कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मधेसमा एमालेले आर्जेको शक्ति

मधेस आन्दोलनको रापतापले कमजोर भइरहेको एमालेको प्रभावशाली पुनरागमन
अजित तिवारी

जनकपुर — मधेसका माग र मुद्दामा प्रतिकूल बन्ने गरेको आरोप खेप्दै आएको एमाले यसपालिको आमनिर्वाचनमा ठूलो दल बनेको छ । मुलुकमा बहुदल आएपछि मधेसले कांग्रेसमाथि भरोसा गर्‍यो । विभेदविरुद्ध अधिकारका लागि मधेस विद्रोह थालिएपछि यहाँका बासिन्दाले मधेसवादी दललाई साथ दिए । कांग्रेसको ‘भरोसा’ र मधेसवादी दलको ‘साथ’ तोड्दै मधेसले यो चुनावमा एमालेसँग साइनो जोडेको छ । 

मधेसमा एमालेले आर्जेको शक्ति

मधेसले एमालेलाई साथ दिनुको दुई कारण देख्छन्, विश्लेषक विजय मिश्र । पहिलो, संविधान जारी भएपछि मधेसको मुद्दा र माग सम्बोधन गराउन मधेसवादी दल जसपा र लोसपा एमाले सरकारमा सहभागी हुनु । दोस्रो, एमाले मधेसविरोधी नरहेको प्रस्ट्याउनु । गत भदौ २७ गते जनकपुरको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले पहाडीको मात्र नभई मधेसीको पनि पार्टी रहेको’ उद्घोष गरेका थिए । ‘मधेसमा मुद्दा र मागका लागि जसपा र लोसपा पालैपालो ओली सरकारमा गए,’ मधेस मामिलाका जानकार मिश्रले कान्तिपुरसँग भने, ‘मधेसका मुद्दा र माग एमालेसँगै ठोक्किँदो रहेछ भन्ने मतदाताको बुझाइ भयो । मधेसवादी दललाई पनि एमाले चाहियो भनेपछि उनीहरूले सिधै एमाले रोजेको देखिन्छ ।’ जसपासँगको तालमेलले पनि एमालेलाई फाइदा गरेको उनले बताए ।

०७४ को चुनावमा एमालेले संघीय संसद्का दुई सिट जितेको थियो भने प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बनेको थियो । चुनावअघि मधेसमा राम्रै जोडबल गरेका कारण एमालेले संघीय संसद्का ३२ मध्ये ९ सिट जितेको छ । यस्तै, प्रदेशतर्फ ६४ सिटमध्ये १५ सिट जित्दै मधेसमा पहिलो दल बनेको छ । मधेस आन्दोलनको रापतापले मधेसमा उपस्थिति कमजोर भइरहेका बेला यसपालि एमालेको सुखद पुनरागमन भएको हो । संघीय सांसदमध्ये एमालेले सिरहा, धनुषा र बारामा २–२ सिट, महोत्तरी, सर्लाही र पर्सामा १–१ सिट जितेको छ । धनुषामा त जुली महतो र रघुवीर महासेठ दम्पतीले नै विजय हासिल गरेका छन् । प्रदेश सांसदतर्फ सबैभन्दा धेरै बारा र धनुषामा ४–४, सिरहामा ३, महोत्तरीमा २, सप्तरी र रौतहटमा १–१ सिट एमालेले जितेको छ ।

चुनावी अभियान क्रममा अध्यक्ष ओली मधेसमा लगालग ४ पटक आए । उनले धनुषाका दुई ठाउँ तथा रौतहट र सप्तरीमा सम्बोधन मात्र गरेनन्, अरू दलबाट थुप्रै नेता–कार्यकर्ता पार्टीमा प्रवेश गराए । गठबन्धनका कारण टिकट नपाएका नेता र तिनको मतलाई एमालेले आफ्नो पोल्टामा तानेको विश्लेषकको बुझाइ छ ।

कांग्रेस भने मधेसमा दोस्रो शक्ति बनेको छ । कांग्रेसले संघीय संसद्मा ७ सिट र प्रदेशसभामा १३ सिट जितेको छ । ०७४ को चुनावमा कांग्रेसले ६ सिट जितेको थियो । यो चुनावमा भने कांग्रेसले १ सिट बढाएको छ । सप्तरी र पर्सामा २–२, धनुषा, महोत्तरी र रौतहटमा १–१ सिट कांग्रेसले जितेको हो । यसैगरी, प्रदेशसभातर्फ कांग्रेसले धनुषा, सर्लाही रौतहट र पर्सामा ३–३ सिट र सप्तरीमा १ सिट गरी १३ सिट जितेको छ । यसअघि, मधेसमा पहिलो दल जनता समाजवादी पार्टी भने संघ र प्रदेशमा पनि तेस्रो स्थानमा झरेको छ । जसपाले संघीय संसद्मा ६ र प्रदेशसभामा ९ सिट जितेको छ । ०७४ को चुनावमा जसपाले ९ सिट र प्रदेशसभातर्फ १९ सिट जितेको थियो । जसपाकै नेतृत्वमा मधेस प्रदेश सरकार ५ वर्ष पूरै कार्यकाल चल्यो ।

एमालेसँग तालमेल गरेका कारण मधेसमा जसपासित असन्तुष्टि देखिएको थियो । जसपाले सिरहामा २ सिट र सप्तरी, धनुषा, बारा तथा पर्सामा १–१ सिट जितेको हो । प्रदेशसभातर्फ बारा र पर्सामा २–२ तथा सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा १–१ सिट जितेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव, प्रदेशमा मन्त्री रहेका जसपाका नेता विजय यादव र शैलेन्द्र साह नयाँ शक्तिका रूपमा उदाएको जनमत पार्टीसित आधार क्षेत्र मधेसमै पराजित हुन पुगे ।

मधेसमा लोसपा र स्वतन्त्र चौथो शक्ति बनेका छन् । लोसपाले संघीय संसद्मा ३ र प्रदेशसभामा ७ सिट जितेको छ । महोत्तरी–३ बाट अध्यक्ष महन्थ ठाकुर, २ बाट शरतसिंह भण्डारी र सर्लाही–१ बाट रामप्रकाश चौधरी विजयी भएका हुन् । नेताहरू राजेन्द्र महतो, अनिल झा र लक्ष्मणलाल कर्ण पराजित भए । ०७४ मा लोसपाले मधेसमा सबभन्दा बढी संघीय संसद्मा १० र प्रदेशसभामा १५ सिट जितेको थियो ।

मधेसमा यसपालि स्वतन्त्र उम्मेदवारले पनि उत्साहजनक सिट ल्याएका छन् । संघीय संसद्मा ३ र प्रदेशसभामा स्वतन्त्रका ६ जना निर्वाचित भएका हुन् । उनीहरू दलप्रतिको असन्तुष्टिपछि स्वतन्त्र उठेका थिए । कांग्रेसबाट टिकट नपाएपछि अमरेशकुमार सिंहले सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । रौतहट–२ र ३ बाट जितेका किरण साह र प्रभु साहले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रदेशमा भने स्वतन्त्रबाट ६ जना जितेका छन् । सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट १–१ जना स्वतन्त्रले जितेका छन् ।

पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टी पनि मधेसमा नयाँ शक्तिका रूपमा देखिएको छ । जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । जनमतले प्रदेशसभामा ६ सिट जितेको छ । राउतको गृहजिल्ला सप्तरीमा जनमतले ४ र सिरहामा २ सिट जितेको हो ।

०७४ को चुनावमा संघीय संसद्मा ५ सिट जितेको माओवादीले यो चुनावमा १ सिट मात्र हात पार्‍यो । सर्लाही–२ मा माओवादीको चुनाव चिह्न लिएर लडेका महिन्द्रराय यादव मात्र विजयी भएका छन् । नेताहरु गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव र विश्वनाथ साह पराजित भए । प्रदेशसभामा भने माओवादीले ४ सिट जितेको छ । महोत्तरी, सर्लाही, रौतहट र पर्सामा १–१ सिट जितेको छ । एकीकृत समाजवादीले भने संघीय संसद्मा मधेसबाट २ र प्रदेशसभामा ४ सिट जितेको छ । अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ र नेता कृष्णकुमार (किसान) श्रेष्ठले बारा–४ बाट जित हात पारे । सप्तरी, सिरहा, सर्लाही र रौतहटमा १–१ सिट एसले जितेको छ ।

जसपा नेतृत्वको मधेस सरकारमा माओवादी र एस सँगै छन् । मधेस प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १ सय ७ सिट छ । नयाँ सरकार बनाउन बहुमतका लागि ५४ सांसद चाहिन्छ । मधेसमा सरकार बनाउने संख्या कुनै दलसँग छैन । समानुपातिक सिट बाँडफाँट सकिए पनि सत्ता गठबन्धन वा एमाले–जसपासँग सरकार बनाउने संख्या पुग्ने छाँट देखिन्न । त्यसैले सरकार बनाउन जनमत र स्वतन्त्र निर्णायक हुन सक्छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?