१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राष्ट्रिय अपांग महासंघको नेतृत्वका लागि प्रतिस्पर्धामा ५ जना  

रुपा गहतराज

बाँके — राष्ट्रिय अपांग महासंघको नेतृत्व चयनका लागि नेपालगन्जमा भेला हुने भएको छ ।  राष्ट्रिय अपांग महासंघको नेतृत्व लिन पाँच जना अगाडि सरेका छन्।

राष्ट्रिय अपांग महासंघको नेतृत्वका लागि प्रतिस्पर्धामा ५ जना  

मंसिर १३ र १४ गते नेपालगन्जमा हुने नवौं महाधिवेशन एवं २१ औं साधारण सभाबाट महासंघको नेतृत्व लिन पाँच जना अगाडि सरेका हुन्।

नेपालगन्जमा पहिलो पटक हुन थालेको महाधिवेशनबाट अध्यक्षका लागि देवीदत्त आचार्य, गणेश केसी, रमा ढकाल, टेकनारायण न्यौपाने र केपी अधिकारीले दाबेदारी प्रस्तुत गरेका छन् ।

महासंघका अध्यक्ष मित्रलाल शर्माले मंगलबार हुने भेलामा आगामी तीन वर्षका लागि रणनीति बनाउने तथा भएका उपलब्धिको समीक्षा गरीने बताए । महासंघमा देशभरमा चार सय संस्था आबद्ध रहेको छ । अपांगता भएका व्यक्तिको संख्या धेरै नै भए पनि राजनीतिक दलले उनीहरुलाई किनारा लगाउँदै आएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले अपांग भएका व्यक्तिलाई उम्मेदवार नबनाएको अध्यक्ष शर्माले बताए।

‘केही दलले समानुपातिक बन्द सूचीमा नाम राखेका छन् । त्यो पनि भोटका लागि अपांग व्यक्तिको सेन्टिमेन्ट लिनका लानि मात्र गरेको जस्तो लाग्छ,’ अध्यक्ष शर्माले भने, ‘अपांगता अधिकार स्थापित गर्न उनीहरूलाई राज्यको मूलधारमा ल्याउन दलहरु अग्रसर देखिँदैनन् ।’

महासंघका सचिव राजु बस्नेतले महाधिवेशनबाट नयाँ नेतृत्व चुन्दा अपांगतामैत्री निर्वाचन बनाउन भोटिङ मेसिनको प्रयोग गर्ने जानकारी दिए । ‘सबै किसिमका अपांगतालाई उनीहरूलाई सहज हुने प्रविधिबाट भोट गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘अपांगता भएकै कारण निर्वाचन प्रणालीमा सहभागी नहुने अवस्थालाई अन्त्य गर्दै निर्वाचनलाइ प्रणाली बदलाव ल्याउन राज्यलाई सुझाव दिन चाहन्छौँ ।’

महाधिवेशनमा भाग लिन देशभरबाट १ हजार ४ सयभन्दा बढी आएका छन् । तीमध्येमा ७ सय ८७ जना मताधिकार भएका प्रतिनिधि छन् ।

प्रकाशित : मंसिर १२, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?