दाहाल फेरि पुगे सुकुटे

अनिश तिवारी

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लामो समयपछि बुधबार दिउँसो परिवारका सदस्यहरूसहित पूर्वसभामुख अग्निप्रसाद सापकोटा र केही नवनिर्वाचित सांसदहरूलाई लिएर सुकुटे आइपुगे ।

दाहाल फेरि पुगे सुकुटे

पार्टीको दस्तावेज लेखन र अन्य महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि उनी सुकुटे आउने गरेको बताइन्छ । यसपटकको उनको सुकुटे भ्रमण भने १०औं पटक हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीका निकट पात्र सापकोटसँग दाहाल सकुटे आएका हुन् ।

सापकोटा भने सभामुख बनेपछि दाहालसँग पहिलो पटक सुकुटे पुगेका हुन् । त्यसो त, ०७६ फागुनको तेश्रो साताको सुकुटे महोत्सवको उद्घाटन दाहालले नै गरेका थिए । र त्यसको समापन भने सभामुख सापकोटाले गरे ।

दाहालको सुकुटे भ्रमणलाई लिएर अनेक टिप्पणी पनि हुने गर्छ । यसपटक पनि निर्वाचनको अन्तिम परिणाम आउनुअघि दाहाल यहाँ आएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आखिर दाहाल किन आउने गर्छन् सुकुटे ? माओवादी केन्द्रका नवनिर्वाचित सांसद माधव सापकोटा सुवोध भन्छन्, 'यसमा रिफ्रेस नै प्रमुख कारण हो । कुनै राजनीतिक कुराभन्दा प्रचण्ड यहाँ विशुद्ध विश्राम गर्न भनेर आउनुहुन्छ ।’

यसअघि भने दाहाल राजनीतिक प्रतिवेदन बनाउन र सहिद परिवारलाई भेट्न रिसोर्ट बसाइको अतिरिक्त समय खर्चने गरेका थिए । दाहाल निकट अरु केही नेताहरू भने उनको सुकुटे यात्रालाई राजनीतिक निर्णयसँग नै बुझ्ने गरेका छन् ।

नेता अग्नि सापकोटा भने उक्त स्थानमा पार्टीका विभिन्न बैठक हुने गरे पनि दाहालको भ्रमण आराम गर्नका लागि मात्रै भएको बताउँछन् । ‘सो स्थान बस्नयोग्य र लायक मानिन्छ, त्यसैले उहाँ त्यहाँ जानुभएको हो । आहिलेसम्मका जिल्लाका विभिन्न बैठक सोही स्थानमा भएको कुरा साँचो हो, यसमा अन्य कुनै प्रयोजन छैन ।’

सापकोटाका अनुसार दाहालको सुनकोसी क्षेत्रप्रति दाहालको गहिरो आर्कषण बसेको छ । त्यसो त, ०७४ को स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअघि पनि दाहाल सुकुटे आउनुको प्रमुख कारण पनि राजनीतिक छलफललाई नै मानिएको थियो ।


प्रकाशित : मंसिर १४, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?