कार्यकर्ता कुटिएको विरोधमा धनकुटामा युवा संघको प्रदर्शन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकर्ता कुटिएको विरोधमा धनकुटामा युवा संघको प्रदर्शन

रमेशचन्द्र अधिकारी

धनकुटा — विजय ऱ्यालीबाट फर्कँदै गरेका युवकमाथि सांघातिक आक्रमण भएको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आइतबार धनकुटामा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विजयी भएपछि सदरमुकाममा आयोजित ऱ्यालीबाट फर्कँदै गरेका धनकुटा नगरपालिका–६ पाङसिङका ३० वर्षीय राजन कार्कीमाथि सल्लेरी वनस्थित आँखा अस्पताल नजिकै कुटपिट भएको थियो ।

कुटपिटबाट कार्कीको देब्रे आँखामाथि गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छ । घाइतेको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ । जुलुसबाट फर्किने क्रममा धनकुटा ६ का पूर्व वडाध्यक्ष समेत रहेका कांग्रेस नगर सभापति नरेश श्रेष्ठको समूहले आफूलाई कुटपिट गरेको घाइते कार्कीले आरोप लगाएका छन् ।

‘जुलुसबाट फर्किने क्रममा पहिलेका वडाध्यक्ष नरेश श्रेष्ठसहित ४/५ जनाले ममाथि अकस्मात आक्रमण गरे,’ कार्कीले भने, ‘सँगै भएको साथी भागेर जोगियो, मलाई समातेर आक्रमण गर्दा बेहोस भएपछि छोडेछन् ।’ राजनसँगै रहेका तिलक कार्कीले समेत श्रेष्ठसहितको समूहले कुटपिट गरेको र आफू भागेर ज्यान जोगाएको बताए । एमाले समर्थक रहेको कारण आक्रमण भएको उनीहरूको भनाइ छ ।

घटनाका पक्ष र विपक्षको रुपमा एमाले र कांग्रेस दुवैले विज्ञप्ति जारी गरेका छन् । कांग्रेसले आफ्ना कार्यकर्ता उक्त घटनामा संलग्न नरहेको र फसाउन खोजिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यस्तै, एमालेले पनि घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेको छ । घटनाको विरोधमा एमाले निकट युवा संगठनले सोमबार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् ।

कुटपिटका आरोपित श्रेष्ठविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले बताए । घटनाबारे जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले घटनाबारे गहिरिएर अनुसन्धान गरिने बताए । उपचारबाट घाइते फर्किएपछि थप कुरा बुझेपछि प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

कुटपिटको आरोप लागेका श्रेष्ठले भने आफूमाथि निराधार आरोप लगाएर फसाउन खोजिएको दाबी गरे । घटना भएको भनिएको समयमा आफू त्यस स्थानमा नरहेकोले कुटपिटमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । उनले भने, ‘यो आरोपमा कुनै सत्यता छैन, कुटपिटमा मेरो कुनै संलग्नता छैन, मलाई फसाउन खोजिँदैछ ।’

प्रकाशित : मंसिर ११, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

उदयपुर-१ मा रोकिएको मतगणना अझै सुरु हुन सकेन 

कान्तिपुर संवाददाता

उदयपुर — उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार दिउँसो सवा ४ बजेबाट पुनः प्रारम्भ गर्ने निर्णय भएपनि अहिलेसम्म सुरु हुन नसकेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । उनका अनुसार उम्मेदवार र पार्टीका प्रतिनिधिसँग अहिले ७ बजेदेखि मतगणना के गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । 

नेपाली कांग्रेस र माओवादीबाहेक सबै दलले पुन: मतदानको माग गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । विवाद सुरु भएपछि सर्वदलीय बैठक बस्ने गरी गणना रोकिएको थियो ।

७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मतगणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×