तीन वर्षपछि फर्कियो मौसमी रुघाखोकी

अतुल मिश्र

काठमाडौँ — जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को संक्रमण बढेको छ । कोभिड संक्रमण उत्कर्षमा रहेको समय आम व्यक्ति र चिकित्सकले खासै चासो नलिने मौसमी रुघाखोकी संक्रमितहरूलाई पुनः हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी संक्रमण खासै चर्चामा थिएन ।

तीन वर्षपछि फर्कियो मौसमी रुघाखोकी

बिस्तारै चिसो बढ्दै गर्दा उपत्यकामा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । सामान्य ठानेको रुघाखोकीले गाह्रो पार्न थालेपछि राजधानीका अस्पतालहरूमा बिरामीको चाप बढ्दा स्वास्थ्यकर्मीहरूको पनि ध्यानाकर्षण भएको छ ।

‘मौसम परिवर्तनसँगै देखिन थाल्ने रुघाखोकी, ज्वरोलाई सामान्य मानिए पनि कोभिडकालमा व्यापक स्तरमा यो खासै देखिएको थिएन,’ टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. सन्तोषानन्द झाले भने, ‘अहिले हामीकहाँ दिनहुँ १०–१५ जना सिजनल इन्फ्लुएन्जाका बिरामी आउने गरेका छन् ।’ उनका अनुसार जँचाउन आउनेमध्ये विद्यालय उमेरका बालबालिकाको संख्या बढी छ । उनीहरूमा घाँटीमा खसखस, खोकी, सिँगान बग्ने, मध्यम ज्वरो, थकाइ, जीउ दुख्नेलगायत लक्षण पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको महामारी व्यवस्थापन शाखा प्रमुख डा.अभियान गौतम तथ्यांकले पछिल्लो समय मौसमी रुघाखोकीका बिरामी बढेको देखिएको बताउँछन् । उनका अनुसार पछिल्लो समय मुलुकमा मौसमी रुघाखोकीको इन्फ्लुएन्जा ‘ए (एच१एन१) पीडीएम ०९’ अर्थात् पहिले बोलीचालीको भाषामा भनिने स्वाइन फ्लु र इन्फ्लुएन्जा ‘ए (एच३)’ देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ भाइरसको कारणले फैलिने गर्छ ।

चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक साता आफैं हराएर जान्छ भने केहीमा भने जटिल समस्या निम्त्याउँछ । बर्सेनि सामान्य भनिने यस्तै रुघाखोकीले बूढापाका, दीर्घरोगी, क्यान्सर, रोग प्रतिरोधक क्षमता कम भएका मधुमेही र बालबालिकाको मृत्युसमेत हुन गरेको छ ।

विज्ञहरूका अनुसार कोरोना महामारीका बेला इन्फ्लुएन्जा रिपोर्ट हुने गरेको थिएन । महाराजगन्जको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास पनि पछिल्ला दिनमा मौसमी रुघाखोकीको केसहरू बढेको बताउँछन् । ‘करिब तीन वर्षको कोरोनाकालमा पहिलो पटक पुनः यो वर्ष मौसमी रुघाखोकीको चर्चा भइरहेको छ,’ डा.दासले भने, ‘कोरोनाकालमा मौसमी रुघाखोकी कम देखिएको थियो र त्यसमाथि यसको रिपोर्टिङ, परीक्षण आदिसमेत अत्यन्त न्यून भयो ।’

कोरोना महामारीका बेला मास्क प्रयोग, सामाजिक दूरीलगायत स्वास्थ्य मापदण्ड पालनाले पनि मौसमी रुघाखोकीको विस्तार हुन नसकेको उनको भनाइ छ । मौसमी रुघाखोकीका लक्षण भएकाहरू सकेसम्म अरूको सम्पर्कबाट दूरी बनाएर बस्ने, खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने र मास्क लगाएको खण्डमा संक्रमण फैलन पाउँदैन । हाल देखिएको मौसमी रुघाखोकीको संक्रमणबाट जोगिन कोभिडकालमा जस्तै मास्कको उपयोग, सामाजिक दूरी, हातको सरसफाइ, चिसोबाट बच्नुलगायत उपाय सबैले पालना गर्न डा. दास सुझाव दिन्छन् ।

उनका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएकाहरूले कम्तीमा ७२ घण्टा घरमै आराम गर्ने र तागतिला झोल पदार्थ सेवन गरेको खण्डमा संक्रमणको असर बिस्तारै कम हुँदै जान्छ । डा.दास भन्छन्, ‘१०३ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आइरहे वा रुघाखोकीको लक्षणसँगै लगातार बान्ता, झाडापखाला, खाना नरुच्ने, सास फेर्न गाह्रो भए तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ ।’

डब्लूएचओका अनुसार मौसमी रुघाखोकीको संक्रमणका बेला लापरबाही गरे बिरामीको ज्यान जान सक्ने जोखिम हुन सक्छ । विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका ३० लाखदेखि ५० लाख केस पहिचान हुने गरेको छ भने त्यसले २ लाख ९० हजारदेखि ६ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासका समस्या बढेर मृत्यु हुन्छ ।

प्रकाशित : मंसिर १२, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?