कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
मतपरिणाम विश्लेषण 

ओलीको 'कोरटिम' पराजित

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म सार्वजिनक भएको मतपरिणाम अनुसार २०७४ सालको चुनावबाट हासिल गरेको दलीय हैसियत यसपटक उलटपुलट भएको छ । गत चुनावमा प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले अहिलेसम्मको मतपरिणाम अनुसार र उसले लिएको अग्रता हेर्दा ५० सिट भन्दा तल नै खुम्चिने देखिएको छ ।

ओलीको 'कोरटिम' पराजित

समानुपातिक तर्फको मतगणना पछिको सिट बाँडफाँटबाट पनि एमाले अब संघीय संसद्मा पहिलो दलको रुपमा रहने सम्भावना कम छ । पाँच दलीय सत्तागठबन्धनसँग भिड्न स–साना दलसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धामा होमिएको एमालेका लागि अहिले प्राप्त सिट अनपेक्षित नहुन सक्छ । तर जे जस्ता व्यक्तिले चुनाव हारे त्यो चाहिँ एमालेका लागि केही आश्चर्य र आगामी दिनमा समीक्षाको मूल विषय बन्ने देखिन्छ ।

अहिलेसम्मको परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अन्तरमा विजय प्राप्त गरे पनि उनको 'कोर टिम' भने भने संघीय संसद्मा यसपटक देखिने छैन । वर्षौंदेखि साथ दिएका, नेकपा बनेपछि पार्टी भित्रको अन्तरसंघर्ष र सरकारको नेतृत्व गर्दा पार्टी र सरकारका अवयवहरुलाई संचालन गर्ने ओलीको कोर टिमका सदस्यहरु हारेका छन् । पार्टीका पदाधिकारीदेखि स्थायी कमिटी र पोलिटब्यूरो सम्मका नेताहरू हारेका छन् ।

को- को हारे ?

ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष

ओलीको कोरटिमका कस्ता व्यक्तिहरु हारे ? यसको सुरुवात गरौं काठमाडौं-५ बाट । यस क्षेत्रबाट एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हारे । गत चुनावमा फराकिलो मतान्तर सहित यही क्षेत्रमा जितेका पोखरेल यसपटक कांग्रेससँग पराजित भए । पोखरेल ओलीको कोर टिमका एक सदस्य हुन् । ओली प्रधानमन्त्री बनेपछि उपप्रधान तथा रक्षामन्त्री बनेका थिए उनी । कोरोना महामारीका बेलामा सरकारी कामको मुख्य कमाण्डको जिम्मा पोखरेललाई ओलीले दिएका थिए । ओलीमाथि अरुले गर्ने राजनीतिक प्रहारको प्रतिवाद गर्ने मध्येका एक व्यक्तिमा पोखरेल पनि पर्छन् । तर सरकारमा रहँदा उनले गरेका गतिविधि विवादमा पनि आए ।

शंकर पोखरेल, महासचिव

ओलीका अर्का विश्वासपात्र हुन्- महासचिव शंकर पोखरेल । उनी दाङ- २ बाट माओवादी केन्द्रकी रेखा शर्मासँग हारे । पार्टीभित्र आफूपछिको नेतृत्व लिनसक्ने नेताको रुपमा प्रोजेक्सन गर्दै ओलीले गत वर्ष भएको पार्टीको महाधिवेशनमा पोखरेललाई महासचिवको रुपमा अघि सारेका थिए । ओली समूहभित्र विष्णु पौडेल पनि महासचिवका आकांक्षी थिए । तर ओलीले पोखरेललाई अघि सारे । ओलीको प्रस्तावलाई अरुले विमति जनाएनन् । पोखरेल नै महासचिव बने । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत बनेका पोखरेल दाङमा राजधानी सारेको, गत स्थानीय तहको चुनावमा दाङका दुईवटा उपमहानगरमा जिताएको लगायत कारणले चुनाव जित्नेमा ढुक्क थिए । तर यसपटक दाङमा उनले मात्र हारेनन् प्रतिनिधिसभा र प्रदेशसभामा एमाले निल नै भयो । सबै क्षेत्रमा एमाले पराजित भयो । लुम्बिनीमा मुख्यमन्त्री भएर बुटवल बस्ने पोखरेल बालुवाटारमा ओलीलाई राजनीतिक आपत् आइलाग्दा काठमाडौं आइपुग्थे । ओलीका राजनीतिक निर्णयहरुमा उनको समेत भूमिका हुने गर्थ्यो । तर अब संसदमा एमालेको तर्फबाट उनको उपस्थिति हुने छैन ।

प्रदीप ज्ञवाली, उपमहासचिव

ओलीको कोर टिमका अर्का सदस्य हुन् प्रदीप ज्ञवाली । उनले गुल्मी-१ बाट कांग्रेसका चन्द्र भण्डारीसँग हारे । २०७४ को निर्वाचनपछि बनेको ओली नेतृत्वको सरकारमा ज्ञवाली परराष्ट्रमन्त्री भएर काम गरे । गत महाधिवेशनमा ओलीले उनलाई उपमहासचिव बनाए । ओलीका राजनीतिक निर्णयको संसद्देखि सडक र बौद्धिक जमातमा बचान गर्ने नेता हुन् । उनी पनि अब संसदमा हुनेछैनन् ।

राजन भट्टराई, स्थायी कमिटी सदस्य

अध्यक्ष ओलीका खास भित्री टिमका सदस्य राजन भट्टराई पनि हुन् । उनी काठमाडौं-४ बाट कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भए । गत चुनावमा पनि त्यही ठाँउबाट पराजित भएका भट्टराई संसद् छिर्न नपाए पनि ओली सरकार बन्दा त्यसलाई संचालन गर्ने टिमका एक मुख्य सदस्य थिए । उनी ओली प्रधानमन्त्री बनेपछि उनको परराष्ट्र सल्लाहाकारको रुपमा काम गरे । ओलीका हरेक गतिविधिको बचाउमा खरो उत्रिने नेतामा उनी पर्छन् । परराष्ट्र सम्बन्धका सवालमा ओलीले परामर्श गर्ने मुख्य नेता मध्ये भट्टराई पर्छन् । उनको पनि आउँदो संसद्मा उपस्थिति हुने छैन ।

अग्नि खरेल, स्थायी कमिटी सदस्य

अग्नि खरेल केपी ओली टिमका अर्का मुख्य सदस्य हुन् । कानुनी पृष्ठभूमिका खरेल ओली पहिलोपटक प्रधानमन्त्री हुँदा कानुनमन्त्री बनेका थिए । ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा भने उनी महान्यायाधिवक्ता बने । मन्त्री बनिसकेका व्यक्ति खरेल ओलीलाई सघाउने भन्दै महान्यायाधिवक्ता बनेका थिए । ओलीलाई कानुनी परामर्श दिने मुख्य नेताहरुमध्ये खरेल एक हुन् । २०६४ सालको संविधानसभामा समानुपातिक र २०७० को संविधानसभामा मनोनित सभासद् बनेका खरेल यसपटक प्रत्यक्ष चुनाव लड्न झापा-१ पुगेका थिए । उनी त्यहाँ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भए ।

शेरधन राई, स्थायी कमिटी सदस्य

एमाले अध्यक्ष ओलीका विश्वासपात्रमध्येका व्यक्ति शेरधन राई पनि हुन् । २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले राईलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए । २०७४ सालमा उनी भोजपुरबाट प्रदेशसभामा निर्वाचित भए । प्रदेश- १ को पहिलो मुख्यमन्त्री बने । तत्तकालीन पार्टी सचिव भीम आचार्य पनि मुख्यमन्त्रीका आकांक्षी थिए । तर ‌ओलीले आफ्नो समूहका भएकाले आचार्यभन्दा पार्टीमा जुनियर राईलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएका थिए । आफ्नो कार्यकालमा प्रदेशको नामाकरण गराउन समेत नसकेको भन्दै आलोचित राईलाई गत वर्षको महाधिवेशनपछि ‌ओलीले स्थायी कमिटीमा ल्याए । अहिले उनी माओवादी केन्द्रका सुदन किराँतीसँग पराजित भएका छन् ।

भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य

ओलीको भित्रिया समूहका एक सक्रिय नेता हुन् भानुभक्त ढकाल । उनी यसपटक एमालेले विगतमा आफ्नो गढ मान्दै आएको निर्वाचन क्षेत्र मोरङ-३ बाटै हारे । गत चुनावमा यही क्षेत्रबाट निर्वचित ढकाल यसपटक फराकिलो मतान्तरमा कांग्रेसका सुनील शर्मासँग पराजित भए । २०७० सालको संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेपछि ओलीले संसदीय दलको प्रमुख सचेतक बनाए । २०७४ सालको चुनाव जितेपछि ओलीले ढकाललाई सुरुमा कानुनमन्त्री बनाए । त्यसपछि उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए । कोरोना महामारीका बेलामा उनले उत्कृष्ट काम गर्न नसकेको भन्दै आलोचना पनि भएको थियो । धेरै आलोचित भएपछि मन्त्रिपरिषद् पुनर्गठनका क्रममा केही दिन उनी पर्यटनमन्त्री समेत बने । संसदीय मामिलामा दख्खल राख्ने ढकाल अब संसद् बाहिर पुगेका छन् ।

विशाल भट्टराई, पोलिटब्यूरो सदस्य

२०७० र २०७४ को चुनावमा खोटाङबाट लगातार जितेका भट्टराई यसपटक माओवादीका रामकुमार राईसँग पराजित भए । पार्टीभित्रको अन्तरसंघर्षमा सधैँ ओलीलाई साथ दिँदै आएका भट्टराई नेकपा विभाजनका बेलामा ओलीको पक्षमा सार्वजनिक रुपमा थप मुखर भए । ओलीको हरेक गतिविधिको सार्वजनिक प्रतिरक्षामा उभिने भट्टराईलाई गत संसद्मा ओलीले प्रमुख सचेतकको भूमिका दिएका थिए । पछिल्लो समय ओलीको टिमको भित्री घेरामा पुगिसकेका भट्टराई अब संसदमा हुनेछैनन् ।

महेश बस्नेत, पोलिटब्यूरो सदस्य

पार्टीभित्रको युवाफाँटमा ओलीका विश्वास पात्रमध्ये एक हुन् महेश बस्नेत । उनी भक्तपुर-२ बाट कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग चुनाव हारे । यसअघि भारी मतान्तरले जितेका बस्नेत यसपटक झिनो मतान्तरमा हारे । पार्टी र विषेशगरी ओलीको पक्षमा युवा परिचालन गर्ने मुख्य व्यक्ति बस्नेत हुन् । ओलीले तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा अन्य वरिष्ठ नेताहरुलाई छोडेर उनलाई उद्योगमन्त्री बनाएका थिए । ओलीका राजनीतिक संकटमा सडकबाट समेत विपक्षीको प्रतिरोधमा उत्रिने बस्तेन यसपटक हारेका छन् ।

निरुदेवि पाल, पोलिटब्यूरो सदस्य

निरुदेवि पाल ओलीको कोर टिमकी एक सदस्य हुन् । महिला र युवा फाँटमा काम गर्ने पाललाई ओलीले युवासंघको अध्यक्षदेखि अघिल्लो संसदमा समानुपातिक सांसदसम्म बनाए । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा जनसम्पर्क सल्लाहकारको रुपमा पाललाई राखेका थिए । गत संसदमा उनले महिला बालबालिका समितिको सभापतिको जिम्मा पनि पाएकी थिइन् । ओलीका गतिविधिको प्रतिरक्षामा खरो उत्रिने पाल यसपटक भने पराजित भइन् ।

कोर टिमका थोरै मात्र निर्वाचित

ओलीको कोरटिममा रहेका यी बाहेक अन्य केही नगन्य नेताहरुले मात्र जितेका छन् । रुपन्देहीमा उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन् । ओलीको टिममा एक भित्रिया सदस्य मानिने पौडेल ओली सरकारमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । त्यस्तै ओली प्रधानमन्त्री हुँदा संचारमन्त्री बनेका गोकुल बाँस्कोटा काभ्रे-२ बाट विजयी बनेका छन् । ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका सूर्य थापाले प्यूठानबाट जितेका छन् । एमालेका उपाध्यक्ष समेत रहेका ओलीका टिमका अर्का सदस्य सुवासचन्द्र नेम्वाङ भने झिनो मतान्तरमा इलाम-२ मा अग्रता लिइरहेका छन् ।


प्रकाशित : मंसिर १०, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?