कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सहसचिव पदपूर्ति नहुँदा परराष्ट्रको काम प्रभावित

जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्र मन्त्रालयले खाली हुने सहसचिवको स्थानमा नयाँ पदपूर्ति नहुँदा एउटै सहसचिवले तीनओटा डिभिजनसम्म जिम्मेवारी सम्हालिरहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले एक सहसचिवले तीन डिभिजन र अन्य चार सहसचिवहरूले दुई–दुई ओटा डिभिजन चलाइरहेका छन् ।

सहसचिव पदपूर्ति नहुँदा परराष्ट्रको काम प्रभावित

सरकारले गत चैतमा राजदूत नियुक्त गर्दा मन्त्रालयका ८ जना सहसचिवहरू राजदूत भएर गएका थिए । त्यसपछि खाली रहेका डिभिजनहरूमा मन्त्रालयले सहसचिवहरूलाई भाग लागेको हो । परराष्ट्र स्रोतका अनुसार एक जनाले एउटा डिभिजनको नेतृत्व गर्दा समेत मन्त्रालयको कामको प्रभावकारीतालाई लिएर टिकाटिप्पणी भइरहेको बेलामा एउटै सहसचिवलाई एकभन्दा बढी डिभिजनको जिम्मेवारी दिंदा काम प्रभावित हुन्छ ।

अहिले सहसचिव सुधीर भट्टराईले तीन ओटा डिभिजनको नेतृत्व गरिरहेका छन् । राष्ट्रपति कार्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा अतिथिसत्कार डिभिजन हेर्दै आइरहेका भट्टराईलाई थप दक्षिण एसिया डिभिजन र शिष्टाचार (प्रोटोकल) डिभिजनको पनि जिम्मेवारी दिइएको छ । नेपालको लागि दक्षिण एसिया डिभिजन महत्त्वपूर्ण छ । भारतसहित दक्षिण एसियाली मुलुकहरूसँग यहि शाखाले हेर्ने गर्छ । साथमा परराष्ट्र सचिवपछि महत्त्वपूर्ण मानिने एक महत्त्वपूर्ण डिभिजनको रुपमा प्रोटोकल डिभिजन हो । बाह्य मुलुकबाट आउने बाहुना तथा नेपालबाट बाहिर जाने बाहुनालाई आदर सत्कार गर्ने र द्धीपक्षी वा बहुपक्षीय रुपमा पत्राचार आदान–प्रदान गर्ने जिम्मेवारी प्रोटोकलकै हुन्छ । भट्टराईले एक दिनमा तीन डिभिजनको कामलाई भाग लगाएर काम गर्दै आइरहेका छन् । महत्त्वपूर्ण तीन डिभिजनमा एउटै नेतृत्वले काम गर्दा कति प्रभावकारी होला भन्ने प्रश्न पक्कै उठ्छ ।

यस्तै, मन्त्रालयकी प्रवक्त समेत रहेकी सहसचिव सेवा लम्सालले यूएन, अन्तर्राष्ट्रिय संस्थाहरू र अन्तर्राष्ट्रिय कानुन डिभिजन हेर्दै आएकी थिइन् । पछि उनमाथि यूरोप अमेरिका डिभिजन थपियो । पहिलो डिभिजनमै धेरै गृहकार्य र काम गर्नुे स्थानमा फेरि यूरोप र शक्ति राष्ट्र अमेरिका समेत थपिदा उनलाई कामको बोझ थपिएको छ । सामान्य प्रशासन डिभिजन हेरेका सहसचिव घनश्याम लम्साललाई अर्को नयाँ नीति योजना, विकास कुटनीति र विदेशमा रहेका नेपाली मामिला डिभिजन पनि थप गरिएको छ । एउटै कर्मचारीले दुवै शाखाको कामलाई कति प्रभावकारी रुपमा गर्न सक्छन् वा भ्याउछन् भन्ने प्रश्न उठ्न स्वभाविक हो ।

यस्तै, राहदानी विभागपछि सबैभन्दा बढी काम गर्नुपर्ने अर्को विभाग हो, त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग । सहसचिव धनबहादुर ओलीले उक्त विभागमा महानिर्देशकको रुपमा काम गर्दै आएका थिए । तर मन्त्रालयले उनलाई थप जिम्मेवारीको रुपमा क्षेत्रीय संस्था डिभिजन पनि दियो । जसले गर्दा ओलीलाई कामको बोझ थपिएको छ । कन्सुरलको समस्या हल गर्नको लागि दिनु पर्ने ओलीले अब क्षेत्रीय संस्था डिभिजनमा पनि समय खर्चिनु पर्ने भयो ।

परराष्ट्र मन्त्रालयको अर्को महत्त्वपूर्ण डिभिजनको रुपमा उत्तर पूर्वी डिभिजनलाई पनि लिइन्छ । किनकि यसभित्र उदाउँदो शक्ति राष्ट्र तथा नेपालको उत्तरी छिमेकी चीन पनि पर्छ । उक्त डिभिजनलाई सहसचिव लोकबहादुर थापाले नेतृत्व गर्दै आएका छन् । चीन मामिला र त्यस क्षेत्रका अन्य मुलुकहरूको सम्बन्धमा ध्यान दिनु पर्ने जिम्मेवारी लिइरहेका उनीमाथि मन्त्रालयले दक्षिण पूर्वी एसिया तथा प्रशान्त डिभिजन पनि थपिदियो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्साल एक जनाले एकभन्दा बढी डिभिजनमा काम गर्दा कार्यबोझ बढ्नु स्वाभाविक मान्छिन् । ‘एक जनाले एकभन्दा बढी डिभिजनमा काम गर्दा स्वाभाविक रुपमा कार्यबोझ हुन्छ तर यो लामो समयको लागि होइन,’ उनले भनिन्, ‘क्षमता भएकै कारणले गर्दा मन्त्रालयका सहसचिवहरू राजदूत भएर जानुभयो । त्यसपछि खाली रहेको स्थानमा हालसम्म पदपूर्ति गरिएको छैन । त्यसैले केहि समयका लागि एक जनाले नै अर्को जिम्मेवारी पनि सम्हाल्नुपरेको हो ।’ परराष्ट्रका अर्का एक पदाधिकारीका अनुसार सरकारले कुन समयमा कति राजदूत नियुक्त गर्ने भन्ने किटानी नभएसम्म यसै गरी समस्या आइरहने मान्छन् । ‘सरकारले यो समयमा खाली भएपछि नियुक्त गर्ने भनेपछि त्यहि आधारमा लोकसेवा आयोगमा पहिले नै भर्ति गर्नका लागि पठाउन सकिन्छ । त्यसले गर्दा यस्तो समस्या आउँदैनन् । तर राजदूत नियुक्त गर्दा राजनीति हावी हुने कारणले गर्दा कुन बेला र कहिले सहसचिव खाली हुन्छ भन्ने नै थाहा हुन्न । यस्तो समस्या आइरहन्छन्,’ ती पदाधिकारिले भने ।

लम्सालले नयाँ सहसचिव परिपूर्तिको लागि लोकसेवा आयोगले विज्ञापन निकालेको र मंसिर लगतै नयाँ सहसचिवहरूले जिम्मेवारी सम्हाल्ने बताइन् । ‘पदपूर्ति गर्नको लागि लोकसेवालाई परराष्ट्रले गरेको आग्रह अनुसार गृहकार्य भइरहेको छ । अब मंसिर लगतै नयाँ सहसचिवहरू आएपछि एक जनाले धेरै डिभिजनको जिम्मेवारी लिनु पर्ने अवस्था आउदैन ।’

कुटनीतिज्ञ दीनेश भट्टराई एउटै कर्मचारीलाई एकभन्दा बढी जिम्मेवारी दिदा त्यसले काममा असर पर्ने मान्छन् । ‘एक जनाले कति तिर ध्यान दिने हो र? प्रोटोकल, दक्षिण एसिया डिभिजन र राष्ट्रपति कार्यालय पनि । यी महत्त्वपूर्ण डिभिजनहरू हुन् । त्यसले गर्दा काममा पक्कै असर पर्छ,’ उनले भने,‘एउटा सहसचिवलाई धेरै जिम्मेवारी दिनुभन्दा पनि केहि समयको लागि नयाँ भर्ति नभएसम्म सिनियर उपसचिवलाई कार्यवहाकको रुपमा काम गराउन सकिन्छ ।’

प्रकाशित : मंसिर १२, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?