चीनको यी वुमा नेपाली उत्पादनको प्रवर्द्धन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको यी वुमा नेपाली उत्पादनको प्रवर्द्धन

लक्ष्मी लम्साल

बेइजिङ — चीनको चच्याङ प्रान्तको व्यापारिक सहर यी वुमा आयोजित २८औं यी वु मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने मौका पाएको छ। साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको थियो। 

पहिलो पटक नेपाली पेभेलियन बनाइएको र नेपालबाटै आएका ब्यापारीहरूले नेपाली थाङ्का, मूर्तिकला, सांस्कृतिक आदानप्रदान लगायतको प्रदर्शन गरेको नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले बताए। कोभिडका कारण बेइजिङबाट राजदूतावासका प्रतिनिधिहरू उपस्थित हुन सकेनन्। अन्य देशका कतिपय उच्च अधिकारीहरुले पनि भिडियोमार्फत् आ आफ्नो देशको उत्पादनको प्रवर्द्धन गरेका थिए।

यि वु अन्तर्राष्ट्रिय एक्स्पो सेन्टरमा २४ देखि २७ तारिखसम्म आयोजित प्रदर्शनीका दौरान नेपालले पर्यटन लगानी संभाव्यता लगायतबारेमा प्रचार गरेका थिए। विधिवत रुपमा २ वर्षदेखि क्रियाशील नेपाल यी वु चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु दुमरूले भने ‘यी वु ट्रेड फेयर बेल्ट एण्ड सिटिजमा भाग लिएर नेपालले पर्यटन र लगानी संभाव्यताका अलावा भगिनी सम्बन्ध स्थापनाका विषयमा अवधारणा राखेका छौं। चिनियाँ लगानीकर्ताहरू नेपाल जान इच्छुक भए पनि चीनको कोभिड पोलिसीका कारण फर्किन गाह्रो हुने भएकाले पर्खिरहेका छन्।’

४० जना विदेशीद्वारा लिखित पुस्तकको विमोचन ।

विश्वका विभिन्न देशका २ सय ३३ भन्दा बढी कम्पनीको आउजाउ हुने संसारको सबैभन्दा ठूलो यी वु होलसेल मार्केट सञ्चालनमा आएको ४० वर्ष पुगेको छ। यस अवधिमा यी वुसँग जोडिएका विश्वका ४० जना विदेशीले लेखेका कथाहरूको सँगालो पनि विमोचन गरिएको छ। नेपालीका कथाहरू पनि समेटिएको छ । पुस्तकमा नेपाली लेखकद्वारा नेपाली उत्पादनको निर्यात सम्भावना तथा यी वु सहर पनि काठमाडौंसँग मिल्दोजुल्दो भएकाले भगिनी सहर सम्बन्ध स्थापना गर्न सकिने विषय उठाइएको दुमरूले बताए ।

कार्यक्रमका क्रममा सन् २०१६ मा बेइजिङमा पूर्व प्रधानमन्त्री केपी ओलीसँग प्रोेफेसर वान च्याउ श ले बेल्ट एण्ड रोडको बारेमा जानकारी गराउँदाका तस्बिरहरू देखाइएको थियो।


नेपाली मण्डप

प्रदर्शनीलाई महत्व दिँदै जापान, फिनल्याण्ड, रुस सहित ६ देशका १५ भगिनी सहरहरूले भिडियो मार्फत् भाग लिए। भगिनी सम्बन्धलाई चीनले विदेश र जनस्तरीय आदानप्रदानका लागि महत्वपूर्ण माध्यमको रुपमा लिएको जनाएको छ। चीन–विदेश सम्बन्धका लागि महत्वपूर्ण आधार र बलियो समर्थनका रुपमा यसलाई लिइएको चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका महासचिव युआन मिन्ताओले भिडियोमार्फत् भने। उनले भने, 'सन् १९७३ देखि चीन–विदेशी मैत्री शहरहरूको भगिनी सम्बन्ध तीव्र भएको छ र अहिले चीनले पाँच महादेशलाई समेट्ने गरी मित्र र साझेदार सञ्जालको अन्तर्राष्ट्रिय सर्कल स्थापना गरेको छ।’

चच्याङ प्रान्तीय शाओ सिङ सहर चीनको पहिलो राष्ट्रिय ऐतिहासिक र सांस्कृतिक शहरहरू मध्ये एक भएकाले पूर्वी एशियाको सांस्कृतिक राजधानी मानिन्छ। २७ देशहरूमा ५४ शहरहरूसँग भगिनी शहर सम्बन्ध र ३४ विदेशी शहरहरूसँग मैत्रीपूर्ण विनिमय सम्बन्धको विकासको लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

प्रकाशित : मंसिर १२, २०७९ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

श्वेतचैत्यको ७५०औं वार्षिकोत्सवमा सीपीसी प्रतिवेदनमाथि चर्चा

लक्ष्मी लम्साल

बेइजिङ — चीनको राजधानी बेइजिङमा चलिरहेको श्वेतचैत्यको ७ सय ५०औं वार्षिकोत्सव सप्ताहमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं महाधिवेशनमा प्रस्तुत प्रतिवेदन कार्यान्वयनसम्बन्धी चर्चा भएको छ ।

नोभेम्बर ७ देखि सुरू भएको श्वेतचैत्य सप्ताहले गत मध्य अक्टोबरमा आयोजित सीपीसीको २०औं महाधिवेशनको प्रतिवेदनलाई आत्मसात गरेको हो। अभियानलाई मूर्त रुप दिनका लागि सीपीसीका अधिकारीहरूले कार्यक्रममा भाग लिएका थिए।

गत मध्य अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा पार्टी महासचिव एवं राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा सांस्कृतिक अवशेष र सम्पदाको संरक्षणलाई सुदृढ गर्ने, सभ्यताहरूबीचको आदानप्रदान र आपसी सिकाइलाई प्रगाढ बनाउने र चिनियाँ संस्कृतिलाई विश्वमा अझ राम्रोसँग फैलाउन प्रवर्द्धन गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। प्रतिवेदनको सोही भावनालाई पछ्याउँदै समृद्ध तथा रंगीन एसियाली सांस्कृतिक सम्पदालाई बहुआयामिक रूपमा देखाउने प्रस्थान बिन्दुको थालनी ‘२०२२ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’बाट गरिएको चिनियाँ सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।

श्वेतचैत्यमा जारी यस गतिविधिलाई युनेस्कोको भावना समेट्ने कोणबाट पनि चीनले अघि सारेको छ। विश्वका सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभिप्रायले युनेस्कोद्वारा सन् १९७२ मा यो महासन्धि अघि सारिएको थियो। जारी सांस्कृतिक सप्ताहले युनेस्कोको पेरिस महासभा (१७ अक्टोबर-२१ नोभेम्बर) को ५०औँ वार्षिकोत्सवलाई समेत एकसाथ समेटेको श्वेतचैत्य प्रशासनले जनाएको छ।

‘यो गतिविधि राष्ट्रसंघको विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी कन्भेन्सनको स्वर्ण महोत्सव मनाउने सिलसिलाबद्ध कार्यक्रममध्ये चीनका तर्फबाट आयोजित एउटा कार्यक्रम हो’, श्वेतचैत्यस्थित नेपाल-चीन सांस्कृतिक आदानप्रदान केन्द्रकी मिसन प्रमुख खाङ लेइले कान्तिपुरसित भनिन्। उनका अनुसार ‘चीन-नेपाल सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔं’ भन्ने नाराले राष्ट्रसङ्घको सम्पदा संरक्षण र नेपाल-चीन सांस्कृतिक आदानप्रदान र सहकार्यको क्षेत्रलाई अघि बढाउन टेवा पुग्नेछ।

सीपीसी प्रतिवेदन तथा राष्ट्रसङ्घको महासन्धि कार्यान्वयनलाई बल पुर्याउनका लागि सीपीसी बेइजिङ नगर कमिटी प्रचार विभागका प्रथम निरीक्षक वाङ येफेई, चीनको सांस्कृतिक सम्पदा प्रशासनका उपनिर्देशक सिए पिङ लगायत चिनियाँ अधिकारीहरूले सोमबारको उद्घाटन सत्रमा भाग लिएर मन्तव्य दिएका थिए। कोभिड-१९ आइसोलेसनमा रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भने भिडियोमार्फत् मन्तव्य राखे। चिनियाँ परराष्ट्र मन्त्रालय एसियाली विभागका उपमहानिर्देशक छन सुङले मित्रतास्वरुप चिनियाँ कालिग्राफी ब्यानर नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुली समक्ष हस्तान्तरण गरे।

समारोहका दौरान श्वेतचैत्य व्यवस्थापन कार्यालय र पाटन सङ्ग्रहालयबीच सहकार्य सम्बन्धी समझदारी (एमओयू)मा हस्ताक्षर भयो। पाटन सङ्ग्रहालयको प्रतिनिधित्व गर्दै बेइजिङस्थित भिभोका फाइभ-जी स्ट्यान्डर्ड एक्सपर्ट राकेश ताम्राकारले एमओयूमा हस्ताक्षर गरिदिए।

नेपाली कलाकार अरनिको निर्मित श्वेतचैत्य परिसरमा दुबै देशका समृद्ध र उत्कृष्ट सांस्कृतिक सम्पदाहरूलाई प्रस्तुत गर्न ६ वटा विषयगत ‘थिम डे’ निश्चित गरिएको छ। साताभरि प्रदर्शनीहरू, प्राज्ञिक आदानप्रदानहरू, सांस्कृतिक मेलाहरू र सार्वजनिक अन्तर्क्रियाहरू गरी झण्डै २० वटा विषयवस्तुमा आधारित विशेष कार्यक्रमहरू चलिरहेका छन्। ७ सय ५०औं श्वेतचैत्य वार्षिकोत्सव सप्ताह १३ तारिख सम्पन्न हुनेछ।

प्रकाशित : कार्तिक २५, २०७९ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×