सुवाल इन्टरनेसनल कलेज सञ्चालक पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुवाल इन्टरनेसनल कलेज सञ्चालक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध शिक्षणसंस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्ने सुवाल इन्टरनेशनल कलेज सुर्यविनायक भक्तपुरका संचालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीले प्रहरी वृत्त जगातीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका डिएसपी राजु पाण्डेले जानकारी दिए । ‘बिहान आरोपीलाई सोधपुक्षका लागि बोलाएका थियौं, दिउँसो कलेजका दुई जना विद्यार्थीले जाहेरी दिनुभयो, त्यसपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अब ठगी अन्र्तगत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढ्छ ।’ दुई छात्रछात्राले दिएको जोहरीमा उक्त कलेजका एक सय भन्दा बढि विद्यार्थीले हस्ताक्षर समेत गरेको प्रहरीले जनाएको छ ।

मंगलबार कान्तिपुरले भक्तपुरको सूर्यविनायक घतालेमा नियामक निकायको अनुमति र सम्बन्धन बिनै सुबाल इन्टरनेशनल कलेज स्थापना गरेर विद्यार्थी भर्ना गरी शुल्क असुलेको समाचार प्रकाशित गरेको थियो । समाचारबाट विद्यार्थीले अवैध रहेको थाहा पाएपछि बिहानै कलेजमा घेराउ गरेका थिए । अभिभावकहरु समेत कलेज पुगेपछि जगाती प्रहरीले उनलाई सोधपुक्षको लागि बोलाएको थियो । विद्यार्थी समेत प्रहरी वृत्त पुगेर नाराबाजी गरेका थिए । ‘कलेज संचालकले कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेको बाहेक शैक्षिक कार्यक्रम संचालन गर्न पाएको कुनै पनि अनुमति देखाउन सक्नुभएन,’ एक अभिभावकले कान्तिपुरसँग भने, ‘शिक्षणसंस्था संचालन गर्ने अनुमति बिनै विद्यार्थी भर्ना गराएर शुल्क लिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिइएको हो ।’

कलेजले नर्सिङ, फार्मेसी र एचएमा २ सय ७० जना भन्दा धेरै विद्यार्थी भर्ना गरेर शुल्क उठाएको पाइएको छ । संचालक सुबालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्रवान गरेको छ । प्रति विद्यार्थी ७५ हजारको दरले शुल्क लिएर २ करोडभन्दा बढि जम्मा गरेको अनुमान गरिएको छ । उक्त कलेज संचालनमा रहेको बारे शिक्षा मन्त्रालय, त्रिभुवन लगायतका विश्वविद्यालय, सीटीईभीटीले अनविज्ञता जनाएका छन् । यी मध्ये कुनै एक निकायको स्वीकृति बिना कलेज संचालन गर्ने व्यवस्था छैन । भर्ना भएका विद्यार्थीसँग ३ लाख ५० हजारको दरले पढाई शुल्क लिने संचालकको तयारी रहेको थियो । भर्ना हुनेमा अधिकांश कर्णाली र सुदुरपश्चिमका विद्यार्थी छन् । एचए, फार्मेसी, नर्सिङ पढाउन सीटीईभीटीले मात्रै सम्बन्धन दिने गरेको छ । कुनै विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएपनि पठनपाठनका लागि शिक्षा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ । बिदेशी सम्बन्धनमा स्थापित कलेजले समकक्षताको लागि त्रिविको पाठ्यक्रम विकास केन्द्रमा सुचीकृत हुनुपर्छ । तर सुबाल कलेलजे स्वीकृति पनि नलिएको शिक्षा मन्त्रालयले जनाएको छ । समकक्षताको लागि शिक्षा मन्त्रालयको सिफारिसमा केन्द्रमा सुचीकृत पनि नभएको पाइएको हो । कलेजले गत कात्तिक २० गतेबाट कक्षा संचालन गर्न सुरु गरेको थियो । ‘धन्न कलेज अवैध रहेको बेलैमा थाहा पाएर विद्यार्थी बिचल्ली हुनबाट जोगिए,’ ती अभिभावकले पढें, ‘पढाई सकिसकेपछि प्रमाणपत्र नपाउने अवस्था भएको भए, विद्यार्थीको भविष्य नै बर्बाद हुने थियो ।’

त्यस्तै अखिल क्रान्तिकारीले मंगलबार कलेजमा ताला लगाएको छ । नेत्रविक्रम चन्द्र विप्लब निकट क्रान्तिकारीले विज्ञप्ति प्रकाशित गरेर सधैका लागि बन्द गर्न ताला लगाइएको जनाएको छ । ताला लगाउन पुगेका क्रान्तिकारीका कार्यकर्ताले कलेज तोडफोड समेत गरेका थिए । क्रान्तिकारीले अनुमति बिनै विद्यार्थी भर्ना गरेर कलेज संचालकले शैक्षिक अपराध गरेकाले छानविन गरी कारवाही गर्न माग समेत गरेको छ । विद्यार्थीबाट उठाएको रकम फिर्ता भर्न समेत माग गरिएको छ । ‘कलेजमा तालाबन्दी गरी पूर्ण रुपमा सधैंका लागि बन्द गरिदिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

गच्छदारको विजय यात्रामा लाग्यो 'ब्रेक'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेकी भगवती चौधरीसँग पराजयसँग नेपाली कांग्रेस नेता विजय गच्छदारको ३ दशक लामो संसदीय यात्रामा ब्रेक लागेको छ । चौधरीसँग सुनसरी-३ बाट गच्छदार ५ हजार भन्दा बढी मतान्तरले पराजयसँग गच्छदारको २०४८ पछिको सबै चुनाव जित्ने इतिहासमा ब्रेक लागेको हो ।

बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि सबै चुनाव जित्ने कीर्तिमान प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्रै रहेको छ । २०२७ नेपाल विद्यार्थी संघमा संगठित भएर गच्छदारले राजनीति सुरु गरेका थिए । पछि उनी मधेसवादी दल हुँदै कांग्रेसमै फर्किएका हुन् । यसबीचमा उनले गृह, भौतिक योजना, पर्यटन तथा नागरिक उड्डयन, जलस्रोत, सञ्चारजस्ता शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी २०४८ सालपछि पटक-पटक गरेर १२ पटक मन्त्री भएका थिए । जसमा ५ पटक उपप्रधानमन्त्री बनेका थिए ।

२०४८ सालमा सञ्चार राज्यमन्त्रीबाट सुरु भएको मन्त्री बन्ने गच्छदार यात्रा २०७४ सालसम्म जारी रह्यो । २०५२, २०५४ र २०५५ सालमा निर्माण तथा यातायातमन्त्री, २०५६ मा पर्यटन तथा नागरिक उड्ययन, २०५६ र २०५८ मा जलस्रोत, २०६५ मा भौतिक योजना तथा निर्माण, २०६६ मा उपप्रधान तथा भौतीक योजना तथा निर्माणमन्त्री, २०६८ उपप्रधान तथा गृहमन्त्री, २०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र २०७४ मा उपप्रधान तथा स्थानीय विकास बने ।

२०५८ सालमा शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा गच्छदार सो दलको उपसभापति बनेका थिए । २०६२-६३ को आन्दोलनपछि कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भको थियो । तर गच्छदार लामो समयसम्म कांग्रेसका टिकि राखेनन् मधेस आन्दोलनपछि कांग्रेस छाडेका विजयकुमार गच्छदार मधेसी जनाधिकार फोरमतर्फ लागे ।

माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषयमा भएको विवादपछि अध्यक्ष उपेन्द्र यादव र गच्छदार समूहबीच विवाद भयो । गच्छदारको नेतृत्वमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) गठन गरिएको थियो । लगत्तै गच्छादारले भौतिक मन्त्रालयको जम्मेवारी पाएका थिए ।

निरन्तररुपमा चुनाव जित्दै आए पनि २०७० र २०७४ को चुनाव भगवती चौधरीसँग झिनो मतले मात्रै चुनाव जित्न सफल भएका थिए । तर निकटतम प्रतिद्वन्द्वी चौधरीले दुवै पटक गणनामा धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै आएकी थिइन् । गच्छादारको जितविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि त्यसको कार्यकालभर फैसला आएन ।

तर पछिल्लो समयमा गच्छदारको शक्ति भने कमजोर हुँदै गयो । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको थियो । लामो समय फरारको अवस्थामा रहेका गच्छदार देउवा प्रधानमन्त्री हुनेवित्तिकै विशेष अदालतमा हाजिर भएर जमानी लिएका थिए ।

गत पुसमा भएको कांग्रेसको महाधिवेशनमा पनि गच्छदार उपसभापतिमा पराजित हुन पुगे । निर्वाचित भएको भए पनि गच्छदारको संसद् भवन प्रवेश पाउने थिएन । मुद्दाको अन्तिम किनारा नलागुन्जेल निलम्बनमै हुने थिए । भ्रष्टाचार मुद्दामा आरोप रहेको भन्दै गच्छदारलाई पदीय जिम्मेवारी छाड्नु पर्ने पार्टीभित्र र बाहिर दबाब रहे पनि सुनसरी-३ बाट उम्मेदवार बन्न सफल भए । तर ५ वर्षअघि वामपन्थी गठबन्धनलाई एक्लैले पराजित गरेका गच्छादारलाई यसपटक ५ दलीय गठबन्धनले पनि जिताउन सकेन ।

प्रकाशित : मंसिर १३, २०७९ २१:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×