कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धनुषामा अर्का दम्पती

जनकपुर — पञ्चायतकालमा धनुषामा दुई निर्वाचन क्षेत्र थिए । पञ्चायतको अन्तिम चुनावमा दुवै क्षेत्रबाट हेमबहादुर मल्ल र उनकी श्रीमती शारदा उम्मेदवार बने । दुवैले जितेपछि हेमबहादुरलाई ‘शेर ए धनुषा’ को उपमा दिइयो । चार दशकपछि धनुषामा त्यसैगरी चुनावी नतिजा आएको छ, पुनः ‘शेर ए धनुषा’ को उपमा ब्युँतिएको छ ।

धनुषामा अर्का दम्पती

मल्ल दम्पती २०४१ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए, त्यसको ३८ वर्षपछि रघुवीर र जुली महासेठ दम्पतीले धनुषाबाटै इतिहास दोहोर्‍याएका छन् । जुली मधेस राजधानी जनकपुर नगरसमेत पर्ने धनुषा–३ बाट झन्डै १० हजार मतान्तरले विजयी भइन् । रघुवीरले भने कडा प्रतिस्पर्धाबीच धनुषा–४ मा १ सय २४ मतान्तरले जित हासिल गरे । जुलीले ३३ हजार ३ सय ५५ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए । रघुवीरले ३२ हजार २ सय ३६ ल्याउँदा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार १ सय १२ मत पाए ।

यो आमनिर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएर श्रीमान्–श्रीमती नै प्रतिनिधिसभा पुग्ने महासेठ दम्पती पहिलो हुन् । एमालेका मधेस प्रदेश इन्चार्जसमेत रहेका रघुवीर र उनकी पत्नी जुलीलाई पार्टीले प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गर्दा त्यतिबेला एमालेमै रहेका नेता प्रभु साहले आलोचना गरेका थिए । पछि, साहले पार्टी छाडेर स्वतन्त्र भएर चुनाव जिते । पार्टीइतरका नेता, कार्यकर्ताले एमालेमा ‘हेमबहादुर प्रवृत्ति’ भन्दै महासेठ दम्पतीको आलोचना गरेका थिए । धनुषा–४ मा रघुवीरका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महेन्द्र यादवले त चुनावी सभामै भनेका थिए, ‘हेमबहादुर प्रवृत्तिका विरुद्ध मतदान गर्न अपिल गर्दछु ।’

तर, धनुषाका मतदाताले दम्पतीलाई पत्याए । ‘श्रीमान्–श्रीमती दुवै क्षमतावान् छन् भन्ने कुरा मतदाताले प्रमाणित गरिसकेका छन्,’ एमाले मधेस प्रदेश कमिटी सदस्य शिवशंकर साहले भने । रघुवीर कांग्रेसका पूर्वजिल्ला उपाध्यक्ष सन्तोष यादव र एकीकृत समाजवादीका सोम शर्मालाई एमाले प्रवेश गराएर र पार्टीबाट कारबाही सिफारिस भएका मिथिला नगरका पूर्वप्रमुख हरिनारायण महतोलाई प्रदेशसभामा उम्मेदवार बनाएर निर्वाचनमा होमिएका थिए । यता, एमाले–जसपा तालमेलले धनुषा–३ बाट जुलीलाई जित्न सहज भयो ।

०७० को निर्वाचनमा पनि महासेठ दम्पती यसैगरी नै धनुषाका दुई क्षेत्रबाट एकैपटक उम्मेदवार बने । त्यो चुनावमा जुली कांग्रेसका नेता विमलेन्द्र निधिसित पराजित भइन् । ०६४ मा समानुपातिकबाट संविधानसभा सभासद बनेकी जुलीलाई एमालेले त्यसपछि निरन्तर अवसर दियो । उनीसित महासेठको पत्नीबाहेक राजनीतिक पृष्ठभूमि छैन । तर, समर्थकले उनी सिरहाको कर्जनहामा विद्यालय पढ्दा नै अनेरास्ववियुमा आबद्ध भएकी र परिवारका कम्युनिस्ट नेता विष्णु मानन्धरसँग नजिक रहेको दाबी गर्छन् । ०७० को निर्वाचनमा निधिसँग पराजित भएपछि जुलीलाई एमालेले ०७४ को निर्वाचनमा फेरि समानुपातिक सांसद बनायो । समानुपातिक सांसद नदोहोर्‍याउने एमाले नीतिकै कारण उनी यसपालि प्रत्यक्ष उम्मेदवार भएर जितिन् ।

रघुवीरलाई भने कोलम्बो प्लानअन्तर्गत भारतको राँचीबाट इन्जिनियरिङ सकेर सिँचाइ विभागमा कार्यरत रहेकै बेला २०५१ मा एमाले सरकारले उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धक बनायो । जुलीसित ०५२ सालमा उनले विवाह गरे । महाप्रबन्धकबाट हटेपछि उनी एमालेको पूर्णकालीन राजनीतिमा होमिए । धनुषा–५ बाट जितेका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्रमा २०६५ उपनिर्वाचन भयो । एमालेबाट उठेका महासेठले जित हात पारे । ०७० को निर्वाचनमा अहिलेजस्तै, रघुवीरले क्षेत्र नं. ४ र जुली ३ बाट एमालेका उम्मेदबार बने । त्यतिबेला रघुवीर पूर्वराष्ट्रपति यादवका छोरा चन्द्रमोहनसित पराजित भए भने जुली कांग्रेसकै नेता निधिसित हारिन् । २०७४ को निर्वाचनमा रघुवीरले कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?