पिस कोरका सह-निर्देशक बिइल नेपालमा

काठमाडौँ — पिस कोरको विश्वव्यापी कार्य सञ्चालनसम्बन्धी कार्यालयका सह–निर्देशक स्कट बिइल नेपाल आएका छन् । अमेरिकी दूतावासका अनुसार यस क्षेत्रको भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।

पिस कोरका सह-निर्देशक बिइल नेपालमा

काठमाडौं बसाइका क्रममा सह–निर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटी पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

‘कोभिड–१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण भएकोमा उनीहरूलाई सन् २०२३ को सुरुताका फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पिस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो कार्यसञ्चालन आरम्भ गरेको थियो । त्यसयता झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा बहुमुखी क्षेत्रमा र देशभरि काम गर्दै सेवा पुर्‍याएको दूतावासको आंकडा छ । विश्वव्यापी निष्क्रमणको समयमा नेपालमा पिस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए ।

दूतावासका अनुसार पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।

‘विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसाग काम गर्छन्,’ विज्ञप्तिमा भनिएको छ,‘पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर–सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्‍याउँछ ।’

सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका छन् ।

प्रकाशित : मंसिर १३, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?