुलती बगैंचामा निर्माणाधीन संसद् भवन कहिले सम्पन्न हुने भन्ने अझैसम्म पनि यकिन नभएको संसद्का अधिकारीले बताएका छन् । मुख्य भवनहरू निर्माण सम्पन्न नभइसकेको र 'इन्टेरियर डेकोरेसन'का लागि टेन्डरसमेत आह्वान नभएकाले कति वर्षमा संसद् भवन निर्माण सम्पन्न भइसक्ने भन्ने यकिन नभएको उनीहरूको भनाइ छ । गत असोजमा नै निर्माण सम्पन्न गरिसक्ने भनेर ठेक्का पाएको टुन्दी/सेक जेभीले ६ महिनाका लागि समय थप गरेको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले मूल भवनको छतसम्म पनि निर्माण सम्पन्न भइनसकेको अवस्थामा यकिनसाथ नयाँ संसद् भवन बनिसक्ने मिति भन्न सकिने अवस्था नरहेको बताए । 'भौतिक निर्माण नै पूरा भइसकेको छैन । असोजमा टुंगिनपर्ने चैतसम्म म्याद थपिएको छ । अहिलेको अवस्था हेर्दा मूल भवनकै छत बनेको छैन । इन्टेरियर डेकोरेसनको कामका लागि टेन्डरसम्म आह्वान भएको छैन,' उनले भने, 'ठेकेदार कम्पनीले कोभिडको कारण देखाएर सामान आयात गर्न सकिएन, कामदार भेटिएन भनिरहेको छ ।'

संसद् भवन निर्माणको प्रगति विवरण बुझ्न पटक-पटक सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माणस्थल निरीक्षण गरेर समयमै काम सक्न निर्देशन दिएका थिए । उनीहरूलाई निर्माण कम्पनीले समयमै काम सक्ने वचन दिँदै आएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत असोजमा ६ महिनाका लागि म्याद थपिएपछि निर्माणस्थल निरीक्षण गरेका थिए । त्यतिबेला निर्माणसँग सम्बन्धित सहरी विकास मन्त्रालयको विशेष भवन निर्माण कार्यालयका अधिकारी र ठेकेदार कम्पनीका अधिकारीले ७० प्रतिशत काम भइसकेको 'ब्रिफिङ' गरेका थिए ।

प्रवक्ता पाण्डेका अनुसार संसद् सचिवालयको आवश्यकताअनुसार भवनको भित्री डेकोरेसनमा आवश्यक कोठाका आकार, संसदीय समितिका बैठक कक्षका आकारलगायत विषयमा डिजाइन ठेकेदार कम्पनीले लिएको छ । संसदीय समितिहरू क्रियाशील रहेको अवस्थामा काम भए पनि पछिल्लो समय काम कसरी भइरहेको भन्ने जानकारी सचिवालयलाई नभएको पाण्डेले बताए ।

संघीय संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड ९ लाख रुपैयाँ भाडा तिरिरहेको छ । सिंहदरबारको पुलती बगैंचामा १ सय ५१ रोपनी क्षेत्रफलमा १२ मूल भवनसहित संसद् भवन निर्माण भइरहेको छ । जसमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना निर्माण हुनेछन् ।

प्रकाशित : मंसिर १४, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?