कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धरानले दियो समलिंगीलाई सानदार मत

पराजित भए पनि चुनावले परिचयको दायरा फराकिलो पारेकाले सामाजिक अभियानलाई अझ सशक्त बनाउने सरिनको अठोट
प्रदीप मेन्याङ्बो

सुनसरी — स्थापित दलका उम्मेदवारहरूको प्रतिष्पर्धालाई धरानमा कसले चुनौती देलान् ? प्रतिनिधिसभा सदस्यका लागि एमाले–कांग्रेसले आआफ्ना चुनाव चिह्न अघि सार्नुभन्दा गठबन्धनका उम्मेदवारलाई समर्थन दिएका थिए ।

धरानले दियो समलिंगीलाई सानदार मत

एमालेको समर्थन रहेका जसपाका अशोक राई र सत्ता गठबन्धनका तर्फबाट उठेका माओवादीका मुक्सामहाङ सुब्बालाई कसैले चुनौती दिन सक्थ्यो भने ती धरान नगरपालिकाका पूर्वप्रमुख मनोज मेन्याङ्बो हुनुपर्ने लख धेरैले काटेका थिए । कारण मेन्याङ्बोले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावी हारजितको अड्कलबाजी गर्नेहरूका लागि उम्मेदवारका नाममध्ये अप्रत्याशित थियो गोमा तामाङ, चुनाव चिह्न घण्टी ।

मतगणना सुरु भएपछि लगातार अग्रता लिएकी तामाङ अन्तिमतिर रोकिइन् । धरान नगरपालिकाको मत गनिसक्दासम्म उनको अग्रता थियो । तर पूरै क्षेत्र सुनसरी–१ गनिसक्दा जसपाका राई १७ हजार ५९ मतका साथ विजयी भए । दोस्रोमा परेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी तामाङले १६ हजार ६ सय ६ मत पाइन् । माओवादीका सुब्बा १३ हजार ८७ मतसहित तेस्रो भए । सोमबार मतगणनाको अन्तिम नतिजा आएपछि तामाङले मतदातालाई धन्यवाद दिइन् । आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । निर्वाचनमा पराजित भए पनि तामाङको परिचयको दायरा फराकिलो भएको छ ।

व्यक्तित्वको हिसाबमा सरिन भनिने गोमा तामाङ समलिंगी हुन् । २८ र २९ वर्षका दुई सन्तानकी आमा । सँगै उनी आफूजस्तै शारीरिक बनोट भएकी देविका कार्कीका श्रीमान् हुन् । पराजित नै भए पनि सरिन यस पटकको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनेमा मुलुकमा सम्भवतः पहिलो महिला समलिंगी उम्मेदवार बनिन् । कान्छो पार्टी रास्वपाबाट उम्मेदवारी दिइन्, तर उनी उक्त पार्टीको कुनै पनि पदमा छैनन् । चुनावी मैदानमा उत्रिएपछि उनको परिचय राष्ट्रियस्तरमा विस्तार भयो । त्यसअघि नजिकबाट चिन्नेहरूले उनलाई वैदेशिक रोजगारीमा जान खोज्दा बेचिएका चेलीहरूको उद्धारकर्ता र सामाजिक अभियन्ता मात्र बुझेका थिए ।

पुरुषजस्तै हेयर स्टाइल, सर्ट–पाइन्टमा हिँड्ने उनी चुनाव प्रचार अभियानमा निस्केपछि धेरैले उनलाई चिने । सरिन सडकमा माइकिङ गर्दै चुनावी मैदानमा अन्य दलका उम्मेदवारलाई चुनौती दिन थालिन्, तब मतदाताको ध्यान तानियो । सामाजिक सञ्जालमा निकै सक्रिय उनी अचानक राजनीतिक नेतृत्वका लागि आकर्षित भइन् । मतगणनास्थल धरान सभागृहमा भेटिँदा ५० वर्षीया सरिनले भनिन्, ‘खोइ म त कसरी हो कसरी राजनीतिमा आएँ, सोच्दा अचम्म लाग्छ । पदमा भए पनि, नभए पनि जनताको खातिर काम गर्छु ।’

सन् २००६ देखि इजरायलमा ‘केयर गिभर’ भएर १४ वर्ष उनले वैदेशिक रोजगारी गरिन् । सन् २०२० मा नेपाल फर्केको दुई वर्ष पनि नबित्दै उनी सामाजिक क्षेत्रमा सक्रिय भइन् । वैदेशिक रोजगारीको कमाइ आकर्षक छ, त्यो कमाइको अँध्यारो पाटो पनि छ । आकर्षक कमाइको आसमा घर र देश छाडेकाहरू अनेक संकटमा पर्ने गरेका छन् । उनले त्यो देखेकी हुन् । संकटमा परेकालाई उद्धारमा सघाएकी छन् । इजरायलमै रहँदा उनको सम्पर्क रवि लामिछानेसँग भएको थियो, मानव तस्करहरूद्वारा बेचिएका चेलीहरूको उद्धार गर्ने क्रममा । म्यानपावर कम्पनीको नाममा दलालहरूले कसरी मानव तस्करी गर्छन् र कति बिजोग पारेका छन् भन्ने विषयमा उनलाई लगभग सबै जानकारी छ । उनले भनिन्, ‘म मानव तस्करी गर्नेविरुद्ध बाँचुन्जेल आवाज उठाउँछु, अहिले पनि पाँच/सात जनालाई तत्काल उद्धार गर्नु छ । मानव तस्करहरूलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ सिरिया, साउदी, कुवेतमा अझै पनि धेरै जना अड्किएकाले तिनको उद्धारमा जुटिरहेको पनि उनले बताइन् ।

०००

४९ वर्षीया गोमा तामाङको जन्म सर्लाहीको मूर्तियामा भएको हो । हालको स्थायी बसोबास धरान–११ ओमशान्ति चोकमा छ । उनले एसएलसीसम्म पढेकी छन् । विगतमा उनी कसैकी श्रीमती थिइन् भने वर्तमानमा उनी कसैको श्रीमान् बनेकी छन् । ‘हुन त राज्यले महिलाको पहिचान दिएको छ गोमा तामाङ भनेर । तर म आफूलाई पुरुषका रूपमा हेर्छु । म पुरुष नै हुँ,’ उनले भनिन् । श्रीमान्सँग सम्बन्धविच्छेदपछि आफूले आफ्नो पहिचानसहित खुलेर बाँच्ने वातावरण रोजेको उनले बताइन् । हाल देविका कार्कीसँग समलिंगी विवाह गरेको पनि उनले बताइन् । उनी आर्थिक उपार्जनका लागि भाइको सहयोगमा इजरायल गएकी थिइन् । त्यसबेला उनी विवाहित थिइन् । इजरायल गएको सात वर्षपछि सन् २०१३ मा श्रीमान्सँग सम्बन्धविच्छेद गरेको उनले सुनाइन् ।

महिलामाथि हुने हिंसाविरुद्ध सामाजिक सञ्जालमार्फत कडा शब्दमा आफ्नो विचार पोख्न थालेपछि त्यस क्षेत्रका मान्छेहरूले आफूलाई नोटिस गर्न थालेको उनको भनाइ छ । ‘इजरायलमै रहँदा एक दिन गुल्मीको दृष्टविहीन एक दलित बच्चालाई सहयोग गर्नुपर्ने अवस्था छ भनेर जानकारी पाएँ,’ सामाजिक अभियानकर्मी बन्न प्रेरित गरेको विगतको घटना उनले सुनाइन्, ‘शुक्रबार बिदाको दिन पारेर म डिब्बा बोकेर इजरायलका सडकमा पैसा संकलन गर्न थालें । पछि त्यो रकम जसको सहयोगका लागि संकलन भएको थियो उसैलाई दिन भनेर दलित अभियन्ता सरु सुनारलाई हस्तान्तरण गरें । मेरो सामाजिक सेवा अभियान यसरी सुरु भएको थियो ।’

त्यसपछि उनी इराक, कतार, साउदी, अफगानिस्तान, कुवेतमा फँसेका र अड्किएका नेपालीका शव ल्याउने अभियानमा सक्रिय भइन् । उनले भनिन्, ‘इराकमा माया तामाङको मृत्यु भएको समाचार सुनें, तिनको शव नेपाल लैजान पुग्ने खर्च नभएपछि रवि लामिछानेको टेलिभिजन कार्यक्रममा सम्पर्क गरेर मानव तस्करबाट इराकमा बेचिएकी ती चेलीको मृत्यु भएको र शव ल्याउन समस्या भएको विषयमा कुरा उठाएँ ।’ अहिले पनि तिनै कामलाई निरन्तरता दिइरहेको उनले बताइन् ।

उनका छोरा र छोरी छन् । छोरी इजरायलमा कार्यरत छिन् भने छोरा नेपालमै छन् । धुलिखेलमा होस्टल चलाएर गुजारा गर्दै आएकी सरिनलाई राजनीतिमा लाग्न सामाजिक अभियानले नै प्रेरित गरेको हो । धरानमा आमा र परिवारका अन्य सदस्य बस्ने भएकाले उनी आइन् । तर त्यो बेला कोरोनाको महामारी फैलिएको थियो । महामारीका कारण धेरैले रोजगारी गर्न पाएका थिएनन् । लकडाउनमा भोकभोकै भएका परिवारका लागि भनेर उनी राहत संकलन र वितरण गर्न सक्रिय भइन् । ‘त्यसबेला सुकुम्बासी बस्तीमा राहत लिएर छिर्दा राजनीति गरेको आरोप पनि खेप्नुपर्‍यो,’ उनले तीतो पोखिन्, ‘मलाई कारबाही गर्नेसम्म पनि भनियो । तर, म डराइन् । राहत संकलन र वितरणको काम जारी राखेर निभेको चुलो बालिदिएँ ।’

०००

काठमाडौंमा पार्टी गठनको घोषणा गरेर चितवन–२ रोजेका रवि लामिछानेको चुनाव चिह्न घण्टीका विषयमा चर्चा जब सञ्चारमाध्यमहरूमा चर्चा सुरु भइसकेको थियो, सरिनले रविकै पार्टीबाट मनोनयन दर्ता गराउँदासम्म पनि चर्चाको ओझेलमा थिइन् । स्थानीय तहको गत निर्वाचनमा स्वतन्त्रतर्फ धरान नगर प्रमुखमा उम्मेदवारी दिँदा हर्कराज राईका हकमा पनि त्यस्तै भएको थियो । धेरैको ध्यान र चर्चा दलका उम्मेदवारमा थियो, उनी भने नाम चलेका उम्मेदवारमा परेकै थिएनन् । मतगणना सकिएर परिणाम सार्वजनिक हुँदा दलका अगुवा कार्यकर्ता कहाँबाट कसलाई कति मत आयो, कहाँबाट अपेक्षाकृत आएन भन्ने हिसाब गरिरहेका छन् । उनीहरूको अनुमानविपरीत सरिनले उत्साहजनक मत प्राप्त गरेकी छन् ।

सुनसरी–१ का विभिन्न टोलबस्तीबाट धेरै मतदाताले उम्मेदवार नै नदेखी, नचिनी विश्वासको भरमा सरिनलाई मतदान गरेको खुलेको छ । उनले अरूले जस्तो कोणसभा, र्‍याली गरिनन् । एउटा टेम्पो लिएर चुनाव प्रचार गरिन् । घरदैलोमा निस्कँदा उनले अनेक लाञ्छना र आरोप खेपिन् । कसैले समलिंगी लेस्बियन भने, कसैले छक्कासमेत भन्न भ्याए । कतिपयले राजनीति नबुझेको र धरानमा घर नभएको समेत भने । तर ती सबै आरोपलाई पन्छाएर आफ्नो पहिचानप्रति गर्व लागेको सरिनको भनाइ छ ।

चुनाव प्रचार अभियान चलिरहँदा उनले आफ्नो मनोविज्ञानअनुसारको भोगाइलाई भने चुनावी एजेन्डा बनाइनन् । अर्थात् तेस्रोलिंगी, समलिंगी अधिकारका बारेमा भने चर्चा गरिनन् । तर उनले आफ्नो वास्तविक पहिचान पनि लुकाइनन् । उनी भन्छिन्, ‘अधिकार भन्ने कुरा टेबल ठोकेर लिने हो । नीति निर्माणको तहमा पुगेपछि कानुन बनाउन दबाब दिने हो ।’ चुनावी नतिजा आफ्नो पक्षमा नआए पनि उनले रोजेको पहिचानलाई मतदाताले मतमार्फत अनुमोदन गरिसकेको पुष्टि भएको छ । वैदेशिक रोजगारीका क्रममा मर्कामा परेकाहरूलाई सघाउने आफ्नो अभियानलाई जारी राख्ने उनले बताएकी छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?