३ जिल्लाबाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ जिल्लाबाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने

रासस

काठमाडौँ — मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै, नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।

बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने उनले बताउनुभयो । बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ ।

प्रकाशित : मंसिर ११, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्

उदयपुर-१ को मतगणना सवा ४ बजेबाट पुनः थालिने

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्य पुनः थालिने भएको छ । रोकिएको मतगणना आइतबार दिउँसो सवा ४ बजेबाट पुनः प्रारम्भ गर्ने निर्णय भएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । गणना रोकिएपछि आइतबार बिहान साढे १० बजेका लागि सर्वदलीय बैठक बोलाइएको थियो । बैठक भने अझै निष्कर्षमा पुग्न सकेको छैन ।

गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । विवाद सुरु भएपछि सर्वदलीय बैठक बस्ने गरी गणना रोकिएको थियो ।

७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मतगणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×