एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई- 'प्रधानमन्त्री भव:'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई- 'प्रधानमन्त्री भव:'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा पुन:निर्वाचित भएकोमा एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा मंगलबार आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।

कार्यक्रमका उद्घोषकले तिमल्सिना ज्योषित पण्डित भएको र १० महाविद्याका साधक भएको परिचय खुलाएका थिए । कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा. भीष्मराज अधिकारीसहित नेताहरूको उपस्थित थियो ।

मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ दोस्रो स्थान र समानुपातिकमा सर्वाधिक मत प्राप्त गरेको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले भूगोल र संस्कृति देशको पहिचान भएको भन्दै आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाउनु दुखद् भएको बताएका थिए ।

'देशको पहिचान मूलत: भूगोल र जनताले निर्धारण गर्छ । जनता भनेको संस्कृतिले गर्छ । कि संस्कृति कि भूगोल । भूगोल रहेन भने देश नै रहँदैन,' ओलीले भने 'भूगोलमा आफ्नै संस्कृति छैन र आफ्नो संस्कृतिप्रति गौरव छैन भने सानो प्रलोभन वा कुनै कारण आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाइन्छ भने त्यो दुखद् कुरा हो र त्यसले राष्ट्रलाई कमजोर बनाउँछ । देशको पहिचानलाई कमजोर बनाउँछ ।'

प्रकाशित : मंसिर १३, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीको कञ्चनरुपमा एक पुरुष मृत भेटिए

तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा लगिँदै
अवधेशकुमार झा

राजविराज — सप्तरीमा सोमबार राति एक जना व्यक्ति मृत भेटिएका छन् । कञ्चनरुप नगरपालिका १ बैरवाका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेशकुमार सिंहका अनुसार सोमबार राति १० बजे घरबाट निस्केका राउत बिहान अवेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

स्थानीय बासिन्दाले राउतको घरदेखि डेढ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा घोप्टो अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा खबर गरेका थिए ।

डीएसपी सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको घाँटी रेटी हत्या गरिएको देखिन्छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेसहित इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोलीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट समेत तालिमप्राप्त कुकुर ल्याउने तयारी गरिएको डीएसपी सिंहले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७९ १४:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×